site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पटकपटक भारत पुगेर स्वर परीक्षण गर्दै मेनुका

०७५ कात्तिकको पहिलो शनिबार गायिका मेनुका पौडेलको स्वरको भारतीय संगीत क्षेत्रमा खुबै चर्चा भयो । भारतका मूर्धन्य संगीतिज्ञहरूले मेनुकाको खुलेर प्रशंसा मात्र गरेनन्, आफूहरू नतमस्तक भएको पनि बताए ।

प्लेटफर्म थियो, भारतीय सांगीतिक गायन प्रतियोगिता ‘सारेगमप’ । त्यसमा नेपाली गायिका मेनुकाले भाग लिएकी थिइन् । जहाँ उनले आफ्नो स्वरको जादु छरिन् । संगीतकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको स्वरको मुक्तकण्ठले प्रशंसा गरे । उनीहरूले मेनुकाको स्वरको तारिफ मात्र गरेनन्, उनको स्वरको जज गर्ने ‘हैसियत’ आफूहरूसँग नभएको बताए । निर्णायक शेखरले भनेका थिए, “तिम्रो गायनको जज गर्ने मेरो कुनै औकात छैन ।”

मेनुकाले त्यति बेला लता मंगेशकरको ‘जाने क्या बात है...’ बोलको गीत गाएकी थिइन् । उनले गीत गाउँदा शोमा उपस्थित निर्णायकसँगै जुरी मेम्बरले आँसु झारे । जज र उपस्थित सबैले ‘स्ट्यान्डिङ अभेसयन’ नै दिएका थिए ।

नेपालमा पहिलोपटक अडिसन लिइएको गायन रियालिटी शो हो, सारेगमप । मेनुका अडिसन राउन्डबाट छनोट भएकी थिइन् । छैटौँपटकसम्म प्रस्तुति दिएकी उनी टप ११ बाट बाहिरिएकी थिइन् ।

उनै मेनुका फेरि एकपटक आफ्नो स्वरको परीक्षण गर्न भारत पुगेकी छन् । यसका लागि ‘इन्डियन आइडल’को प्लेटफर्म रोजिन् । त्यहाँ अडिसन राउन्ड थियो । उनलाई कसैले मञ्चमा लगिदियो । सहयोगीले मञ्चमा पुर्‍याइदिँदै गर्दा उनी सुरुमा आलाप लिन्छिन् र हल्का गीत उठाउन खोज्छिन् ।

निर्णायकले बोलेको सुनिन्छ– के भयो ? निर्णायकमध्येकै श्रेया घोषाल भन्छिन्– अच्छा, उनी स्वर मिलाइरहेकी छन् ।

मेनुका माइकमा हाई र लो स्केल चेक गर्छिन् ।

निर्णायक कुमार सानु भन्छन्– साउन्ड चेक गरिरहेकी छन् । श्रेया थप्छिन्– बाँकी अरूले पनि यसैगरी साउन्ड चेक गर्नुपर्छ ।

त्यसपछि ट्रयाक सुरु हुन्छ । मेनुकाको स्वर पनि गुन्जिन थाल्छ – सुर र तालसँगै, ‘तुम्हारे बिना हमारे कोनो नही...।

स्टेजमा जब मेनुकाको स्वरको जादु चल्छ, निर्णायकका आँखामा आँसु रोकिँदैन । मुख छोपेर उनीहरू बसिरहन्छन् । श्रेया हुँक्कहुँक्क रुन थाल्छिन् । मेनुकाले गीत गाएर सकाउँछिन् । तर, उनीहरू बोल्दैनन् । माहोल नै शान्त हुन्छ ।

विशाल ददलानी ताली बजाउँदै उठ्छन् । उनीसँगै कुमार सानु उसैगरी उठ्छन् । बीचमा बसेकी श्रेष पनि उठ्छिन् । मेनुकाको मुहारमा मुस्कान देखिन्छ । तर, कोही बोल्दैन । अन्ततः मौनता चिर्दै रुँदै श्रेया बोल्छिन्– माई प्लेजर !

विशालबाट मेनुकाको प्रशंसा गर्न सुरु हुन्छ । उनी भन्छन्– म संगीतलाई जे भनेर बुझ्छु, त्यो तिमी हौ ।

उनलाई पछ्याउँदै बाँकी दुईजनाले पनि प्रशंसा गर्छन् । श्रेयाले इन्डियन आइडलको मञ्चमा ‘यसरी दिलबाट सच्चा सुर आजसम्म कसैले नलगाएको’ बताउँछिन् । मेनुकाले गर्दा ‘इन्डियन आइडलको स्टेज र आफू पनि धन्य भएको’ उनी बताउँछिन् । त्यसपछि तीनैजना मञ्चमा उक्लिन्छन् र मेनुकालाई गोल्डेन माइक दिन्छन् ।

निर्णायकको मन जितेकी उनको अहिले चौतर्फी प्रशंसा भइरहेको छ । जसरी उनले सारेगमपमा सहभागी भएर प्रशंसा बटुलेकी थिइन्, त्यसैगरी अहिले स्रोतादर्शकको मन जितिरहेकी छन् । 

झापामा जन्मिएकी मेनुकाले यसअघि ‘नेपाल आइडल’मा पनि भाग लिएकी थिइन् । उनी नेपाल आइडल सिजन वानमा टप ११ बाट बाहिरिएकी थिइन् । भोटिङ राउन्डमा पुगेपछि उनी बाहिरिएकी थिइन् ।

उनले नेपाल आइडलको मञ्चलाई छोड्दै गर्दा भनेकी थिइन्, “म्युजिक भनेको मानिसले आँखाले देख्ने कुरा होइन, यसलाई मस्तिष्क र मनबाटै लिनुपर्छ ।”

उनका यही कुरा इन्डियन आइडलमा विशालले मेनुकाको प्रशंसा गर्दै भने– म संगीतलानई जे भनेर बुझ्छु, त्यो तिमी हौ । श्रेयाले भनिन्– तिमीले दिलबाट गायौ ।  

उनी सेतो छडीको सहारामा नेपाल आइडलको मञ्चमा पुगेकी थिइन् । त्यही सेतो छडीकै सहारामा नेपाल आइडलबाट बिदा भएकी थिइन् । उत्कृष्ट ११ मा पुग्दा उनले प्रतिस्पर्धीमध्ये सबैभन्दा कम भोट पाएकी थिइन् ।

‘तिम्रोजस्तो मुटु मेरो पनि...’ बोलको गीत गाएर मेनुका नेपाल आइडलबाट बिदा भइन् । तर, उनी हारिनन् । साधना गर्ने र यही नै शक्ति हो भन्नेहरू हार्दैनन् । नेपाल आइडलबाट बाहिरिएकी उनी थाकिनन् । थुप्रै गीत रेकर्ड गरिन् । केही एक्लै र अग्रजहरूसँग ।

त्यही समय उनले भारतीय सिंगिङ रियालिटी शोमध्येकै प्रतिष्ठित मानिने सारेगमपमा जाने तयारी थालिन् । कोलकाता वा मुम्बईबाट अडिसन दिने मेनुकाको तयारी थियो । तर, पहिलोपटक नेपालबाटै अडिसन दिन पाइने भएपछि उनलाई थप सहज भयो । प्रि–अडिसनका निम्ति भिडियो पठाइन् ।

लेभल वानको अडिसनमा मेनुका छनोट भइन् । लेभल टुको अडिसन लिन सारेगमपको टोली काठमाडौं नै आयो । काठमाडौं अडिसन पार गरेपछि उनलाई लेभल थ्रीको अडिसनका निम्ति कोलकाता बोलाइयो । त्यो अडिसनबाट पनि ग्रीन कार्ड पाएपछि मेनुकालाई अन्ततः दर्शकले जी टीभीमा हेर्नसुन्न पाएका थिए ।

उनले ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’को ग्रान्ड जुरीको समूहमा रहेर पनि आफ्नो भूमिका निर्वाह गरिन् । तिनै मेनुका फेरि एकपटक स्वरको जादु सुनाउन इन्डियन आइडलमा पुगेकी छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro