site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

शान्ति प्रक्रियाको सबैभन्दा संवेदनशील पक्ष सत्यनिरुपण र मानवताविरोधी जघन्य अपराधका दोषीलाई सजाय भने अहिलेसम्म कुनै सरकारको पनि प्राथमिकतामा परेन । यसबीच भए गरिएका सरकारी प्रयत्न पनि न्याय सम्पादनका लागि नभई अपराधीलाई उन्मुक्ति दिने गरी तर्जुमा भए ।

यही क्रममा संसद्को विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसदीय उपसमितिबाट केही  संशोधनसहित फर्काइएको छ । विधेयकका मुख्य र संवेदनशील विषयमा भने सहमति हुन सकेन ।

जघन्य मानवता विरोधी अपराध क्रूरतापूर्वक र नियोजित हत्या अन्तर्राष्ट्रिय परिभाषामा मानवअधिकारको गम्भीर उल्लंघनमध्ये मानिन्छ । तर, नेपालमा भने यसअघि कानुन बनाउँदा अपरहण तथा निहत्था व्यक्तिलाई सशस्त्र समूहले गरेको हत्यालाई सामान्य अपराध बनाउने प्रयास गरिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्राकृतिक न्यायको सिद्धान्त तथा अन्तर्राष्ट्रिय मानवीय कानुनका दृष्टिमा दण्डनीय ठहरिएका अपराधमा पनि ‘मेलमिलाप’का नाममा उन्मुक्ति दिने नियतका कारण अहिलेसम्म सत्य निरुपणको प्रयास टुंगोमा नपुगेको हो । विडम्बना, शासकहरूले यो यथार्थ अझै आत्मसात् गर्न सकेको देखिएन ।

भनिन्छ, न्याय गरेरमात्र हुँदैन न्याय परेको देखिन पनि पर्छ । नेपालको सङ्क्रमणकालीन न्यायका सन्दर्भ पीडित सरोकारवालाहरूको चासो र न्यायको उपेक्षा गर्न खोजिएकाले टुंगोमा पुग्न नसकेको हो । पीडितको चासो सम्बोधन नहुँदासम्म संक्रमणकालीन न्याय टुंगिन सक्तैन ।

संसद्ले पारित गरे अपराधीले उन्मुक्ति पाउने कानुन बन्न सक्छ । यद्यपि संविधानको अक्षर मर्म तथा नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धिविपरीत भएका हदसम्म त्यस्तो कानुन बदर हुन्छ । अहिले विचाराधीन ऐनकै कतिपय प्रावधान सर्वोच्च अदालतले खारेज गरेको स्मरणीय छ । 

अन्यायपूर्ण प्रावधान भएका विधेयक संसद्ले पारित भए त्यसले ‘कानुनी वैधता’ पाउन पनि सक्छ । तर, त्यस्तो कानुनको ‘नैतिक वैधता’ हुँदैन । यसैले प्राकृतिक न्यायको मर्म कुल्चेर बनाउन खोजिने वा बनाइने कानुन सबैका लागि मान्य हुन सक्तैन । 

कानुन निर्माणमा सशस्त्र द्वन्द्वका पक्षहरू नै निर्णायक भएकाले सकेसम्म उन्मुक्तिलाई प्राथमिकता दिन खोज्नु अस्वाभाविक नभए पनि उचित भने होइन । जघन्य अपराधका घटनामा सक्षम र स्वतन्त्र न्यायालयले मात्रै सजाय तोक्न सक्ने अन्तर्राष्ट्रिय कानुनको प्रावधान छ । 

यसैगरी पीडकलाई सजाय अदालतले तोकेजस्तै माफी दिने अधिकार पीडितको मात्र हुन्छ । कुनै निकायले बनाउने कानुने कानुनले यो प्राकृतिक न्यायको सिद्धान्तलाई काट्न सक्तैन । ऐन बनाउँदा यी दुई अकाट्य सत्य स्वीकार गरिएमा सम्भवतः परिपूरणलगायत विषयमा सजिलै सहमति हुनसक्छ ।

यसैले विधि निर्माताहरूले न्यायिक मन राखेर विचार गरून् । संसद्ले द्वन्द्वमा संलग्न पक्षहरूको हित वा अहित नभएर पीडितले न्याय पाउने कानुन निर्माण गरून् । पीडितलाई न्यायको साटो पीडकको उन्मुक्ति सुनिश्चित गर्ने नियत राखेर कानुन बनाए दण्डहीनताले प्रश्रय पाउँछ भन्ने हेक्का रहोस् ।  
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्