काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले बहुआयामिक सन्देश दिएको जनाएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रसंघका महासचिव नेपाल आउनु ठूलो कुरा भएको बताए ।
“संयुक्त राष्ट्रसंघका महासचिव यो बेलामा नेपाल आउनु भनेको धेरै महत्वपूर्ण कुरा हो । संयुक्त राष्ट्रसंघको बैठक चलिरहेका बेलामा उहाँ नेपाल आउनुभयो,” उनले भने, “यसको बहुआयामिक महत्व छ । संसरभरि बहुआयामिक सन्देश गइसक्यो ।”
उनले बुद्धको भूमिबाट विश्व शान्तिको अपिल गर्नु गौरवको कुरा भएको बताए । बुद्धकै बारेमा दूराशयपूर्ण ढंगले प्रश्न उठाउन खोजेको बेलामा सोही भूमिबाट अपिल गर्नु गौरवको कुरा भएको उनको भनाइ छ ।
त्यस्तै, गुटेरसले संसारभर जलवायु परिवर्तनको असर तीव्र परिरहेका बेला सगरमाथाको आधार शिविरका बासिन्दासँग अन्तरक्रिया गर्नु इतिहासको दूर्लभ घटनामा पर्ने दाबी गरे । उनले शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने कुरामा भूमिका खेलेको समेत बताए । नेपालप्रति गुटेरेसको ठूलो सद्भाव देखिएको उनको भनाइ छ ।