site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टोरन्टोमा पाँच साता 
Tiktok banner adTiktok banner ad

जुलाई १८ तारिख । साँझ ५ः४० को एयर क्यानडाको सिधा उडान समाउँदै टोकियो हानेदा अन्तर्राष्ट्रिय विमानस्थलबाट टोरोन्टोका लागि हुत्तिएँ । करिब १२ घण्टा १० मिनेट लामो हवाई यात्रा थियो यो ।

टोरोन्टोस्थित पियर्सन अन्तर्राष्ट्रिय हवाईअड्डामा उत्रिँदा म अनिद्राका कारण राम्रोसँग उभिन सक्ने अवस्थामा थिइनँ । हवाईजहाज १८ तारिखमै दिउँसो १६ः४० मा टोरोन्टो हवाईअड्डामा अवतरण भएको थियो ।

एक किसिमले फाट्टफुट्ट मात्र देखिने गोरा अनुहारहरू देख्दा आफू टोरोन्टो पुगेको कम र इन्डियाको कुनै सहरमा पुगेको जस्तो अनुभूति हुने यो सुरुआती क्षणले कताकता मनमा हलचल पैदा भइरहेको थियो ।

g-1697266566.jpg

अनिदोले नराम्ररी छोपेको थियो । यसै परिस्थितिमा भीडबाट करिबकरिब पाकिस्तानीजस्तै देखिने मानिसको आवाज सुनियो, ‘यहाँ कोही जापानी भाषा बोल्न सक्ने मान्छे हुनुहुन्छ ?’

मलाई ‘के खोज्छस्...’ भनेझैँ भयो । अनिदोले शिथिल भएको अवस्थामा पनि मैले तुरुन्तै हात उठाएँ र भनेँ, ‘एस, आई क्यान स्पीक जापानिज ।’

यसो सोध्नुको कारण थियो, दुईजना ९ र ११ मा पढ्ने जापानी विद्यार्थी स्टुडेन्ट एक्सचेन्जअन्तर्गत एक वर्षका लागि भाषा पढ्न क्यानडा आएका थिए । तर, अंग्रेजी फिटिक्कै नबुझ्ने । त्यसैले त्यहाँ दोभाषेका रूपमा मेरो काम आयो ।

मैले क्यानेडेली नागरिकलाई जिस्क्याउँदै ‘यु आर गोइङ टु पे मी फोर्टी डलर्स पर आवर, राइट ?’ भनेको उसले लामो जिब्रो निकाल्यो ।

ऊ ‘तिमी महँगो भयौँ । हामीले १५ डलरसम्म अफर गर्न सक्छौँ’ भनेर हाँस्यो । एकछिन ठट्टा गरेर मैले तिनको काम सहज गरिदिएँ । दुवै थरी विद्यार्थी र क्यानेडेली सरकारका तर्फबाट मुरीमुरी धन्यवाद पाएर म हाँस्दै एयरपोर्टबाट बाहिरिएँ ।

एयरपोर्टबाट बाहिर निस्किएर छोरालाई देखेपछि बल्ल मेरो मनले विश्राम पायो । त्यसपछि ट्याक्सी चढेर हामी उसको थातथलो रोजर्स रोडतर्फ लाग्यौँ ।

घरमा बुहारी र नातिनातिना पर्खेर बसिरहेका थिए । केही बेरको भलाकुसारीपछि सुत्ने उपक्रममा लागेँ । त्यस दिन थकाइले यति चुर बनाएको थियो कि खाना खाएर सुत्नेबाहेक अरू केही सुझेन ।

कस्तो थकाइ होला, भोलिपल्ट १२ बजेसम्मै सुतिएछ ! १ बजेतिर बुहारीले खाना कोठामै ल्याइन् । खाना खाएपछि फेरि पनि निद्राले छोप्यो ।

लामो फ्लाइटको जेटल्याक साह्रै गाह्रो । पूर्व–पश्चिमको मुलुक, निद्राको समय मिलाउनै दुईतीन दिन लाग्ने !

जुलाई २० तारिख बिहानदेखि मात्रै मेरो टोरन्टो घुमाइ सुरु भयो । खाना खाएर बुहारी र म हाइपार्क गयौँ । छोरोको अनलाइन काम भएकोले ऊ घरै बस्यो ।

हाइपार्क जानलाई घरनजिकैदेखि ४१ नम्बरको बस चढेर किल पुग्ने र त्यहाँबाट रेल चढेर जानुपर्ने रहेछ । किल स्टेसनबाट केही स्टप रेल चढ़ेपछि मात्रै हाइपार्क पुगिने रहेछ ।

हामी ट्राम चढेर पूरै हाइपार्क घुम्यौँ । समयानुरूप केही फोटो र भिडियो पनि खिच्यौँ । एकदुई गोरा छालाहरूसँग भलाकुसारी गरेर अन्त्यमा टिम हर्टन्सको चिसो कफी पिएर घर फर्कियौँ ।

त्यस दिनको घुमघामले यसरी विश्राम लियो । केही फोटो र टिकटक पोस्ट भए, सामाजिक सञ्जालमा । दिन एकदमै रमाइलोसँग बित्यो ।

जुलाई २३ । सधैँझैँ बिहानको ब्रेकफास्ट लिएर टोरन्टो सिटी हेर्न हामी निस्कियौँ । विशेष गरी सीएन (क्यानेडियन नेसनल) टावर र हार्भर फ्रन्ट घुम्ने योजनामा निस्किएका थियौँ ।

सीएन टावरको उचाइ ५५३.३ मिटर अग्लो छ, जुन दुबईको बुर्जखलिफा (८२८ मिटर) र टोकियोको स्काई ट्री (६३४ मिटर) बन्नुअघि संसारको सबैभन्दा अग्लो इमारतका रूपमा स्थापित थियो, सन् १९७५ देखि २००८ सम्म ।

२००८ मा बुर्जखलिफा बनेपछि सीएन टावर संसारको दोस्रो अग्लो टावर बन्यो भने अहिले (टोकियोको स्काई ट्री – सन् २०१२ मा बनेपछि) संसारको तेस्रो अग्लो टावर मानिएको छ ।

3-1697266598.jpg

यस टावरमा अब्जरभेटरी डेस्क १६९ तलामा रहेछ । टावरको चार कुना पूरै टोरन्टो सहर अवलोकन गर्ने मुख्य आकर्षणको केन्द्रविन्दु हो । मेरो क्यानडा भ्रमणको उद्देश्य पनि सीएन टावर र नायग्रा फल्सको अवलोकन गर्नु नै थियो ।

त्यस दिन हामीले टोरोन्टो वान–डे फ्री पास किनेका थियौँ, प्रतिव्यक्ति १३ डलर ५० सेन्टका हिसाबले । टोकियोमा झैँ सार्वजनिक यातायात जतिचोटि चढेर जहाँ ओर्लिए पनि हुने । यसले सबै किसिमका सार्वजनिक यातायात सेवा प्रयोग गर्न सकिने । यसमा टोरन्टो सिटी गभर्मेन्टका सबै बस, रेल र स्ट्रिटकार पर्दा रहेछन् ।

त्यस दिन स्ट्रिटकार खुबै चढियो । स्ट्रिटकारले मलाई बालापनमा काठमाडौंमा चढेको ट्रलीबसको सम्झना दिलायो । अहिले त काठमाडौंमा ट्रलीबस नै चल्दैनन् । दुईचारथान थोत्रा बस मीनभवनमा थन्क्याइएको देखिन्छ ।

जुलाई २५ तारिख । बिहानको खाना खाएर हामी सबै सेन्टर आइल्यान्ड गयौँ । छोरा अरुणले कामबाट एक हफ्ताको छुट्टी लिएको थियो । हामी सबै सधैँजसो बस, रेल र स्ट्रिटकार चढेर हार्बर फ्रन्टबाट फेरीबोट चढेर सेन्ट्रल आइल्यान्ड पुग्यौँ ।

साह्रै रमाइलो र रोमाञ्चक यात्रा थियो यो । छोराबुहारी र म मात्रै घुम्न निस्किएका थियौँ । नातिनातिनाको पार्टटाइम काम भएको हुँदा उनीहरू आफ्नै काममा लागे ।

करिब २० मिनेटको फेरीयात्रा सकेर हामी सेन्ट्रल आइल्यान्ड पुगेका थियौँ । चियाखाजा खाएर सेन्ट्रल ताल हेर्ने हामी तीनैजना डेकतर्फ लाग्यौँ ।

सेन्ट्रल आइल्यान्डमा हेर्नैपर्ने स्थानविशेष भनेको यही अन्टारियो लेक हेर्ने डेक, दुईवटा फाउन्टेन र ट्रामबाट पार्कको एक फन्को मार्नु नै रहेछ । सेन्ट्रल आइल्यान्डबाट सीएन टावर पनि प्रस्टसँग हेर्न सकिने रहेछ ।

त्यस दिन १४ हजार पाइला हिँडिएछ ! सेन्ट्रल आइल्यान्डबाट वाटर स्की पनि गर्न मिल्दो रहेछ । तर, रिजÞर्व पहिले नै गर्नुपर्ने । मसँग स्वीमिङ कस्टम पनि नभएको र बुहारी पनि पानीमा जान नमानेकाले हामीले वाटर स्की गरेनौँ ।

सेन्टर डेकबाट लेक हेरिसकेपछि हामीले आइसक्रिम खाँदै ट्रामबाट पार्कको एक फन्को लगायौँ । ट्राम चढ्न एकजनालाई १० डलर लाग्दो रहेछ । तर, तिरेको पैसाको पुरापुर आनन्द मिल्ने ।

अगस्ट ७ तारिख । म बहिनी रीना र ज्वाइँ दिनेश नेपालको वासस्थान रोजर्स रोडबाट एक घण्टा परको नोर्थ नन्ह्याटमतर्फ लागेँ । ठूलो बंगला, विशाल गार्डेन र डाउनटाउनबाट धेरै शान्त र रमणीय वातावरण पाएँ, मैले त्यहाँ ।

भोलिपल्ट बिहानको ब्रेकफास्ट खाईवरी ज्वाइँको गाडीमा ब्लु माउन्टेनतिर लाग्यौँ हामी । त्यो दिन त्यतै बित्यो, कफी, खाजा र आइसक्रिम खाँदै, गोन्डोला चढ्दै र भिलेज डुल्दै ।

रातको खाना पनि बाहिरै खाएर घर छिर्दा रातको साढे ११ बजिसकेको थियो ।

अगस्ट १० तारिख । टोरन्टोमा सरकारी जागिर खाएर बस्नुहुने दादा प्रदीप बास्कोटा (फुपूका छोरा)को घरमा मेरा तीन दिन बिते । छोराको घरबाटै दादाले पिकअप गरेर फिन्चस्थित आफ्नो अपार्टमेन्टमा लग्नुभयो । भाउजू पनि सरकारी अस्पतालमा इन्चार्ज नर्स भएकाले हामीलाई खाना रेडी गरी साँझको ड्युटी गर्न जानुभयो ।

बच्चाहरू, दादा र म खाना खाईवरी नजिकैतिर ड्राइभिङमा हिँड्यौँ । भोलिपल्ट रुकु दिज्यूको घर स्कारबोरो जाने प्रोग्राम थियो, तर पानी परेकाले कार्यक्रम बिथोलियो ।

4-1697266621.jpg

तत्कालै हामी ह्यामिल्टनतर्फ लाग्यौँ । ह्यामिल्टनमा दादाको बेस्सो अर्थात् अर्को घर पनि रहेछ । त्यहीँ उहाँका चिनजानका मान्छेहरूको जमघट गराई खानपान पनि भयो । त्यहीँ नाचगान गर्दै, बाँसुरीको धुन सुन्दै रमायौँ ।

भोलिपल्ट दादाकै गाडीमा उहाँ, म र अनिल भट्टराई भाइ नायग्रा फल्सतर्फ लाग्यौँ । मैले आजसम्म देखेका दृश्यहरूमध्ये सबैभन्दा मनमोहक दृश्य लाग्यो, नायग्रा फल्स । स्वर्गकै एक टुक्रा धर्तीमा अवतरित भएझैँ अनुभव गरेँ ।

माथि डिलबाटै दुईचार फोटो खिचेर हामी फेरी चढ्दै नायग्रा फल्सको सफरमा लाग्यौँ । त्यहाँ दिइएको रेनकोट लगाएर पानीको फोहोराभित्र पस्यौँ । नायग्रा फल्सको यात्रा अत्यन्तै रोमाञ्चक रह्यो, मेरा लागि ।

बेलाबेला फोटो र भिडियो खिच्नमै मस्त रहेकीले मेरो मोबाइल झन्डै नायग्रा फल्सभित्र खसेको, धन्न खसेन ।

अनिल भाइले बारम्बार ‘दिज्जू, मोबाइल खसालिसेला है, विचार गर्नुस्’ भन्दाभन्दै पनि म फोटो खिच्न यति तल्लीन रहेँ कि के भनौँ !

नायग्रा फल्समा करिब ३५ मिनेटको पानी सयर सकाएपछि मात्रै हामी ह्यामिल्टनतिर फर्किने तरखरमा लाग्यौँ ।

बाटोमा फेरि टिम हर्टन्स्को चिकेन रोल र आइस क्यापले भोक मार्दै दादाको घरमा फर्कियौँ । र, खाना खाईवरी टोरन्टोमा भइरहेको नेपाल डे फेस्टिभलमा सहभागी हुँदै छोराबुहारीकोमा फर्किएँ ।

दिन बित्दै जाँदा म एक्लै टोरन्टो सहर घुम्न सक्ने भइसकेकी थिएँ । कुन ठाउँबाट कति नम्बरको बस चढ्ने, कुन रेल कतातिर जाने र कहाँ पुगिन्छ, यी सबै म्याप हेरेर एक्लै डुलेर छोराको आवाससम्म फर्किन मलाई सहज भइसकेको थियो ।

ए, पाँच साता पो बितिसकेछ यसरी यात्रा गर्दागर्दै ! अबको यात्रा फेरि टोकियोतिरै थियो, जसले मेरो यो यात्राको बिट मार्दै थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro