बिहीबार अपरान्ह ‘कान्तिपुर टेलिभिजन’को लिफ्ट चढेर चौथौ तला पुग्दा प्रधानसम्पादक दिलभूषण पाठक ‘अलि व्यस्त छु’ भन्दै थिए । टेबलभरि छरिएका पेन, डायरी, व्यक्ति–व्यक्तिको पहिचान बोकेर छरिएका भिजिटङ कार्ड, पानी पिउने कप, ल्यापटपसँगै उभिरहेको थियो एउटा अत्तरको बोतल ।
“योचाहिँ म अफिसबाट कतै फर्मल कार्यक्रममा जानु पर्यो भने युज गर्छु ।” यतिन्जेलसम्म दिलको हातमा चकलेट आइसकेको थियो ।
“चकलेट मेरो ड्रयरमा कहिल्यै छुट्दैन, कसैको बर्थडे पर्यो भने साथीहरूलाई दिएर आत्मीयता साट्छु ।”
खुला किताब हुन् दिल– धेरै कुरा सोध्नै पर्दैन, आफैं भन्छन्, “आजमात्रै हो यी छरपष्ट सामान । नत्र मलाई तपाईंले निकै व्यवस्थित देख्नुहुन्छ । हम्मेसी म क्याजुअल ड्रेसमा अफिस आउँदिनँ । आएका बेला अपर्झट कतै जानुपरे ऊ त्यो कोट लगाएर जान्छु,” कुनातिरको कोटलाई देखाउँदै सुनाए ।
रसिलो अनुहार, भर्खर फुल्न सुरु गर्दै गरेको कपाल अनि मनभरि संकल्प र परिवर्तनको खाका बोकेर आफ्नो कालो कुर्सीमा बिराजमान गोरो वर्णका अग्ला दिललाई एकदिन एक व्यवसायीले औंला उठाएर भने, “तपाईंको पत्रकारिताले के गरिरहेको छ, थाहा छ तपार्र्ईलाई ? काठमाडौंमा अपवादकै घटनाका रूपमा एउटा सामान्य बम पड्किन्छ, तपाईंहरू त्यसलाई ब्रेकिङ न्युज बनाएर ठूलो–ठूलो अक्षरमा ‘काठमाडौंमा बम विष्फोट’ भनेर समाचार लेख्नुहुन्छ । तपाईंको समाचार सुनेर युरोपबाट नेपाल आउन लागेका २ सय पर्यटकले एकैचोटि टिकट क्यान्सिल गर्छन् । ती २ सय पर्यटक ल्याउन ५ महिनादेखि ट्राभल एजेन्सीले सबै प्रक्रिया पूरा गरेर दिन गन्दै बसेको हुन्छ । तपाईंको एउटा समाचारले उसका सारा मेहनत विफल हुन्छन् । त्यो ट्राभल एजेन्सीले कति नोक्सानी बेहोर्छ, राज्यले कति राजस्व गुमाउँछ, थाहा छ ? समाचार लेख्नुस् तर त्यो समाचारको अन्तिममा बम पड्किए पनि काठमाडौंको जनजीवन सामान्य छ भनेर लेखिदिँदा ती पर्यटकले भिसा क्यान्सिल गर्दैनन् । एक लाइन लेख्दा तपाईंको के जान्छ ?”
व्यवसायीको यो कुराले दिलको मन पग्लियो । आफूहरूले गरिरहेको पत्रकारिताको समीक्षा गर्न थाले । पत्रकारको उत्तरदायित्व र जिम्मेवारीको बोध भयो । सूचना बोकेर बसेको पत्रकारको एक वाक्यले कति असर गर्छ र त्यसको परिणाम कस्तो आउँछ, त्यसमा घोत्लिन थाले । दिल समाचारको अर्थ, आवश्यकता र प्रभावकारिता मात्रै सोच्दैनन्, दैनिक जनजीवनमा त्यसले खेल्ने भूमिकाको पूर्वानुमान लगाउँछन्, अनिमात्रै टेलिप्रोमोटरमा पठाउँछन् ।
खान्नँ जागिर !
पत्रकारितामा एमफिल गर्दै गरेका दिल यसमै पीएचडी गर्ने सोचमा छन् । आरआर कलेजबाट पत्रकारिताको अध्ययन गरेका उनी त्यहीँबाट ‘हेड हन्ट’ गरेर कान्तिपुर पुर्याइएका पत्रकार हुन् ।
दिल आईए दोस्रो वर्ष पढ्दा भित्तामा टाँसिएको पात्रोमा २०४९ सालका तिथिमिति कुँदिएका थिए । दिन बिताउन उनलाई पात्रोको अंक गोलो गर्नै पर्दैनथ्यो । परिवार सम्पन्न थियो । जागिरका लागि सोच्नुपर्ने बेलै भएको थिएन ।
हरिबहादुर थापाले उनलाई ‘जाऊँ कान्तिपुर’ भने । ‘कान्तिपुर’का संस्थापक सम्पादक योगेश उपाध्याय थिए । उनले चार वटा समाचार लेख्न लगाए । झापाबाट पठाइएको गाँजासम्बन्धी समाचार थियो, सम्पादन गर्न लगाए । आफ्नै गृह जिल्लाको समाचार सम्पादन गरे । त्यो दिन ०४९ फागुन ११ गते थियो । अर्थात् ‘कान्तिपुर’ दैनिक सुरु भएको चार दिनमात्रै पुगेको थियो । योगेशले जागिर खान बोलाए । दिलले ठाडै भने, “म जागिर खान आएको होइन । साथीले जाऊँ भनेर यत्तिकै आएको, मलाई अहिले जागिरको आवश्यकता छैन ।”
योगेशले यसो टाउको उठाएर दिलको मुहारमा हेर्दै भने, “कस्तो मुला रहेछ यार ! आईए पनि पास नभैसकेको मान्छेले जागिर पाउँछ ? र, पनि गर भनिरेको छु । ठूलो संस्था छ । उद्देश्य ठूलो लिएर पत्रिका खोलिएको छ, काम गर्न आऊ ।”
यसो भनेपछि दिलले नकार्न सकेनन् । आईए पास गरिनसक्दैको कच्चा उमेरमै उनले पत्रकारिता सुरु गरे । दोस्रो पेज उपत्यका थियो । राशिफल, सूर्योदय, सूर्यास्त, आकस्मिक सेवाका नम्बरदेखि उपत्यकाका समाचार छापिन्थे । त्यही पेज हेर्थे उनी ।
भुटानबाट नेपाली साहित्यमा एमए गर्न त्रिभुवन विश्वविद्यालयमा छात्रवृत्ति पाएर नेपाल आएका नेपालीभाषी भुटानी क्षेत्रपति फुयाँल पनि दोस्रो पेजमै काम गर्थे । दिल संवाददाता नै नभएर सीधै डेस्कमा बसेका थिए । उनका सहपाठी हरिबहादुर थापाले कम्प्युटरमा जागिर खान थालिसकेका थिए ‘कान्तिपुर’मै ।
समाचार लेख्नु पर्दैनथ्यो तर पनि कहिलेकाहीँ रहर लाग्थ्यो उनलाई । लेख्थे । समाचार लेखेको पैसा आउँथ्यो । “काठमाडौंमा ढुंगेधारा सुक्दै गएको समाचार मैले लेखेको शायद पहिलो समाचार होला,” दिलले सम्झिए ।
उनी ०५२ सम्म काठमाडौं बस्दा पहिलोदेखि अन्तिम पेजसम्म हेरेर डेस्कमा बसे । प्रतीक भण्डारी, रमेश केसी, रघु मैनालीहरू समाचार लेख्थे ।
नेपालगन्ज सरुवा
‘कान्तिपुर’मा पत्रकार महासंघको प्रतिष्ठान शाखा खोल्ने तयारी भइरहेको थियो । दिलले सभापतिमा उमेदवारी दिए । उनकै शब्दमा त्यो धेरैलाई मन परेको थिएन । पछि उनी उपसभापतिमा बस्न सहमत भए ।
“ठ्याक्कै थाहा छैन मलाई किन अचानक नेपालगन्ज पठाउने निर्णय भयो । साथीहरूले शाखा खोल्ने क्रममा अग्रसरता लिनु र त्यसको कार्यसमितिमा बस्नु एउटा कारण हुन सक्छ भन्छन् । हुन सक्छ त्यो पनि । त्यो बेला अलि अल्छी थिएँ कि भन्ने पनि लाग्छ,” उनी सम्झिन्छन्, “त्यो बेला मलाई चेयरम्यान (हेमराज ज्ञवाली)ले भनेको अहिले पनि सम्झिन्छु, यो मेरो गृहजिल्ला जस्तै ठाउँ हो । कार्यालय पनि हाम्रो घरमै छ । त्यहीँ गएर बस्ने हो । तपाईंले त्यहाँ गएर त्यो ठाउँको मान राखिदिनुपर्छ, इज्जत गरिदिनुपर्छ । हाम्रो आफ्नै ठाउँ भएकाले त्यहाँका मान्छेले ठूलो आशा गरेर हेर्छन् । पछि क्षेत्रीय कार्यालय बनाउनु पर्यो भने विराटनगर औद्योगिक क्षेत्र होला तर नेपालगन्जलाई भावनात्मक हिसाबले पनि हामी महत्वपूर्ण मान्छौं । अहिले बेस बनाइदिनुस् ।”
अनि ?
०५२ सालको समय थियो । उमेर छिप्पिएर परिपक्व भइसकेका थिएनन् । झापा घर, जानु पर्ने थियो मध्य र सुदूरपश्चिमको ‘कान्तिपुर’को क्षेत्रीय कार्यालय नेपालगन्ज । सोच्दै नसोचेको ठाउँ । दिलको मन अमिलो भयो । जाऊँ कि नजाऊँ– दोधार भयो । एक मनले सोचे– जान्नँ, राजीनामा दिन्छु ।
यो कुरा सँगै काम गर्ने साथीलाई सुनाए । उनले भने, “जागिर छोड्ने नै हो भने १५ दिनपछि छोड । अफिसको पैसामा नेपालगन्ज जाऊ । कालो चस्मा लगाऊ, गितार समाएर हिँड । बाइक लैजाऊ । सर्टमा धार पर्ने गरी इस्त्री लगाऊ । बिहान–बेलुका छतमा बसेर गितार बजाऊ । साथीभाइ हुन्छन्, माया गर्न थाल्छन् । नयाँ ठाउँमा मजा हुन्छ । बस्ने, काम गर्ने । चित्त बुझेन भने आएर राजीनामा दिने । जिन्दगीमा एउटा अनुभव त हुन्छ ।”
सहकर्मीले यसरी हौस्याएपछि उनले नेपालगन्जका लागि झिटीगुन्टा कसे । काठमाडौंको रंगीन दुनियाँमा भुलेका दिलले सोचेजस्तो थिएन नेपालगन्ज । नयाँ परिवेश, नयाँ मान्छे । काम शून्यबाट शुरु गर्नु थियो । ठाउँ, मान्छे चिन्नु र चिनाउनु थियो । आफूलाई स्थापित गर्नु थियो । तर, यो सबै गर्न कहाँ सजिलो थियो र !
त्यसपछि ?
सोचेजस्तो त थिएन नेपालगन्ज तर साह्रै उराठ पनि थिएन । मनमा जिज्ञासा हुनेहरूका लागि भने त्यो ठाउँमा समाचार थिए । मात्रै स्रोत खोजेर लेखिदिए पुग्थ्यो । काठमाडौंका लागि कैयौं नयाँ विषय थिए, मात्रै पहिचान गरेर त्यसलाई शब्दमा उनीदिए पुग्थ्यो ।
नदी सुरुमै समतल भूभाग भेटेर बग्दैन । चट्टानी पहाड फोडेर आफूलाई चाहिने समतल क्षेत्र निर्माण गर्दै बग्छ । दिललाई पनि नदीझैं आफ्नो बाटो आफैं बनाउनु थियो । उकाली–ओरालीलाई सम्याउनु थियो । थाले काम गर्न ।
त्यो समय नेपालगन्जलाई काठमाडौंका पत्रपत्रिकाले प्राथमिकतामा राखेका थिएनन् । एकाधले संवाददाता राखे पनि स्रोत–साधनले सम्पन्न थिएनन् । त्यहाँका समाचार छापिए भने पढेर कसैले प्रतिक्रियासमेत दिँदैनथे । राजधानीबाट उपेक्षित थियो नेपालगन्ज ।
समाचारको यात्रा
माओवादी द्वन्द्व भर्खर सुरु भएको थियो । रुकुम, रोल्पा, जाजरकोट र सल्यानमा मात्रै माओवादी केन्द्रित थिए । उनीहरूका समाचार खासै काठमाडौंसम्म आइपुग्दैनथे । कर्णालीमा भोकमरी थियो । मान्छे खान नपाएर भोकभोकै मरिरहेका थिए । उनी त्यस्तै ठाउँ पुग्थे समाचार खोज्दै । ‘कान्तिपुर’ले पैसा दिन्थ्यो गएको । त्यही खर्च लिएर दिनरात हिँड्दै दिलले समाचार लेख्न थाले ।
काठमाडौंबाट रुकुम, रोल्पा, जाजरकोट र सल्यान पुगेर लामो समय रिपोर्टिङ गर्ने र निरन्तर फलोअप गर्ने पहिलो पत्रकार हुन् उनी । सुधीर शर्मा ‘हिमाल खबरपत्रिका’बाट केही समयपछि पुगेका थिए । दिल सम्झिन्छन्, “माओवादीले मान्छे मारेर फ्याँकेको दृश्यसहित मैले पठाएको फोटोसहितको समाचार पहिलो पृष्ठमा छापिएको मलाई अहिले पनि सम्झना छ ।”
समाचारलाई उनी फरक कोण दिन्थे । फरक समाचार खोजेर पठाउँथे । उनका प्रायः हरेक समाचार ‘कान्तिपुर’ले एंकर न्युज बनाएर छाप्थ्यो । ‘कान्तिपुर’को एंकर दिलकै कोलमजस्तै भएको थियो ।
जाजरकोटमा हरिहरसिंह राठौर थिए ‘कान्तिपुर’का संवाददाता । उनलाई लिएर दिल रुकुम, रोल्पा, जाजरकोट र सल्यानका कुनाकुना पुगे । ती क्षेत्रका अप्रेसनमा बसेका प्रहरी, सेनादेखि माओवादीका नेता–कार्यकर्ता अधिकांशले उनीहरूलाई चिन्थे । दुबैको चेपुवामा परेर जुनसुकै बेला ‘इन्काउन्टर’को नाममा उनीहरुलाई सिध्याउन सक्थे । तर पनि दिलले आफ्नो कलममा बिर्को लगाएनन् । झापाको तातो पानी खाएर हुर्किएका गोडालाई थाक्न दिएनन् । बरु पहाडका तरेलीहरूसँग लुकामारी गरिरहे ।
नेपालगन्जबाट गएका डीएसपी र एसपीलाई रोल्पाको प्रहरीले माओवादीबारे यसरी शब्दचित्रमा व्याख्या गर्यो, लाग्थ्यो– दुर्लभ वन्यजन्तु पहिलोपटक जंगलमा देखिएको थियो र त्यसका अनौठा विशेषताहरू सुनेर जोकोही चित खान्थ्यो । भर्खरै तल्लो गाउँमा आएका थिए रे माओवादी ! सेनाजस्तै देखिने उनीहरू प्रत्येकले सेनाकै कम्ब्याट ड्रेस लगाएका थिए । काँधमा राइफल भिरेका माओवादीहरूले गाउँलेलाई आफ्नो पक्षमा पार्न सरकारको सत्तोसराप गरे । लेनिन र माओका कुरा गरे । जनताको दुःख अन्त्यका लागि जनयुद्ध सुरु गरेको बताए । परेड खेले र दुश्मनलाई सिध्याएर जनताको राज्यसत्ता स्थापनका गर्न सहयोगको आग्रह गर्दै हिँडे ।
“विडम्बना ! रोप्लाका पुलिसहरुले त्यो समयसम्म माओवादी भन्ने कस्तो हुन्छ देखेकै थिएनन् । गाउँमा छोडिएका एकाध पर्चा र झन्डाबाहेक उनीहरूलाई केही थाहा थिएन,” दिल भन्छन्, “त्यसको केही समयपछि मात्रै हो एकाध घटना भएका । त्यो पनि गाउँका चौकीहरूमा । तर, त्योबेला पनि पुलिसका एक–दुई बन्दुक फुत्काउनुभन्दा बढी केही भएकै थिएन ।”
०५३ सालमा जसरी उनी द्वन्द्वग्रस्त क्षेत्रमा गएर समाचारको भारी बोके, त्यसैगरी उनी कर्णालीको हुम्ला पनि पटक–पटक पुगे । हुम्लामा भोकमरी थियो । खान नपाएर जनता भोकभोकै मरिरहेका थिए । उनले त्यहीँबाट रिपोर्टिङ गरे । ०५४ को चुनाव सकिएर जिल्ला परिषदको बैठकबाट निर्णय गराएर दिललाई जिल्ला विकास समिति हुम्लाले अभिनन्दन गर्यो । नारायण वाग्ले पनि त्यो समय दिलसँगै समाचार लेख्न हुम्ला पुगेका थिए ।
‘कान्तिपुर’मा समाचार छापिएपछि राज्यको आँखा कर्णालीमा पुग्यो । सांसदहरूले संसद् सदनमा ‘कान्तिपुर’ पत्रिका पछारेर औंला उठाए, “हेलो प्रधानमन्त्रीज्यू ! हेलो गृहमन्त्रीज्यू ! कर्णालीमा जनता चामलको गेडो खान नपाएर भोकभोकै मरिरहेका छन्, कान्तिपुरले समाचार लेखेको छ, जवाफ दिनु पर्यो ।” त्यसपछि राज्यले कान सुन्यो । हेलिकप्टरबाट चामल झार्यो र जनतालाई बाँड्यो ।
दुई वर्ष पुगेपछि उनले केन्द्रीय कार्यालय फोन गरेर ‘म फर्किन्छु’ भने । उनको एकै आग्रहमा ‘कान्तिपुर’ले ‘ओके’ गरेर उनलाई पुनः काठमाडौं नै फर्कायो ।
टेलिभिजनको यात्रा
दिल नेपालगन्जमा थिए । कोहलपुरमा नेपाल टेलिभिजनको क्षेत्रीय प्रसारण कार्यालय थियो । त्यहाँ समाचार वाचनका लागि नेपाल टेलिभिजनले आवेदन आह्वान गर्यो । सयौं आवेदन परे । तीमध्येबाट दिल छानिए । रेवन्त ओलीसँग उनले समाचार पढ्न सिके । क्षेत्रीय प्रसारण भएकाले उनले पढेको समाचार सीमित ठाउँमा मात्रै सुनिन्थ्यो ।
दिल काठमाडौं आएपछि नेपाल टेलिभिजन पुगेर दुर्गानाथ शर्मालाई भने, “झापामा बस्ने मेरी आमाले मलाई टेलिभिजनमा हेरेर न्यास्रो मेट्नुहुन्छ । हामीजस्ता युवालाई प्रमोट गर्नुपर्यो । ‘कान्तिपुर’मा जागिर खान्छु, नैतिक रूपमा मैले अरु दिन काम गर्न मिल्दैन तर बुधबार मेरो साप्ताहिक बिदा पर्छ । त्यो दिन बिहान मलाई समाचार पढ्न दिनुस् ।”
दुर्गानाथले पनि ‘हुन्छ’ भने । दिलले हप्ताको एकदिन नेपाल टेलिभिजनमा समाचार पढ्न थाले ।
‘कान्तिपुर’ दैनिक १० वर्ष पुगेपछि ‘कान्तिपुर टेलिभिजन’ खुल्ने भयो । उनलाई ‘कान्तिपुर टेलिभिजन’ले समाचार संयोजक बनायो ।
दिलले पुराना दिन सम्झिए । ‘कान्तिपुर’को पहिलो समाचार बुलेटिन पढेको स्मरण गरे, “पहिलो समाचार मैले पढेको थिएँ । बाटोभरि होर्डिङबोर्ड लागेको थियो । थापाथली, जाउलाखेलजस्ता चोकचोकमा मेरो होर्डिङबोर्ड थियो । समाचार वाचकको पनि हिरोहरूको जस्तो होर्डिङ राखिएको थियो । कलेज र स्कुलबाट प्रिन्सिपलसहित सय–डेढ सय विद्यार्थी ‘कान्तिपुर’को कार्यालयमा अटोग्राफ लिन आउँथे । त्रिविका प्रोफेसरहरू ‘हामीले पनि तपार्ईंजस्तो समाचार पढ्न पाइँदैन ?’ भन्दै आउँथे । न्युज एंकर बन्ने ठूलो क्रेज थियो । अमेजिङ क्रेज ।”
तीन वर्ष ‘कान्तिपुर टेलिभिजन’मा काम गरिसकेपछि उनको मनमा टेलिभिजन अमिट भएर बस्यो । दृश्हरूसँग अझ नजिकबाट खेल्न थाले । टिभीको समाचारमा हुने ध्वनि, रंग, संगीत र फ्रेमले उनलाई झनै आकर्षित गर्यो । शब्दभन्दा दृश्यको मजा लिन थाले । दृश्यको जीवन्त शक्ति देखेर उनलाई शब्द फिक्का लाग्न थाले ।
वृत्तचित्र
एकदिन उनले समाचार पढिरहेका थिए । अछामको डेटलाइनमा उनले एउटा समाचार देखे, लेखिएको थियो, “महिलाले गर्भपतनका लागि झिर हालेर फलामको रड योनिबाट छिराएर पाठेघरमा प्वाल पारी भ्रुण (बच्चा) मारिन्छ र अन्नततः उनको ज्यान जान्छ ।”
यो समाचारले उनलाई औडाहा भयो । त्यो रात जतिपटक उनी निदाउने प्रयास गरे, हरेक पटक त्यही समाचारको दृश्य आँखामा आइह्यो ।
त्यसपछि के भयो ?
“त्यसपछि म झोला बोकेर भोलिपल्टै अछाम लागें । मेरो झोलामा एउटा क्यामेरा पनि थियो । खिचेको सामग्रीबाट एउटा डकुमेन्ट्री तयार भयो– ‘न्युजरुम बाहिर’ । त्यो डकुमेन्ट्री विश्वका धेरै फिल्म फेस्टिबल र डकुमेन्ट्री फेस्टिबलहरूमा पुग्यो,” दिलले सम्झिए ।
एकपटक उनी पोखरामा घुमिरहेका थिए । एउटा सरकारी विद्यालयमा ७९ वर्षे वृद्ध सुकबहादुर अधिकारी (जसले राम्रोसँग कान सुन्दैनथे)ले कक्षा ४ मा एउटा कान थुनेर अर्को कानबाट शिक्षकले पढाएको सुनिरहेका थिए । सोध्दा थाहा भयो– उनी ५० वर्ष भारतमा काम गरेर घर फर्किएका रहेछन् । अहिले पढ्न मन लागेछ र कक्षा लिन थालेछन् । दिललाई विचित्र लाग्यो । र, उनले वृत्तचित्र बनाए– ‘सुकबहादुर अधिकारी कक्षा ४’ । त्यो पनि धेरै अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलहरूमा गयो । त्यसपछि उनलाई लाग्यो– मेरो विषय त डकुमेन्ट्री पो रहेछ ।
यतिबेलासम्म दिलले ‘कान्तिपुर टेलिभिजन’ छोडिसकेका थिए । व्यवस्थापनसँग उनका केही असन्तुष्टि थिए । चाहना पनि शायद मौलाइरहेका थिए । ‘स्पेस’ ठूलो थिएन । थप ‘ग्रो’ हुने ठाउँ नदेखेपछि उनले ‘कान्तिपुर’बाट राजीनामा दिएका थिए ।
उनले सयभन्दा धेरै डकुमेन्ट्री बनाए । उनले धेरै त अन्तर्राष्ट्रिय संस्थाहरूका लागि बनाइदिए । राष्ट्रसंघीय स्वयंसेवीहरूलाई टिचिङ भिडियोसम्म पनि उनले बनाइदिए । राष्ट्रसंघको मुख्यालयले उनलाई काम दिन्थ्यो । त्यसबाहेक आईसीआरसीले पनि उनलाई काम दिन्थ्यो । ‘अधिकारका लागि सञ्चारको भूमिका के हो ?’ भनेर अभियान पनि चलाए । उनको निजी संस्था ‘इन्टरफेस नेपाल’ले यही काम गर्छ ।
‘टफ टक’ र न्युज २४
दिल ‘इन्टरफेस नेपाल’मा सक्रिय थिए । चराजस्तै स्वतन्त्र भएर खुला आकासमा उडिरहेका थिए । अचानक एउटा विज्ञापन एजेन्सीले उनलाई ‘टक शो’का लागि आग्रह गर्यो । त्यो एजेन्सीले ‘न्युज २४’ रोज्यो । तर, उनीहरू चलिरहेका भन्दा फरक खालको ‘टक शो’ खोजिरहेका थिए । दिलले पनि इच्छाइरहेकै विषय थियो ।
“साधारणतया नेपाली टक शोमा एकजना गेस्ट ल्याएर एक घण्टा प्रश्न सोध्ने, उनलाई अमन हुने गरी बोल्नै नदिने र एउटा पनि प्रश्नको सिंगो उत्तर नदिएर लखेट्ने चलन थियो । हामीले साच्यौं– व्यक्तिका बारेमा प्रशस्त रिसर्च गर्ने, प्रश्न पहिले नै तयार गर्ने, जो पायो त्यही मान्छेलाई नल्याउने र ल्याएको मान्छेलाई बोल्न दिने,” दिलले ‘टफ टक’को उद्देश्य प्रष्ट्याए, “विषयको अन्तरवस्तुसम्म पुग्ने र दर्शकले कार्यक्रम हेरिसक्दा त्यो व्यक्तिलाई किन ल्याइयो भनेर आफैं थाहा पाऊन् भन्ने हेतुले यो कार्यक्रम शुरु गरेका थियौं । हामी हाम्रो उद्देश्यमा सफल भइरहेका छौं जस्तो लाग्छ ।”
फेरि ‘कान्तिपुर टेलिभिजन’
‘टफ टक’ तेस्रो वर्षमा प्रवेश गर्दै थियो । ‘कान्तिपुर टेलिभिजन’ले दिललाई ‘टफ टक’ सहित आउन आग्रह गर्यो । केही पहिले नै बोलाए पनि उनी दोधारमा थिए । ७३ जिल्ला घुमिसकेका थिए । मिडिया ‘कन्सल्ट्यान्ट’का रूपमा काम गरिरहेका थिए । परामर्शदाताको काम उनको हातमा थियो । ‘फिल्म मेकर’ भएका थिए । त्यसैले उनले अटेर गरिरहेका थिए ।
भिडियोसँग रमाउने र त्यसमै आफ्नो संसार देखर मुस्काुराउने पत्रकारलाई देशकै सर्वश्रेष्ठ टेलिभिजनले नेतृत्वका लागि बोलाउँदा किन नजाने त भन्ने भयो । उनले ‘ग्रो’ गर्ने ठाउँ शायद देखे होला, नेतृत्वमा बसेपछि भनेजसरी काम गर्न पाइन्छ भन्ने सोचे होला, समाचारमा परिवर्तन ल्याउन सकिन्छ भन्ने पनि लाग्यो होला । अन्ततः उनी ‘कान्तिपुर टेलिभिजन’को सम्पादकका रूपमा फर्किए । पहिले संयोजक थिए, यसपटक ‘प्रधान’ थपिएर उनी प्रधानसम्पादक भए ।
“म जुन दिन कान्तिपुर फर्किएँ, त्यो दिनदेखि म तन, मन र वचनले एकाग्र भएर काम गरिरहेको छु,” उनले आफ्नो नैतिकता र व्यावसायिकता प्रष्ट्याउँदै भने, “म आएपछि एउटा पनि अनइथिकल समाचार बजेको छैन र एउटा पनि क्रु मेम्बरलाई विभेद गरेको छैन ।”
दृश्यमा पनि व्याकरण हुन्छ भन्छन् दिल । अक्षरहरूको लाइन लगाएर झ्याप–झ्याप दृश्य टाँस्ने चलन छ नेपाली टेलिभिजनमा । भन्छन्, “जसरी शब्द बुनिन्छ, त्यसैगरी दृश्य पनि बुनिन्छ । कथाले मागेअनुसारका ‘शट’ हुन्छन् । ‘शट’ खिच्ने पनि विधि र सूत्र हुन्छन् । त्यसमा खेल्न नसके टेलिभिजन पत्रकारिता हुँदैन ।”
अहिलेको पत्रकारिता
समाचार लेख्दै गर्दा त्यसले समाजमा पार्ने असर र दर्शक÷स्रोता÷पाठकको धारणा निर्माणमा त्यसले खेल्ने भूमिकाबारे पत्रकारहरू सोच्दैनन् भन्ने आमबुझाइ छ । उनीहरूलाई लाग्छ– पत्रकारहरू ‘केही भएन केही भएन’ मात्रै भनिरहन्छन् । तर, धेरै कुरा भएका छन् । देशले लामो द्वन्द्वबाट मुक्ति पाएको छ । हिंसाको राजनीतिबाट माओवादी मूलधारमा आएको छ । दलहरूले गणतन्त्र ल्याएका छन् । दुःखैदुःखको बीचबाट दलहरूले संविधान ल्याएका छन् । लामो समयपछि स्थानीय निकायको निर्वाचन भएको छ । मुलुक अर्को ठूलो निर्वाचनमा केन्द्रित छ । यसबीचमा उद्यमशीलता विकास भएको छ । तर, दिललाई लाग्छ– हामीले निराशामात्रै बाँडेका छौं । आशा जगाउन सकेका छैनौं । मिडियाले सूचना त दिए तर त्यस्तो सूचना, जसले नागरिकमा नकारात्मकता बढायो ।
“अहिले देश निर्वाचनको प्रक्रियामा छ । मिडियाहरू उमेदवारले पाएको र पाउने मतको जोडघटाउ गरेर बसिरहेका छन् । तर, कसैले पनि उमेदवार कस्तो हो र उसको वास्तविक पृष्ठभूमि कस्तो छ भनेर किन भन्न सक्दैन नेपाली मिडिया ?” दिलको प्रश्न छ, “यदि उमेदवारको बारेमा स्पष्ट बताइदिने हो भने जनताले कुन उमेदवार छान्दा ठीक हुन्छ भन्ने निर्णय गर्न सक्थे र राजनीति सङ्लिँदै जान्थ्यो ।”
आफू छुचो देखिनु परे पनि दर्शकले सही उत्तर पाऊन् भन्ने लाग्छ उनलाई । भन्छन्, “छुच्चो ठान्छन् भने त्यही सही तर देश र जनताका लागि स्पष्ट सूचना दिनबाट पछि हट्न हुँदैन । मैले ‘टफ टक’ चलाइरहँदा निकै छुचो हुन्छु । तर, मैले व्यक्तिगत रूपमा कसैसँग दुश्मनी लिन खोजेको होइन । मलाई मेरा आफन्तले ‘किन छुच्चो हुनुपर्यो ? समाजमा एक्लै बस्ने मन छ ?’ भनेर सोध्नुहुन्छ,” उनले अन्तिममा भने, “कहिलेकाहीँ त हो कि जस्तो पनि लाग्छ । ५ वर्षदेखि ट्राई गर्दा पनि केही व्यक्ति आउनुभएको छैन । यही कारण त होला । तर, पनि मेरो शोले लाखौं जनता स्पष्ट हुन्छन् भने म एक्लिन पनि तयार छु । मैले मेरो पेशाप्रतिको धर्म इमान्दारीसाथ निभाउनुपर्छ ।”