
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूले चाहेको विषय पढ्न पाउने गरी विश्वविद्यालयलाई तयार गर्नुपर्ने बताएका छन् ।
मंगलबार जनकपुरमा राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई इच्छा लागेका विषय पढ्न पाए उनीहरूले आफ्नो प्रतिभा देखाउन सक्ने बताए ।
विद्यार्थी प्रतिभा नभएर फेल नहुने बरु आफूलाई इच्छा लागेको विषय पढ्न नपाएर फेल हुने गरेको उनले जिकिर गरे । राजर्षि जनक विश्वविद्यालयबाट दीक्षित भएका विद्यार्थी विश्वका जुनसुकै नागरिकसँग प्रतिस्पर्धा गर्न अब्बल सावित हुने विश्वास उनले व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले पश्चिमा विश्वविद्यालय नेपालमा भन्दा करिब १८ सय वर्षपछि मात्र स्थापना भएको उल्लेख गरे ।
विभिन्न संकाय र तहका १२५ विद्यार्थी दीक्षित भएको राजर्षि जनक विश्वविद्यालयले जनाएको छ ।हिमालयन टेलिभ्वाइस