site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन नगर्ने कोइराला पक्षधर सांसदको तयारी
केदार कार्की र इन्द्र आङ्बो । फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सार्ने केन्द्रीय सत्ता गठबन्धनको निर्णयप्रति नेपाली कांग्रेसका केही सांसदले असन्तुष्टि जनाएका छन् । नेता शेखर कोइराला पक्षधर प्रदेशसभा सदस्यले आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने चेतावनी दिएका हुन् ।

कोसीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीलाई अघि सार्नुपर्नेमा उनीहरूले जोड दिएका थिए । तर, बिहीबार काठमाडौंमा बसेको गठबन्धनमा आबद्ध दलका नेताको बैठकबाट आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरिएको हो ।

कार्की मुख्यमन्त्री बन्नुपर्ने पक्षमा रहेका कांग्रेसका नौ प्रदेशसभा सदस्यले गठबन्धनको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । कोसीका पूर्वमन्त्री एवं कांग्रेसका एक सांसदले बाह्रखरीसित भने, “आङ्बोलाई समर्थन गर्नेबारे थप छलफल हुनेछ । हामी उहाँ (इन्द्र आङ्बो)लाई समर्थन गर्ने पक्षमा छैनौँ । कम्तीमा एउटा प्रदेशमा हाम्रो समूहको मुख्यमन्त्री हुनुपर्छ भन्नेमा हामी आफ्नै पार्टीभित्र पनि प्रस्ट छौँ ।”

Argakhachi Cement Island Ad

कोइराला पक्षधर सांसदले सरकार गठन गर्न नेकपा (एमाले)का प्रदेशसभा सदस्यसँग छलफल नै गर्ने भएका छन् । छलफल गर्न तयार रहेको यसअघि नै एमाले संसदीय दलले जनाएको थियो ।

बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा कामचलाउ सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले पनि संस्थागत निर्णय गरेर आउने दलका सांसदसँग छलफल गर्न कठिनाइ नभएको बताए । उनले भने, “हामीले मध्यावधिमा नजाने, बरू सहकार्य गरेर अघि बढ्ने विषयमा सकारात्मक रहेको बताइरहेका छौँ । आज पनि त्यही भन्छौँ ।”

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार (भोलि) बेलुका ५ बजेसम्मको समय दिएका छन् । यो उपधाराअनुसार सरकार गठन गर्न बहुमत पुर्‍याउन सक्ने सांसदले मुख्यमन्त्रीमा दाबी गर्न सक्छन् ।

उद्धव थापा नेतृत्वको सरकार दुईपटक सर्वोच्च अदालतबाट बदर भएपछि कांग्रेसमा विकल्प खोज्न माग गरिएको थियो । तर, केन्द्रीय नेतृत्वले कांग्रेस संसदीय दलका नेताको साटो अरूलाई नै दिने रणनीतिअनुरूप माओवादीको भागमा मुख्यमन्त्री पारिदिएको एक सांसदले बताए । ती प्रदेशसभा सदस्यले भने, “हामी अब प्रदेशमा थप छलफल गर्दै छौँ ।”

कोसीमा सरकार गठन गर्न ४७ सांसदको समर्थन आवश्यक हुन्छ । अहिले नेकपा (एमाले)का (उपसभामुखसहित) ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ र जनता समाजवादी पार्टी (जसपा)का एक प्रदेशसभा सदस्य छन् । गठबन्धनसँग बहुमत पुग्ने ४७ संख्या छ । तर, उपधारा ५ बमोजिम सरकार गठन गरिँदा ‘ह्वीप’ नलाग्ने भएकाले आङ्बोको पक्षमा मत नदिने कांग्रेसका असन्तुष्ट सांसदको भनाइ छ ।

कांग्रेस सांसद केदार कार्कीले सरकार गठनका विषयमा एमाले  नेतासँग पनि छलफल गरिने बताए । “गठबन्धनले गरेको निर्णयबारे हामीलाई जानकारी छैन,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्