नेपालले अपेक्षित उन्नति गर्न नसकेको होला तर कतिपय क्षेत्रमा राम्रै उपलब्धि हासिल गरेको छ । आग्रह र कुण्ठा नराखीकन हेर्ने हो भने देशको अवस्थाप्रति निराशै हुनुपर्ने देखिँदैन ।
जनताको जीवन स्तरमा सुधार तथा सामाजिक विकासका केही क्षेत्रमा त उल्लेख्य उपलब्धि हासिल भएको देखिन्छ । भोकको अवस्थासम्बन्धी सूची ‘ग्लोबल हङ्गर इन्डेक्स, २०२३’ नेपालले गरेको प्रगतिको उदाहरण भएको छ ।
जीएचआई विश्व, क्षेत्र तथा राष्ट्रिय स्तरमा गरिएको भोकको अवस्था अनुगमनमा आधारित सूचक हो । कन्सर्न वर्ल्ड वाइड र वेल्टहङ्गरहल्फ नामक संस्थाले यो सूचक बर्सेनि तयार गर्छन् । खाद्य अवस्थाको मापनमा यो सूची भरपर्दो मानिन्छ ।
यसको मापनमा मूलतः शरीरलाई आवश्यक ऊर्जा पुग्ने खाना ९क्यालोरी०का साथै बालबालिकाको शारीरिक मानसिक विकास तथा उमेरअनुसारको वृद्धिका लागि आवश्यक पोसिलो खाना एवं खानाका कारण हुने बाल मृत्युदरसमेतको हिसाब गरिन्छ ।
नेपालले सन् २००० का तुलनामा यी सबै क्षेत्रमा प्रगति गरेको जीएचआई सूचीले देखाएको छ । विश्वका देशमध्ये ६९ औं स्थानमा रहेको नेपालको अङ्क १५ रहेको छ । सबैभन्दा जोखिमपूर्ण अवस्थालाई १०० अङ्क दिइएको मापनमा १०९१९ सम्मलाई सामान्य मानिएको छ ।
केही वर्ष यता नेपालीको जीवनस्तरमा सुधार भएको त पहिलो दृष्टिमै देखिन्छ । यद्यपि, त्यस सुधारमा राज्यको भन्दा पनि धेरै योगदान भने परिवारको रहेको छ । विशेषगरी वैदेशिक रोजगारीबाट भएको आर्जनले नेपालीको खाद्य तथा पोषण अवस्था सुधार गर्ने प्रमुख कारक हो ।
यस्तै, लोकतन्त्रले बढाएको चेतना तथा जानकारीले पनि जीवनस्तर उकास्न योगदान गरेको छ । स्वास्थ्य सेवामा अपेक्षाकृत सुधार नभए पनि सन् २००० यता पहुँचमा व्यापक वृद्धि भएको छ । यसबाट तीनैतहका सरकारहरूले भोक र पोषणको अवस्थामा थप सुधार गर्न प्रेरणा लिनुपर्छ ।