
काठमाडौं । अमेरिकाले युक्रेनलाई हतियार पठाउन छाडेको छ । आफूले जनाएको प्रतिबद्धताअनुसार अमेरिकाले युक्रेनमा हतियार पठाउन नसक्ने भएको हो । अमेरिकी रक्षामन्त्रालय पेन्टागनको समीक्षापछि अमेरिकाको निर्णय आएको हो ।
समीक्षाका क्रममा अमेरिका आफैँसँग युक्रेनलाई दिने भनेर वाचा गरिएका हतियारको भण्डारण नै कम रहेको पाइएको अमेरिकी अधिकारीहरूको तर्क छ ।
रुसबाट आक्रमणको सामना गरिरहेको युक्रेनका लागि अमेरिकाको पछिल्लो निर्णयले ठूलो झट्का दिएको एपीको समाचारमा उल्लेख छ ।
बाइडेन प्रशासनले तीन वर्षभन्दा लामो युद्धमा युक्रेनको रक्षाका लागि केही हतियार उपलब्ध गराउने वचन दिएको थियो । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा नयाँ प्राथमिकता तय गरिएपछि र रक्षा मन्त्रालयका अधिकारीहरूले हालको अमेरिकी भण्डारको समीक्षा गरेर चिन्ता व्यक्त गरेपछि हतियार ढुवानी रोकिएको हो ।
“हाम्रो राष्ट्रको सैन्य समर्थन र विश्वभरका अन्य देशहरूलाई सहायता प्रदान गर्ने समीक्षा गरेपछि अमेरिकाको हितलाई पहिलो प्राथमिकतामा राख्न यो निर्णय लिइएको हो,” ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले एक वक्तव्यमार्फत भनेकी छन्, “अमेरिका सैन्य बलको शक्ति अझै पनि निर्विवाद छ ।”
तर, अमेरिकी रक्षा मन्त्रालयले कुनकुन हतियार रोकिएको भन्ने विवरण दिएको छैन ।
रुसले हालै युद्धकै सबैभन्दा ठूला हवाई आक्रमण सुरु गरेको अवस्थामा अमेरिकाबाट केही हतियारको ढुवानी रोकिएपछि युक्रेनका लागि ठूलो झट्का मानिएको छ ।
एपीबाट ।