बुटवल । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्टाएर देशमा अस्थिरता गर्ने कोसिस भइरहेको बताउँँदै उक्त षड्यन्त्र असफल पारिने बताएका छन् ।
बिहीबार बुटवलमा आयोजित पार्टीको प्रदेशस्तरीय स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति दृढताका साथ अगाडि बढ्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, "परिवर्तनका मुद्दा उल्टाएर देशलाई द्वन्द्वमा फसाउने भयानक षड्यन्त्र हुँदैछ । त्यसमा सबैखाले प्रतिक्रियावादी शक्तिको साँठगाँठ छ । तर, हामी परिवर्तनको रक्षाका निम्ति १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर सबै शक्तिहरू एक ठाउँमा उभिएर जवाफ दिनेछौँ ।"
पार्टी स्कुल कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विकसित परिस्थितिअनुरूप नयाँ विचारको विकासमा जोड दिनुपर्ने बताए ।
"हिजो अध्ययन, अनुसन्धान र नयाँ विषयको खोजीमा हामी सबैको रूची थियो, त्यसले हामीलाई बाटो देखाउँथ्यो, बदलिएको परिस्थितिअनुसार अगाडि बढ्न उत्प्रेरित पनि गर्थ्यो । तर आजभोलि दार्शनिक सैद्धान्तिक चिन्तन कमजोर हुँदै गएको छ । विचारको पक्षमा चिन्तन, मनन कमजोर भएको छ । त्यसको प्रत्यक्ष फाइदा व्यवस्थाविरोधीहरूले उठाउन खोज्दैछन् । तसर्थ, विकसित परिस्थितिअनुरूप नयाँ विचारको विकासमा हामीले जोड दिनुपर्छ," प्रचण्डले भने ।