site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निगम सुधार थातीमा, मन्त्रीलाई जहाज किन्नै हतारो

काठमाडौं । नेपाल वायुसेवा निगमले दसैँ विदा शुरु भएपछि टेन्डर आह्वान गरी तीन वटा जहाज खरिदका लागि प्रक्रिया अघि बढाएको छ ।

निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अग्रसरतामा जहाज खरिद प्रक्रिया अघि बढेको हो । उनी मन्त्री भएलगत्तै जसरी पनि जहाज किन्ने दौडमा लागेका थिए ।  निगमले जहाज खरिद गर्दा होस् या भाडामा लिँदा प्रकरणको रुप लिने गरेको छ । खरिद वा भाडा लिँदा पर्यटन मन्त्रालय र निगम सञ्चालकहरु फस्दै आएका छन् ।

यसपालि पनि निगमले दसँैको सार्वजनिक बिदा पारी गत कार्तिक ५ गते जहाज खरिद गर्ने सुटुक्क टेन्डर आह्वान गरेपछि शंका बढाएको छ । तीन वटा स्टलमा जहाज खरिदको ३५ दिने सूचना निकालेको हो ।

जहाज खरिदकै लागि किरातीले जहाज अभावको कारण दुर्गम जिल्लाका जनताले दुःख पाएको सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गर्दै आएका थिए । बिरामी उद्धारको लागि जहाज पठाउँदा नियमित उडानसमेत प्रभावित भएको उनले टिप्पणी गर्दै आएका थिए । 

मन्त्री किरातीले गत चैत २६ गते नेपाल वायुसेवा निगमका सुधार गर्ने बताउँदै समिति गठन गरेका थिए ।  नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षता ‘नेपाल वायुसेवा निगमको संरचनागत एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति’ बनेको थियो ।

आफैँद्वारा गठित समितिले जहाज खरिद गर्न सुझाएपछि मन्त्री किराती त्यसैलाई ‘टेको’ बनाउँदै हतारिएका हुन् । चीनसँग खरिद गरिएका ६ वटा जहाज ‘ग्राउन्डेड’ छन् । ती जहाज के गर्ने भन्ने सवालमा मन्त्री र निगम सञ्चालक मौन छन् । थन्किएका जहाजबारे मौनता साँध्दै नयाँ जहाज खरिद हतारिनुको ‘कमिसन’को मोह एकमात्र कारण हो ।

उक्त समितिले असोज १६ गते प्रतिवेदन बुझाएको थियो । निगमको संरचनात्मक सुधारका विभिन्न विकल्पसहित प्रतिवेदन मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । निगमसँग जहाज चलाउन भरपर्दाे योजना नभएको समितिले प्रतिवेदन मन्त्री किरातीलाई बुझाएको थियो । त्यतिमात्र होइन, समितिले निगमका खरिद प्रक्रियामा समेत प्रश्न उठाएको थियो ।

निगमले आवश्यकता पहिचान नगरी जहाज खरिद गरेका कारण प्रश्न उठ्दै आएको समिमिले उल्लेख गरेको छ । 

कुनै पनि खरिद गुरुयोजना तथा वार्षिक योजना तय गरी गर्नुपर्ने समितिले बताएको छ । “योजना तर्जुमा नगरी खरिद गरेकाले प्रक्रिया नियमसम्मत् छैन कि भनी प्रश्न उठाउन सकिन्छ,” प्रतिवेदनमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय उडान रुट, स्टल, ट्रंक र विमान खरिद गर्दा निगमलाई नाफामा लैजान सकिने सम्भावना रहेको समितिले उल्लेख गरेको छ । तर, त्यसका लागि आर्थिक अनुशासन कायम र प्रभावकारी व्यवस्थापन पूर्वशर्त हुर्ने समितिले जनाएको छ ।

मन्त्री किरातीले आर्थिक र व्यवस्थापनमा कुनै चासो देखाएका छैनन् । तर, जहाज खरिद पहिलो प्राथमिकतामा छ ।

“सरकारले इक्वटी थप गरी ट्रंक, स्टल र अन्तर्राष्ट्रिय उडान रुटका जहाजहरु थप्न र खरिद गर्न सके निगमले नाफा आर्जन गर्न सक्ने सम्भावना प्रशस्त छ,” प्रतिवेदनमा भनिएको छ, “तर, त्यसका लागि आर्थिक अनुशासन कायम र प्रभावकारी व्यवस्थापन पूर्वशर्त हुन् ।”

निगमकै न्यारोबडी जहाज करिब तीन महिना ग्राउन्डेड हुँदा मौन बसेका मन्त्री आफैँले निगमको संरचनात्मक र व्यवस्थापकीय सुधारका लागि गठन गरेका समितिले दिएको सुझाव कार्यान्वयनमा सक्रियता देखाएका छैनन् ।

क्षेत्री समितिको प्रतिवेदनले निगमको गुणस्तर र निर्धारित उडान तालिका पनि खस्किदै गएको उल्लेख गरेको छ । निगमले आफ्नो उडान योजनाअनुसार उडान गर्न नसक्दा आर्थिक तथा व्यवसायिक नोक्सानि भएको र प्रत्यक्ष असर बजार हिस्सा घटेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७÷७८ र २०७८÷७९ कै तथ्यांक हेर्दा पनि निगमको गुणस्तर र निर्धारित उडान तालिकाको तथ्यांक हेर्दा पनि सुधारोन्मुख हुनुपर्नेमा खस्किदै गरेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । 

समितिले निगमले आय वृद्धि र साख कायम गर्न गुणस्तरीय सेवा दिन निर्धारित उडान तालिकाअनुसार विमान उडान गर्न उचित रणनीति अवलम्बन गर्न समेत सुझाव दिएको छ । उक्त सुझावमा मन्त्री किरातीले कुनै चासो देखाएको छैनन् ।

निगमको व्यवस्थापन सुधार चुस्त नभएको निगमका पूर्व कार्यकारी निर्देशक सुगतरत्न कंसाकारले बताए ।

“निगममा कर्मचारीको कुनै समस्या छैन । एक से एक क्षमता भएका कर्मचारी निगमसँग छन् । निगमको पाइलट राम्रै छन्,” उनल भने, “निगमको जीएम, सीईओ वा नेतृत्वकर्तामा कमजोरी छ । नेतृत्व तहकै कारणले कमजोरीले निगम निरन्तर घाटामा छ ।”

मन्त्रालयले चासो देखाएमा निगम संरचनात्मक र व्यवस्थापकीय सुधार चाँडै हुने कंसाकार बताउँछन् ।

“मन्त्रालयले चाहेमा हरेक कुरा सम्भव छ । तर, सम्बन्धित निकाय वा पदमा बसेकाहरुले चासो नदेखाएको जस्तो देखिन्छ । सुधार आवश्यकता छ । त्यसका लागि सबैले काम गर्नुपर्छ,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro