site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेपछि इजरायलबाट ल्याएका यात्रुहरूले नेपाल सरकारप्रति कृतज्ञ हुँदै भनेका थिए - ‘धन्यवाद सरकार १’ । हुन पनि यसअघि नेपाल सरकारले यति छिटै र संवेदनशील भएर नागरिकको पुकार सुनेको उदाहरण बिरलै भेटिन्छ ।

नेपाल सरकारले युद्धग्रस्त इजरायलमा बिचल्लीमा परेका नेपाली नागरिकमध्ये घर फर्कन चाहने केहीलाई विमान पठाएर फिर्ता ल्याएको छ । यसका लागि सबैले सरकारलाई धन्यवाद दिएका छन् । यद्यपि, विपत्तिमा परेका नागरिकको उद्धार राज्यको प्राथमिक दायित्वमात्र हो । 

इजरायलमा हमासको आक्रमणमा १० जना नेपालीको ज्यान गएको र अरू सयौंको ज्यान जोखिम भएको समाचारले सिंगो मुलुक शोकाकुल भएको थियो । सरकारले बेलैमा संवेदनशीलता देखाएर सराहना बटुलेको छ ।

हमासको आततायी हमलामा पर्ने नेपालीहरू ‘लर्न एन्ड अर्न’ नामक शैक्षिक कार्यक्रममा  भाग लिन इजरायल गएका थिए । त्यही कार्यक्रममा सहभागी अरू विद्यार्थी अझै इजरायलमै छन् । त्यसो त इजरायल नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्येकै हो ।

यसैले युद्धमा परिने भयले घर फर्कन चाहने नेपालीहरूको संख्या पक्कै पनि यतिमात्र होइन । तर, बुधवार राति २५४ जना फर्काइएपछि उद्धारका लागि अर्को विमान पठाइएको वा उतैबाट ल्याइएको समाचार आएको छैन ।

आशा गरौँ सरकारको संवेदनशील सक्रियता पक्कै सेलाएको छैन होला र सेलाउनु पनि हुँदैन । स्वदेश फर्कन चाहने बाँकी नेपालीसँग सरकार विशेषगरी इजरायलस्थित नेपाली दूतावास पक्कै सम्पर्कमा होला । कुनै पनि नेपाली नागरिकले राज्यले बेवास्ता गरेको अनुभव गर्न नपरोस् ।   

सम्भवतः छिटै नै इजरायल सरकारले स्थिति नियन्त्रणका लिनेछ । त्यसपछि त कामको खोजीमा गएकाहरूले फर्किहाल्ने मन पनि नगर्लान् । यसैले घर फर्कन चाहने बाँकीको उद्धार यथाशीघ्र गरेमात्र औचित्यपूर्ण हुनेछ । 

इजरायल नेपाललाई माया गर्ने मित्रमध्येको एउटा हो । नेपाल सरकारले उद्धारलगायतका काममा पक्कै पनि उचित र आवश्यक सहयोग पाउन सक्छ । यसैले उद्धारमा सरकारले हेलचेक्य्राइँ नगरोस् । नागरिकको जीवनरक्षाभन्दा सरकारले गर्ने अर्को कुनै काम पनि ठूलो र महत्त्वपूर्ण हुँदैन । 

सरकारले त्यहाँ भएका नेपालीको स्थितिका बारेमा सार्वजनिक जानकारी दिएर देशवासीलाई आश्वस्त तुल्याउनुपर्छ । सरकारलाई दिइएको धन्यवाद खेर गएको अनुभव नेपालीले गर्नु नपरोस् !  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro