काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादव गएको आइतबार कुलेश्वरमा रहेको साथीको घर पुगेछन् । साथीको घरमा चिनी रहेनछ । उनको साथीले भाइलाई चिनी लिन बजार पठाएछन् । तर, बजारमा चिनी भेटिएनछ ।
सोमबार सार्वजनिक लेखा समितिको बैठकमा उनी आफ्नो अनुभव यसरी सुनाउँदै थिए ।
हुन पनि जब चाडपर्व सुरु हुन्छ, बजारमा दैनिक उपभोग्य वस्तु पाइँदैन । पाए पनि महँगीले छोइनसक्नु हुन्छ ।
अझ चिनी त प्राय: नेपालीको भान्सामा दैनिकरूपमा प्रयोग हुन्छ । दसैँ, तिहार र छठमा चिनीको माग बढी नै हुने गर्छ । घर परिवारमा मात्र हैन, चिया पसल र मिठाइ पसलमा पनि चिनीको प्रयोग बढी नै हुन्छ ।
तर, अहिले साना किराना पसलमा चिनी पाइँदैन । बजारमा चिनी नपाएपछि साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडमा चिनी किन्नेको भिड लाग्ने गरेको छ । दुई किलो चिनीका लागि सर्वसाधारण घण्टौँ लाइन बस्नुपर्ने अवस्था छ ।
अहिले साल्ट ट्रेडिङले बिक्री गरिरहेको चिनी पनि सरकारले कुलेश्वरको एक गोदामबाट बरामद गरेको ७० हजार किलो चिनी हो ।
साल्ट ट्रेडिङले प्रतिकिलो ९७ रुपैयाँमा चिनी बिक्री गरिरहेको छ । अहिले चिनी खरिदका लागि सर्वसाधारण दैनिक लामो लाइन बसिरहेका साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारी बताए । दैनिक कति बिक्री गर्ने भनेर कोटा भने लागु नगरिएको उनले बताए ।
“बिहान १० बजेबाट ५ बजेसम्म चिनी बिक्री हुने छ । हामीसँग चिनीको स्टक त कमै छ । तर, दुई/दुई किलोका दरले बिक्री गर्दा दसैँसम्म पुग्ला,” उनले भने, “हामीले ग्राहकलाई बजारमा पठाउन सक्दैनौँ । उपभोक्तालाई मात्रै दिने हो ।”
सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्न स्वीकृति दिएको छ । तर, अहिलेसम्म कसले चिनी आयातको गर्ने भन्ने अत्तोपत्तो छैन । चिनी आयात गर्न स्वीकृति पाएको भए पनि अहिलेको मूल्यमा महँगो पर्ने सूचना अधिकारी राजभण्डारी बताउँछन् ।
योबाहेक मन्त्रालयले सरकार–सरकारबीच (जीटूजी) सम्झौता गरेर चिनी आयात गर्ने पहल पनि गरिरहेको छ । तर, यस्तो सम्झौता अनुसार चिनी आयात गर्ने सम्भावना कम भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुर बताउँछन् । भारतले चिनी निर्यात रोकेपछि समस्या भएको उनी बताउँछन् ।
“अहिले साना पसलमा चिनी नभएको जानकारी आइरहेको छ । हामीले सस्तोमा चिनी आयात गर्न सक्ने देश भनेको भारत हो । तर, भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । त्यसले समस्या निम्तिएको हो । हामीले आयातका लागि पहल गरिरहेका छौँ,” उनले भने, “व्यापारीहरूले जहिले पनि आवश्यकता अनुसार ल्याउन सक्ने व्यवस्था छ । तर, महँगो भएर अहिले चिनी आयात भएको छैन ।”
अन्य देशबाट आयात गर्दा महँगो पर्ने भएकाले व्यावसायीले चिनी आयात गर्न नसकेको उनी बताउँछन् ।
तर, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ केही व्यापारीले गर्दा अहिले बजारमा चिनीको कालोबजारी भएको बताउँछन् । “११ जना व्यापारी वा व्यक्तिको कारण चिनीमा समस्या भएको हो । ८५ रुपैयाँमा पाउने चिनी उहाँहरूको कारणले १५० पुर्याइएको छ,” उनले भने, “छिमेकी देश भारतबाट साइकलबाट ल्याएर बोरामा चिनी भरेर उनीहरूले मूल्य बढाएका छन् । मूल्य बढाउन चिनी लुकाइएको हो । यसमा मन्त्री र मन्त्रालयले हस्तक्षेप गर्नुपर्छ ।”
मन्त्री भन्छन्– सापटी मागेर बजार पठाउँछौँ
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पनि सार्वजनिक लेखा समितिको बैठकमा कोकाकोला र पेप्सीसँग पछि फिर्ता गर्नेगरी सापटी मागेर भए पनि बजारमा चिनीको अभाव हुन नदिने बताए ।
“कोकाकोला र पेप्सी कम्पनीहरूले चिनी होल्ड गरेर राखेका छन् । त्यो चिनी पैँचो देऊ दसैँ तिहार छठलाई काम चल्छ, उत्पादन सुरु भएपछि हामी खरिद गरेर तिर्छौं भनेर कुरा गरिरहेका छौँ । मार्केटमा चिनीको अभाव हुँदैन, अभाव हुन दिदैनौँ,” मन्त्री रिजालले भने, “चिनीको सस्तो बजार भारत हो । यसपालि उत्पादन कम भएकाले धान, चाम र चिनी निर्यात रोक्यो ।”
भारतले आवश्यकता परे चिनी दिने भन्दै पत्र लेख्न लगाएको तर आग्रह गरेपछि चिनी नदिएको पनि मन्त्री रिजालले सुनाए । नेपाललाई ५० हजार टन चिनीले पुग्ने अवस्था देखेर त्यती नै चिनी माग गर्दै भारत सरकारलाई पत्र लेखेको उनको भनाइ छ ।
“निर्यात बन्द गरेको भए पनि हामीलाई आवश्यकता परे पत्र लेख्न भनेको थियो । हामीले ५० हजार टन चिनी माग गर्दै पत्र पनि लेख्यौँ । अहिले आएर नपाउने अवस्था भयो । १० हजार टन ल्याउने कोसिस गर्छौं । तर, त्यो पनि भन्न सकिँदैन भनेको छ,” उनले भने ।
सानातिना पसलमा महँगो भएर बेच्न नसकिने अवस्थाका कारणले पसलहरूले चिनी नराखेको हुन सक्ने उनको भनाइ छ । तर, बजारमा अनुगमनलाई तीव्रता दिइएको उनले बताए ।
समितिकै बैठकमा साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले भारतले निर्यात बन्द गर्दा समस्या भएको बताइन् ।
“चिनी आयातमा टेन्डर माग भए पनि महँगो भएकै कारण कुनै कम्पनीले भाग लिँदैनन् । हामीले चिनीको मूल्य बढाएर बेच्न पनि मिल्दैन । विश्वमा चिनीको साइकल हेर्दा हरेक तीन वर्षमा उत्पादन घटेको देखिन्छ । अनि कसरी चिनी ल्याउने र उपभोक्तालाई बेच्ने ?,” उनले भनिन् ।
चिनी अत्यावश्यक वस्तु नभए पनि चार्डपर्वमा माग अत्यधिक हुने गरेको मन्त्रालयका प्रवक्ता ठाकुर बताउँछन् । तर, जीटूजी प्रक्रियाको प्रक्रिया सफल भए बजारमा प्रयाप्त मात्रामा चिनी हुने उनको भनाइ छ । जीटूजी प्रक्रिया सफल भए दसैँअघि नै चिनी आयत गर्न सकिने उनको भनाइ छ । मंसिरदेखि भने आन्तरिक मिलहरू चल्ने भएकाले त्यसपछि प्रयाप्त चिनी उपलब्ध हुने ठाकुर बताउँछन् ।
होलसेलमा नै चिनी छैन भनेपछि अहिले किराना पसलहरूले पनि चिनी बेच्न छोडेको नेपाल खुद्रा व्यापार संघका उपाध्यक्ष नरेशबाबु शाहीले बताए । सरकारले चिनी ल्याएर दिए व्यापारीले तोकिदिएकै मूल्यमा चिनी बिक्री गर्ने उनले बताए ।
एक हप्ता अगाडि उनले प्रतिकिलो ११० रुपैयाँ चिनी बिक्री गरेको पनि बताए । तर, बजारमा १५० देखि १६० सम्म चिनीको मूल्य परेको जानकारी आफूलाई आएको उनले बताए ।
“मैले पहिलेको स्टक चिनी प्रतिकिलो ११० रुपैयाँ बिक्री गरेँ । तर, बजारमा १५० देखि १६० सम्म चिनीको मूल्य पुगेको जानकारी आएको छ । अहिले बजारमा चिनी नै पाउने अवस्था छैन,” शाहीले भने ।