site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलले १५० बन्धकलाई हमासको नियन्त्रणबाट कसरी छुटाउला, कस्तो छ तयारी ?

काठमाडौं । प्यालेस्टिन चरमपन्थी समूह हमासले गएको शनिबार (असोज २० गते) अचानक इजरायलमाथि आक्रमण गरेपछि हमास र इजरायलबीच युद्ध चर्किएको छ । हमास रहेको गाजाको सिमानामा इजरायलले ठूलो संख्यामा सैनिक तैनाथ गरेको छ । इजरायलले पनि अप्रत्याशित अवस्थामा सामना गरिरहेको छ ।

बितेको ६ दिन इजरायलले गाजामा (हमासमाथि) हवाई आक्रमण मात्र गरेको थियो । अब गाजामा स्थल आक्रमण गर्ने इजरायलको तयारी छ । यसैकारण तीन लाखभन्दा बढी आफ्ना सेना गाजाको सिमानामा लगेर राखेको छ ।

गाजामाथि इजरयालको स्थल आक्रमण जुनसुकै बेला हुन सक्छ । यसैकारण इजरायली सेनाले उत्तरी गाजामा रहको प्यालेस्टिनलाई २० घण्टाभित्र दक्षिण गाजामा जान उर्दी जारी गरेको छ । उत्तरी गाजामा ११ लाख प्यालेस्टिन बस्छन् ।

Dabur Nepal
NIC Asia

Israel-Hamas-1696900702.jpg

इजरायली सेनालाई उर्दी फिर्ता लिन संयुक्त राष्ट्रसंघले अपिल गरेको छ । तर, इजरायल मानिरहेको छैन । हमासले पनि उत्तरी गाजामा रहेका प्यालेस्टिनलाई आफ्नो घर नछोड्न भनेको छ । इजरायलले उत्तरी गाजा छोड्न उर्दी जारी गरेर मनोवैज्ञानिक युद्ध गरिरहेको बुझाइ हमासको छ ।

पछिल्ला आक्रामक गतिविधि हेर्दा इजरायल यसै रोकिने देखिँदैन । किनकि इजरायललाई हमासले बन्धक बनाएका आफ्ना १५० जना नागरिकलाई छुटाएर ल्याउनुपर्ने छ ।

बन्धक बनाइएकाहरू इजरायली मात्र छैनन् । त्यहाँ नेपाली, अमेरिकी, थाईलगायतका विदेश नागरिक पनि छन् । बन्धकहरूलाई गाजाको गोप्य स्थानमा राखिएको अनुमान गरिएको छ । बन्धकमा महिला, बालबालिका र वृद्ध पनि छन् । 

धेरैले अनुमान गरेका छन्– यदि इजरायलले गाजामा स्थल आक्रमण सुरु गर्‍यो भने के होला ? के बन्धक जीवित रहलान् ?

सम्झौताको सम्भावना कति छ ?

इजरायल र हमासबीच युद्ध चर्किए पनि केही देश भित्रभित्रै बन्धक छुटाउने प्रयासमा छन् । कतार, इजिप्टलगायतका देश यो सूचिमा पर्छन् ।

हमास र इजरायलबीच सम्झौता हुन सक्ने एउटा सम्भावना छ । इजरायलको जेलमा ३६ जना प्यालेस्टिन महिला तथा किशोरी छन् । यदि इजरायलले ती महिला तथा किशोरीलाई छोडे हमासले पनि आफूले बन्धक बनाएका महिला तथा बालबालिकालाई छोड्न सक्छ ।

माइकल मिल्स्टिन इजरायलको रिचमन विश्वविद्यालयको इन्स्टिच्युट फर पोलिसी एन्ड स्ट्राटिजीमा वरिष्ठ विश्लेषक हुन् । मिल्स्टिनका अनुसार अन्य बेला भएको भए इजरायलको प्राथमिकतामा बन्धक हुन्थे र। तर, आज इजरायलको प्राथमिकता हमासको सफाया रहेको छ ।

Israe-hamas-1-1696913870.jpg

अहिले दुवैतर्फ आक्रोश र तनाव उच्च विन्दुमा छ । सम्झौता गर्ने मुडमा न इजरायल छ न हमास । इजरायल यसपटक बढी नै रिसाएको छ । यति सजिलै हमासले आफ्नो देशमा छिरेर आफ्ना नागरिकलाई बन्धक बनाएर लैजाला भन्ने इजरायलले सोचेकै थिएन । अझ एक हजार ३ सयभन्दा बढी इजरायलीको हत्या गर्लान् भन्ने त कल्पना बाहिरको कुरा थियो ।

शनिबारयता इजरायलले गाजाका तीनहजार ६०० भन्दा बढी स्थानमा ६ हजारभन्दा बढी बम खसालेको छ । पछिल्लो ६ दिनको युद्धमा एक हजार ३०० भन्दा बढी इजरायली र १ हजार ५ सयभन्दा बढी प्यालेस्टिन मारिएका छन् । गाजामा इन्धन, पानी, बिजुली र औषधिको आपूर्ति इजरायललो रोकिदिएको छ ।

 हमासको चेतावनी

हमासले बिना कुनै चेतावनी इजारायलले गर्ने हवाई आक्रमणमा प्यालेस्टिनको मृत्यु भए बदलामा एकजना इजरायली बन्धकलाई फाँसी दिने धम्की दिएको छ । हमासले यस्तो गरेको अहिलेसम्म प्रमाण भने भेटिएको छैन । 

यता इजरायलले पनि संयमता अपनाउने संकेत देखाएको छैन । हरेक दिन गाजामाथि हवाई आक्रमण गरेको छ । गाजाको ठूलो भाग भग्नावशेषमा परिणत भएको छ ।

मिल्सटिनको बुझाइमा हमासले महिला, बालबालिका र वृद्धलाई लामो समय बन्धक बनाएर राख्ने छैन । अन्तर्राष्ट्रियस्तरमा यो उसका लागि खराब विकल्प हो । 

बन्धकमध्ये केहीलाई अत्यधिक हेरचाहको आवश्यकता हुन सक्छ । अर्को पक्ष इजरायलले गरिरहेको लगातारको हवाई आक्रमणबाट उनीहरूलाई जोगाउन पनि त्यति सहज छैन । यदि बन्धकमा कुनै सैनिक पनि छन् भने हमासले त्यसको धेरैभन्दा धेरै फाइदा उठाउन खोज्ने छ । यदि वार्ता वा सम्झौता भए सैनिकको रिहाइलाई लिएर हमासले अधिकतम फाइदा लिने छ । 

इजरायल सरकारको द्विविधा

जब बन्धकको कुरा आउँछ इजरायल सरकार द्विविधामा पर्छ । 

के इजरायलले बन्धकलाई बचाउन ठूलो जोखिम मोलेर सशस्त्र आक्रमण गर्ला ? के इजरायल लामो समयसम्म प्रतिक्षा गर्ला ? त्यतिन्जेसम्म हवाई आक्रमणबाट कमजोर बनेको हमास आफैँ वार्ता र सम्झौताको लागि अघि सर्ला ?  

दुवै विकल्पमा खतरा उति नै छ । अहिले बन्धकहरूलाई जमिनमुनि सुरुङमा राखिएको अनुमान गरिएको छ, जुन नहुन पनि सक्छ । सुरुङ पनि हवाई आक्रमणबाट सुरक्षित नहुन सक्छन् ।

यसमा अर्को जोखिम पनि छ । कुनैबेला रिसको झोकमा हमासले बन्धकहरूलाई मारिदिन सक्छ । अथवा इजरायलले आफ्ना नागरिकलाई बचाएर लैजाने हमासलाई लागेमा त्यतिबेला उसले मार्न पनि सक्छ ।

यस्तो सन् २०१२ मा नाइजेरियामा भएको थियो । चरमपन्थीहरूले बन्धक बनाएका दुइजनालाई छुटाउन बेलायत र नाइजेरियाको विशेष सैनिक बलले प्रयास गरेका थिए । तर, असफल भए ।

इजरायलले बन्धकका विषयमा जानकारी लिन एउटा कक्ष बनाएको छ । यहाँ गाजा लगिएका बन्धकको पहिचान हुने सबै जानकारी राखिएको छ ।  

hamas-(2)-1696956247.jpg

इजरायलको क्षमता 

माइकल मिल्स्टिनले इजरायली सेनाको गुप्तचर सेवामा २० वर्ष काम गरेका थिए । उनका अनुसार इजरायली सेनासँग गाजाको हरेक सडक र घरको आँकडा छैन । गाजा हमासको क्षेत्र हो, जहाँ हमास बन्धकलाई लुकाउन सक्षम छ । उसलाई सुरुङको हरेक नेटवर्क थाहा छ ।

बन्धकलाई छुटाउने विषयमा इजरायल कमजोर छैन । बन्धक छुटाएको धेरै अनुभव इजरायली सेनासँग छ । यो इजरायली सेनाको विशेष क्षमता पनि हो ।

इजरायलको सन् १९५७ मा स्थापना गरिएको सायरेट मटकल युनिट बेलायतको एसएएस र अमेरिकाको डेल्टा फोर्स जत्तिकै सक्षम छ । यो सन् १९७६ मा युगान्डाको एन्टेबेमा गरेको कारबाहीबाट चर्चामा आएको थियो । एन्टेबेस्थित हवाई अड्डामा अपहरण गरिएको विमानबाट सायरेट मटकल युनिटले बन्धकलाई छुटाएर ल्याएको थियो ।

उक्त युनिटको कमान्डर योनातन नेतन्याहू थिए । एन्टेबेमा गरिएको कारबाहीमा मारिने उनी एक मात्र इजरायली कमान्डो थिए । उनको भाइ बेन्यामिन नेतन्याहू अहिले इजरायलमा प्रधानमन्त्री छन् ।

गाजामा रहेका बन्धकलाई संवादमार्फत छुटाउने कि बलपूर्वक छुटाउने यो इजरायलको निर्णयमा भर पर्ने छ । 

सबैभन्दा कठिन बन्धक संकट

हमासले शनिबार १५० जना इजरायलीलाई बन्धक बनाएपछि यसलाई अहिलेसम्मकै सबैभन्दा कठिन बन्धक संकटको रूपमा चित्रण गरिएको छ ।

अमेरिकाले बन्धक छुटाउन गुप्तचर सूचना तथा विशेष बलको रूपमा इजरायललाई सघाइरहेको छ । अमेरिकाले भूमध्यसागरमा आफ्नो जलसेनाको ठूलो जहाज तैनाथ गरिसकेको छ ।

तर, यथार्थ के पनि हो भने हमासले आफूलाई युद्धमा सक्षम प्रमाणित गरिसकेको छ । प्रविधि र आक्रमण गर्ने क्षमताका दृष्टिले हमास इजरायलसँग लड्न सक्षम छ । हमासले आफ्नो कुराकानीको कुनै ‘डिजिटल सिग्नल’ छोडेको छैन ।

आफ्ना कुराकानी र योजनालाई लुकाएर हमासले गत शनिबार इजरायललाई आश्चर्यमा पार्न सफल भयो । जहाँसम्म हमासका बन्दुकधारीले अहिले १५० जनालाई बन्धक बनाइरहेका छन्, उनीहरू सम्भव भएसम्म अफलाइन हुने छन् । उनीहरू एयरवेबभन्दा टाढै रहने छन् ।

हमासले अवश्य पनि बन्धकसँग रहेका डिजिटल उपकरण हटाइसकेको छ । माइकल मिल्स्टिन भन्छन्, “यो इजरायलको इतिहासमा सबैभन्दा कठिन बन्धक समस्या हो, जसको इजरायलले अहिलेसम्म सामना गरेको छैन ।”

(बीबीसीबाट भावनुवाद ।) 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro