site stats
बाह्रखरी :: Baahrakhari
देश
कानुनको सम्मान गर्छु, फेरि न्याय पाउने आशा छ : रिगल ढकाल

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि आत्मसमर्पण गरेका योगराज ढकाल (रिगल)ले आफूले आगामी दिनमा फेरि न्याय पाउने आशा राखेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पणका लागि जानुअघि एक भिडियोमार्फत रिगलले सर्वोच्च अदालतको आदेशको सम्मान गर्ने बताएका छन् । 

"सम्मानित अदालतले गरेको निर्णयको सम्मान गर्दै र कानुनमाथि फेरि पनि विश्वास राख्दै मैले भोलि फेरि न्याय पाउने छु भन्ने एउटा आशा गर्दै म आत्मसमर्पण गर्न जाँदै छु । मलाई लागेका दोषहरू पछि के हुन्छ, कसो हुन्छ, त्यो फेरि छानबिन होला । तर, आज सर्वोच्च अदालतको फुल बेन्च (पूर्ण इजलास)ले जुन निर्णय गर्‍यो त्यसको म सम्मान गर्दै म आत्मसमर्पणका लागि जाँदै छु," उनले भनेका छन् ।

उनले ०७२ सालमा पनि आफूले अदालतसमक्ष आत्मसमर्पण गरेको बताउँदै आफूले कानुनको सम्मान गर्ने बताएका छन् । 

"२०७२ सालमा मलाई दोष लगाइएको थियो । मैले हिजोको दिनमा पनि कानुनप्रति विश्वास राखेर जिल्ला अदालत बाँकेमा आत्मसमर्पण गरेको थिएँ । सोही तरिकाले आज आत्मसमर्पणका लागि जिल्ला प्रहरी कार्यालय बाँके जाँदै छु । र, म कानुनमाथि पूर्ण विश्वास राख्छु," उनले भनेका छन् ।

सर्वोच्च अदालतले आफी माफी मिनाहा गर्ने सरकारको निर्णय खारेज गर्दै रिगललाई तत्काल पक्राउ गर्न परमादेश जारी गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्