site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दूधकोसी जलविद्युत्मा लगानी गर्ने एडीबीको प्रतिबद्धता

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले ६३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडीबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टोलीले बुधबार आयोजनाको स्थलगत निरीक्षण गरेको थियो । टोलीले आयोजनाको जलाशय क्षेत्र र विद्युत्गृहस्थलको निरीक्षण गर्दै बाँधस्थल खोटाङको रबुवा बजारमा स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया गर्‍यो ।

कार्यक्रममा महानिर्देशक सुब्रमण्यमले आयोजना अगाडि बढाउन उच्च तहबाट यो करिब अन्तिम निरीक्षण भएको बताए । एडीबीको नेतृत्वमा जतिसक्दो छिटो वित्तीय व्यवस्थापन गर्न लागिएको उनले उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

३८ वर्षदेखि चर्चामा रहेका आयोजनाको प्राविधिक, वातावरणीय र सामाजिक पक्षलाई जतिसक्दो छिटो टुंग्याएर निर्माणतर्फ लाग्नुपर्नेमा उनले जोड दिए ।

आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित दुई अर्ब २० करोड अमेरिकी डलर (करिब दुई खर्ब २५ अर्ब रुपैयाँ) छ । यसमध्ये एक अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ ।

एडीबीको नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी गरिनेछ । एडीबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ ।

एडीबी नेपाल आवासीय नियोगका निर्देशक कुश्वाले निर्णय प्रक्रियालाई तीव्रता दिन काम गरिरहेको र नेपाल सरकारसँग बारम्बार वार्तामा संलग्न रहेको बताए । उनले दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना एक मेगाप्रोजेक्ट र सार्क क्षेत्रको अहिलेसम्मको सबैभन्दा ठूलो बाँध आयोजना भएको पनि बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालको विद्युत् प्रणालीका लागि दूधकोसी महत्त्वपूर्ण आयोजना भएकाले एक वर्ष (सन् २०२४ डिसेम्बर)भित्र एडीबीको नेतृत्वमा वित्तीय व्यवस्थापन गर्ने गरी काम भइरहेको जानकारी दिए । अहिले प्राविधिक, वातावरणीय र सामाजिक विषयलाई अन्तिम रूप दिने काम भइरहेको उनले बताए ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिले आयोजनाका विषयमा रहेको अन्योल तत्काल हटाउन आग्रह गरेका थिए । उनीहरूले आयोजनालाई अगाडि बढाउन स्थानीय रूपमा आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए ।

आयोजना निर्माणबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका तीन हजार १३९ घरधुरी प्रभावित हुनेछन् । त्यसमध्ये २३८ घरधुरी पूर्ण र दुई हजार ९०१ घरधुरी आंशिक रूपमा प्रभावित हुनेछन् । आयोजनाका निम्ति करिब ३० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । जग्गा अधिग्रहणका निम्ति प्रक्रिया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।

आयोजनाबाट वार्षिक रूपमा तीन अर्ब ४४ करोड युनिट विद्युत् उत्पादन हुनेछ । यसमध्ये सुक्खायाममा एक अर्ब ३६ करोड र वर्षायाममा दुई अर्ब आठ करोड युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको निर्माण अवधि सात वर्षको रहेको प्राधिकरणले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro