
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान्’ श्रीराम नेपालमै जन्मिएका जिकिर गरेका छन् । सोमबार (असार २३) काठमाडौंमा नेकपा (एमाले)को पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रममा उनले यस्तो दाबी दोहोर्याएका हुन् ।
उनले यसअघि पनि पटक–पटक रामको जन्मभूमि चितवनको माडीस्थित ठोरी भएको बताएका थिए । कसैले त्यत्तिकै कथा हालेर रामको जन्मभूमि बदल्न नसक्ने उनको भनाइ छ ।
राम जन्मभूमि हाल नेपालमा पर्ने र तर्कसंगत हिसाबले पनि अन्यत्र हुन नसक्ने उनले बताए । अरू रिसाउँछन् भनेर रामको जन्मभूमि नेपाल भन्नबाट डराइरहेको अवस्था रहेको उनले उल्लेख गरे ।
नडराईकन रामको जन्भूमि नेपाल भन्नुपर्नेमा उनले जोड दिए । यो आफूले नभई वाल्मीकिकृत रामायणमा लेखिएको उनले बताए । भगवान् शिव, ऋषि विश्वामित्र नेपालकै रहेका उनको भनाइ थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीको भनाइ पढ्नोस्–
हामी टुरिजमको कुरा गर्छौं, तर नेपालमा राम जन्मिएका । अन्त कसैले त्यत्तिकै कथा हालेर हुन्छ फलानो ठाउँमा जन्मिएका भनेर ? राम जन्मिएका नेपालमा हो । नेपालको भूमिमा पर्छ त्यो ठाउँ अहिले । उस बेला पनि नेपालै थियो भन्दिनँ म । के थियो, के थिएन, थारु गाउँ थियो कि के थियो ! तर, अहिले त्यो भूभाग नेपालमा पर्दछ । राम भगवान् हुन् भन्ने मान्नु/नमान्नु आफ्नै कुरा हो । जसले रामलाई भगवान् मान्छ, रामको जन्मभूमि पवित्र छ । यति प्रचार गर्न सक्दैनौँ हामी । यति भन्न सक्दैनौँ । यति आँट गर्दैनौँ । अप्ठ्यारो लाग्छ । को रिसाउँछ जस्तो लाग्छ । साँचो बोल्दाखेरि रिसाउँछ जस्तो लाग्छ भने अनि हामीले के गरी खान्छौँ ? शिव यहीँका हुन्, विश्वामित्र यहीँका हुन् । मैले लेखेको होइन नि रामायण ! वाल्मीकिकृत रामायणमा कोसी नदी तरेर पश्चिम गएर राम, लक्ष्मणलाई शिक्षा दिए विश्वामित्रले भनेको छ । मैले लेखेको होइन त्यो । विश्वामित्र चतराका हुन् भन्ने स्पष्ट छ । न्युज एजेन्सी नेपाल