काठमाडौं । “हाम्रो पुर्खादेखि नै 'डन्ट गिभ अप'वाला भाइब छ । त्यो सिक्यो भने एकदमै बेटर, नेभर गिप अप । आफूले गरेको मेहनतको फल पाइन्छ,” १९औँ एसियाली खेलकुदमा नेपाललाई रजत पदक दिलाएकी करातेकी एरिका गुरुङले सफलताका लागि दिएको सुझाव हो यो ।
चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा नेपालले दुई पदक जित्यो । त्यसैमध्येकी एक हुन्, करातेकी १९ वर्षीय एरिका । नेपाललाई अर्को पदक महिला कबड्डी टिमले कास्य दिलाएको थियो ।
एसियाडको १९औँ संस्करणमा नेपालबाट २९ खेलका २५३ जना खेलाडीले सहभागिता जनाएका थिए । त्यसमध्ये कराते र महिला कबड्डीलाई छाड्ने हो भने अन्य खेलमा नेपालको प्रदर्शन सम्झनलायक रहेन । तर, यसमा ई–स्पोर्ट्समा पब्जी, क्यानेइङ, पुरुष क्रिकेट अपवाद बने । पदक नआए पनि यी खेलका प्रदर्शन सन्तोषजनक थिए ।
करातेमा एरिकासँगै अन्य आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तर, अन्यको प्रदर्शन खास रहेन । पदकको आशा गरिएका विप्लपलाल श्रेष्ठ कास्य नजिक पुगेर पनि पदक चुम्न सकेनन् ।
एरिकाले नेपाललाई २५ वर्षपछि व्यक्तिगत स्पर्धामा रजत पदक दिलाएकी हुन् । करातेका लागि ऐतिहासिक पदक हो । एरिकाअघि नेपालले सन् १९९८ को एसियाली खेलकुदमा व्यक्तिगत विधामा रजत जितेको थियो । त्यसबेला नेपालका लागि तेक्वान्दोकी सविता राजभण्डारीले व्यक्तिगत विधामा रजत जितेकी हुन् ।
६८ केजीको स्वर्ण भिडन्तमा एरिका कजाखस्तानकी सोफ्या बेर्लुस्सेभासँग ३–० ले पराजित भइन् । यो हारपछि रजतमा चित्त बुझाएकी एरिका पदकको श्रेय प्रशिक्षक कुशल श्रेष्ठलाई दिन्छिन् ।
“प्रशिक्षकहरूले हाम्रो मानसिकता नै बलियो बनाइदिनुभएको थियो । मिसन गोल्डको थियो । तर, त्यसमा चुक्यौँ । अहिले सिल्भरमै खुसी छौँ । जापान, हङकङका खेलाडीलाई हराउने मानसिकता प्रशिक्षकहरूबाट पाएकी थिएँ,” एरिकाले भनिन् ।
धादिङमा जन्मिएकी एरिका उमेरले १९ वर्षमात्र पुग्दै छिन् । एसियाडका लागि चीन गएका २५३ प्रतिस्पर्धीमध्ये यी ‘टिनएजर’ स्वर्णका लागि फाइनलमा भिड्छिन् भन्ने सायदै कसैको अनुमान थिए । तर, प्रशिक्षक कुशल त्यसका अपवाद थिए । बन्द प्रशिक्षणमा करातेप्रति एरिकाको लगाब देखेका श्रेष्ठलाई पदकको आश थियो ।
“अन्य खेलाडीभन्दा एरिका केही फरक थिइन् । उनले प्रशिक्षणका दौरान एकदिन पनि आराम लिइनन् । बिदाको दिनबाहेक एरिका सय दिनसम्म लगातार प्रशिक्षणमा उपस्थित भएकी थिइन् । उसको लगनशीलताले गर्दा हामीले आश गरेको थियौँ,” प्रशिक्षक श्रेष्ठले भने ।
एसियाडमा जानुअघि एरिकाले इन्डोनेसियामा भएको १०औँ वर्ल्ड शितोरियो कराते च्याम्पियनसिपमा सहभागी भएकी थिइन् । पदकका आधारमा एरिकाले त्यहाँ एसियाली खेलकुदको भन्दा माथिल्लो सफलता अर्थात् स्वर्ण जितेकी थिइन् । इन्डोनेसियाको स्वर्ण अनुभवले नै चीनमा एरिकालाई रजतसम्म डोहोर्यायो ।
“इन्डोनेसियामा भएको प्रतियोगिताले एकदमै धेरै सपोर्ट गर्यो । यो ठूलो स्टेजमा प्रदर्शन देखाउन हाम्रो टिम एकदमै उत्साहित र नयाँ अनुभव लिन तयार थियो,” एरिका भन्छिन्, “भए जति सबै सिक्यौँ । कसरी देशको प्रतिनिधित्व गर्ने जस्ता कुराहरू । टिमवर्क पनि राम्रो भयो । त्यहाँको अनुभवले एसियन खेलमा धेरै राम्रो भयो ।”
‘मैले ल्याएको पदक नेपालले ‘डिजर्भ’ गर्छ’
एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई सरकारले हौसला प्रदान गर्न नगद पुरस्कारको व्यवस्था गरेको छ । जसअनुसार रजत जितेकी एरिकाले १९ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउँछिन् । तर, यसबारे एरिका अनभिज्ञ छिन् । सरकारबाट पाउने यो रकमले के गर्नुहुन्छ भन्ने प्रश्नमा एरिका जवाफविहीन हुँदा प्रशिक्षक श्रेष्ठले हाँस्दै खेलाडीहरूलाई एसियन गेम्स र वर्ल्ड च्याम्पियनसिपमा पदकले नेपाललाई कति अर्थ राख्छ भन्ने खासै थाहा नभएको बताए ।
एसियाडको पहिलो सहभागितामै पदक दिलाएकी एरिका भने यो पदकमात्र नभएर नेपाल अरू धेरै पदकका लागि योग्य रहेको बताउँछिन् ।
उनी भन्छिन्, “मैले ल्याएको पदक नेपालले डिजर्भ गर्छ । नेपालले योभन्दा अझै धेरै डिजर्भ गर्छ । त्यसका लागि मैले अझै कठिन मेहनत गर्न आवश्यक छ । म अझै अघि बढ्नुपर्छ । नेपालका अरू खेलाडीहरू पनि पदकका लागि योग्य छन् । आशा छ, आउने दिनहरूमा उनीहरूले पदक ल्याउनुहुन्छ ।”
‘प्रशिक्षकलाई खेलाडीले आफ्नो बेस्ट दिनुभन्दा ठूलो उपलब्धि हुँदैन’
मनमैजु डोजोबाट नेपाल पुलिस क्लब हुँदै राष्ट्रिय टिमसम्मको यात्रा तय गरेकी एरिकालाई श्रेष्ठले प्रशिक्षण दिन थालेको धेरै भएको छैन । राष्ट्रिय टिममा परेपछि नै हो एरिकाले प्रशिक्षणमा श्रेष्ठको साथ पाएकी । प्रशिक्षक श्रेष्ठ एरिकाको पदकले निकै खुसी छन् । नहुन पनि कसरी उनैको प्रशिक्षणकै फल त हो, एरिकाको पदक ।
“यो पदकले मेरो करियरमा पनि एकदमै महत्त्व राखेको छ । एक हिसाबमा प्रशिक्षकले पाउने सफलता भनेको यही त हो नि, आफ्नो खेलाडीले बेस्ट देओस् भन्ने । एसियाली खेलकुदमा इतिहास बनाएका छौँ । यो रेकर्ड अर्कोपटक ब्रेक हुनपर्छ भन्ने लागेको छ । अर्को पटक गोल्ड जितियोस्,” श्रेष्ठ भन्छन् ।
तर, उनी समग्र करातेबाट भने सन्तुष्ट छैनन् । करातेमा नेपालले आश गरिएअनुसार पदक ल्याउन नसकेको श्रेष्ठको बुझाइ छ ।
उनी भन्छन्, “करातेमा तीन–चारवटा मेडल आउँछ भन्ने मेरो व्यक्तिगत आश थियो । टाइसिटमा अलिकति ब्याड लक पनि भयो । जति पनि करातेमा खेलाडीहरू हारे, विश्व वरीयताको शीर्ष स्थानमा रहेकासँग हारे ।”
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी