डा. लेखनाथ न्यौपाने पेसाले होमियोप्याथिक चिकित्सक हुन् । केही समय प्राध्यापनमा रहेका न्यौपानेमा देशप्रति औधी मोह देखिन्छ । देशप्रेमकै कारण उनले ‘मेरो देश’ नामक कृति सार्वजनिक गरेका छन् ।
कुनै विषयमा लेख्नु भनेको कल्पनाको प्रकटीकरण हो । यथार्थको वास्तविक चित्रण पनि हो । जसबाट लेखकको पृथक् विचार, खोज पहिचानलाई जान्न सकिन्छ । कुनै पनि विषयको सिर्जना, रचना वा निर्माणले त्यसभित्रको गहन पक्षलाई उजागर गर्दछ ।
यस पुस्तकमा खण्ड एकअन्तर्गत नेपालको परिचय छ । यो शीर्षकभित्र नेपालको उत्पत्ति र नामकरण, नेपालको भूगोल र संवैधानिक विभाजन, भौगोलिक अवस्थिति, नेपालको गौरवमय इतिहास, खस तथा बाइसी–चौबिसी राज्य, लिम्बुवान राज्यको उत्पत्ति र अर्थ, नेपाल र नेपालीले पाएका विभिन्न सफलता, नेपालका सुखद पक्षहरू समेटिएको छ ।
यस्तै, नेपालमा पाइने चरा, विश्व कीर्तिमान (गिनिज वर्ल्ड रेकर्डस्), नेपालको जातजाति र भाषा, नेपालमा जनगणना, नेपालमा चलेका संवत्हरू, सांस्कृतिक प्रतीकहरू, नेपालको प्रामाणिक समय, नेपालका राष्ट्रिय चिह्नहरू, नेपालका प्रचलित लिपिहरू, नेपालमा मुद्राको इतिहास, राजपत्र, अभिलेख, वंशावली, मुलुकी ऐन, नेपालमा हालसम्म जारी भएका संविधान, नेपालमा बिजुलीको इतिहास नेपाली भाषा र साहित्यको विकास, नेपालमा प्रेस र पुस्तक लेखनको इतिहासलाई पनि प्रस्तुत गरिएको छ ।
यसैभित्र नेपाली चलचित्रको उद्भव र विकास, दासप्रथा र सतीप्रथा उन्मूलनसँग जोडिएको उपत्यकाको टुँडिखेल, उपत्यकामा तारे होटेलको सुरुआत, उपत्यकामा ढुंगेधाराको इतिहास, उपत्यकाका अग्निशाला, नेपालमा औद्योगिक विकासको प्रारम्भ, नेपालको इतिहासमा भेटिएका प्रमाण र घटेका मुख्यमुख्य घटनाक्रम, नेपालमा कसले के बनाए, कसले के चलाए, नेपालका कुन ठाउँमा के पाइन्छ, नेपालका मुख्य नदीका उद्गम स्थल, राणाशासनअगाडि बनेका मुख्तियार (प्रधानमन्त्रीहरू)बारे उल्लेख छ ।
यस पुस्तकमा पहाड र हिमालको महत्त्व, नेपालको वन, चुरे पर्वत, महाभारत लेक, मध्यपहाडी भाग, हिमालय, भित्री हिमालय र तिब्बती सीमान्त पर्वत श्रेणी, तराई–मधेस, हिमालयको उत्पत्ति, नेपालका सिमसार क्षेत्र, नेपालका प्रसिद्ध केही स्थान र व्यक्तिहरूभित्र काठमाडौं उपत्यका, राजा जनक र जनकपुरधाम, गौतमबुद्ध र लुम्बिनी, पाशुपत क्षेत्र र पशुपति आदिको इतिवृत्त पनि प्रस्तुत गरिएको छ ।
यस्तै, नेपालका अन्य प्रसिद्ध स्थलका रूपमा पोखरा, मुस्ताङ, लेमान्थाङ, सौराहा, सगरमाथाको वर्णन गरिएको छ ।
विश्वमा नाम चलेका नेपालका पदयात्रामार्ग, नेपालमा रहेका मुख्य हिमताल र हिमनदी, नेपालको इतिहासमा शाहवंशीय राजाहरू, नेपालमा राणाशासन र राणा प्रधानमन्त्रीहरू, २००७ साल र त्यसपछिको राजनीतिक इतिहास नेपाली कांग्रे्रेस र कम्युनिस्ट पार्टीको स्थापना, नेपालका केही राजनीतिज्ञ र प्रधानमन्त्रीहरू र नेपालका चर्चित व्यक्तित्व, विभूति र सहिदहरूका विषयमा पुस्तकमा उल्लेख छ ।
यसभित्र कालु पाँडे, अभिमानसिंह बस्न्यात, दामोदर पाँडे, बहादुर शाह, भीमसेन थापा, बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापासहित चार सहिद–शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको चर्चा गरिएको छ ।
यस्तै, विभूतिहरू जनक, सीता, भृकुटी, अंशुवर्मा, शंखधर साख्वा, अरनिको, राम शाह, पासाङल्हामु शेर्पा, विद्यापति, सिरिजंगा, लखन थापाका बारेमा पनि उल्लेख छ ।
नेपालका अन्य विशिष्ट व्यक्तित्वको चर्चा गर्ने क्रममा बालागुरु षडानन्द, योगमाया न्यौपाने, शिवपुरी बाबा, जयपृथ्वीबहादुर सिंह, बाबुराम आचार्य, खप्तड बाबा, महागुरु फाल्गुनन्द, डा. रामनाथ अघोरी, इमानसिंह चेम्जोङ, डा. स्वामी प्रपन्नाचार्य, रामलाल गोल्छा, नारायणगोपाल गुरुवाचार्य, अम्बर गुरुङलगायत व्यक्तिको संक्षिप्त जीवनी समेटिएको छ ।
गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपतिदेखि वर्तमान समयसम्मका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश तथा विश्व प्रसिद्ध नेपाली व्यक्तित्वका रूपमा रहेका थुप्रै व्यक्तित्वबारे चर्चा गरिएको छ । नेपालका विशिष्ट व्यक्तित्वका बारेमा यस पुस्तकमा सूक्ष्म विश्लेषण गरिएको छ ।
डा. न्यौपानेले नेपालका विशष्टि साहित्यकारको परिचय दिँदै भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, पारिजात, माधवप्रसाद घिमिरे र सत्यमोहन जोशीको योगदानलाई लिपिबद्ध गरेका छन् ।
न्यौपानेले विभिन्न पर्यटकीयस्थल चाडपर्व, नाचगान र मेलामा आफैँले देखेका, भोगेका कुरालाई पुस्तकमा समेटेका छन् । चिकित्सा शिक्षाको अध्ययन पूरा गरी स्वदेश फर्किएपछि विभिन्न स्थलको भ्रमण गर्दै आफ्नै आँखाले देखेका कुरालाई उनले सचित्र पुस्तकमा उतारेका हुन् ।
आफ्नो जन्मभूमि र यहाँका विविधताको जिज्ञासा र अध्ययनले यस पुस्तकको सिर्जना भएको देखिन्छ । उनी घरी ताप्लेजुङ र घरी कञ्चनपुर, घरी केचनकवल त कहिले काठमाडौंका गल्लीगल्लीसँग परिचय गाँस्न पुगेका छन् ।
न्यौपानेले नेपालको संघीय संरचनालाई नजिकबाट नियाल्दै खण्ड दुईमा सातै प्रदेशका सबै जिल्लाका परिचय र त्यहाँका पर्यटकीयस्थलको जानकारी दिएका छन् ।
उनले मधेस प्रदेशको मिथिला क्षेत्रको अध्ययनका भाषा, इतिहास र चित्रकला तथा मिथिलाको वैभवको खोज गरेका छन् ।
देशका विभिन्न ठाउँमा पुग्दा महिला र पुरुषबीच देखिएको विभेद, लैंगिक विविधताको अनुभूत गरेका उनले सांस्कृतिक, मौलिक कलाकृति, सीप, सिर्जना एवम् प्राकृतिक र आध्यात्मिक दृष्टिले सम्पन्न मुलुकका रूपमा देशलाई बुझेका छन् ।
जन्मभूमि अर्थात् नेपालभित्रका सबै अमूल्य वस्तुका बारेमा जानकारी दिन लेखिएको यो पुस्तक यहाँको विविधता बुझ्न चाहनेका निम्ति महत्त्वपूर्ण कृति बनेको छ ।
कृति नेपालका धर्मसंस्कृति र चाडपर्वबारे एक पठनीय सामग्री बनेको छ । नेपालको अथाह प्राकृतिक सौन्दर्य, इतिहास, भूगोल र संस्कृति बुझ्न र बुझाउन यो कृति सक्षम देखिन्छ ।