site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

दसैँ नेपालीको साझा चाड बन्न पुगेको छ । विभिन्न समुदाय र अब त परिवारले पनि बेग्लाबेग्लै तरिकाले दसैँ मनाउन थालेका छन् तर दसैँ नै नमनाउने नेपाली बिरलै भेटिएलान् ।

धेरै नेपाली विशेषगरी युवा जनसङ्ख्या आफ्नो गाउँ नगरबाहिर बस्छन् । उनीहरू दसैँमा आफ्नै परिवार भएका ठाउँमा फर्कन्छन् । यसैले दसैँका बेला सार्वजनिक यातायातमा बढी नै चाप पर्नु स्वाभाविकै हो ।

परन्तु, अहिलेसम्म सरकारले गरेका प्रयत्नहरू कहिल्यै यात्रा सुरक्षित र सुविधाजनक बनाउन पर्याप्त भएको देखिएको छैन । बर्सेनी सरकारले दसैँका मुखमा केही गरेजस्तो त गर्छ तर त्यसबाट यात्रु खासै लाभान्वित भने हुँदैनन् ।

यस वर्ष पनि सरकारले दसैँ अगाडि भाडा नबढाउनेदेखि घोषणा गरेको छ । सडकका खाल्टाखुल्टी पुर्नेजस्ता टालटुले काम पनि सुरु गरेको छ । राजमार्गहरूमा प्रहरीको ‘चेकजाँच’ बढेको छ ।  

यातायात व्यवसायीको सिन्डिकेट सकियो भनिन्छ तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा नबढाई ‘अग्रीम बुकिङ’ सुरु नगर्ने अड्डी कसेको थियो । सरकारको पहलमा वार्ता भएपछि  २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने निर्णय सार्वजनिक भएको छ ।

त्यसो त सरकारले यात्रुको सुविधाका लागि सेना, प्रहरी र विद्यालयका बसहरूसमेत परिचालन गर्ने बताएको थियो । यातायात व्यवसायीसँग कुरा मिलेपछि बसको सङ्ख्या थप गर्ने निर्णय कार्यान्वयन नहुने हो किरु  जे भए पनि यात्रुको चापअनुरूप सुविधा थपिएला भनेर विश्वास गर्ने आधार छैन ।   

लामो दूरीका यात्रा अहिलेभन्दा सुरक्षित र सुविधापूर्वक भए यसका लागि सरकारको सराहना गर्नुहुन्थ्यो । परन्तु, विगतमा जस्तै खाल्टाखुल्टी जस्ताको तस्तै रहने, प्रहरीको चेकजाँच चालकको कागजपत्रमा केन्द्रित हुने र भाडा दर मौकाअनुसार तय हुने सम्भावना नै बढी छ ।

काठमाडौंबाट बाहिरिने मुख्य नाका नागढुंगादेखि अगाडिको सडक जीर्ण अवस्थामा छन् । मर्मतत सुधारको नाममा सुरु गरिएका काम कहिले सकिने हो कुनै टुंगो छैन । न कामले गति लिएको देखिन्छ न स्थगित नै हुन्छ ।

फलस्वरूप, लामो दूरीको यात्रा सधैँ नै कष्टकर हुनेगरेको छ र यात्रुको चाप बढेपछि थप सास्ती हुन्छ । त्यसमाथि राजमार्गको क्षमताभन्दा बढी भार बोेकेका मन्द गतिमा घिस्रिने ठूला मालवाहक ट्रकहरूले त्यस्तो सास्ती थप बढाउने गर्छन् ।  

सडक तत्काल फराकिलो बनाउन सकिँदैन । यस्तै मालवाहक ठूला ट्रकहरू गुडाउन मिल्ने वैकल्पिक सडक पनि छैन । यसैले यात्रुको सुरक्षा र सुविधा बढाउने उपाय व्यवसायी, चालक र प्रहरीका साथै यात्रुको व्यवहारमा सुधार गर्नेगरी यातायात व्यवस्थापनमा सुधारमात्रै हो । 

प्रहरीले खचाखच यात्रुले भरिएको गाडी रोकेर चालकसँग कागजपत्रको बहानामा लेनदेनको मोलतोल गर्नमात्रै छाडे पनि उकुसमुकुस कम हुन्छ । प्रहरीको चेकजाँच कम्तीमा दसैँका बेला ‘दस्तुर’ उठाउन होइन यात्रुको सुविधा र सुरक्षामा केन्द्रित होस् ।

यातायात व्यवसायीले पनि दसैँकै बेलामा मौका छोप्ने मानसिकता त्याग्नुपर्छ । यात्रुको बाध्यताको दोहन गर्न छाडेर उचित भाडामा सुरक्षित र सुविधाजनकरूपमा यात्रा गराउने कर्तव्य पालना गर्नुपर्छ । सडक र सवारी साधनको क्षमताले धान्नेगरी मात्रै यात्रु चडाउन चालकलाई यातायात व्यवसायी महासंघले निर्देश गरोस् ।

सके सधैँका लागि नभए पनि दसैँदेखि छठसम्मका लागि ठूला मालबाहक सवारीलाई यात्रुको चाप कम हुने निश्चित समयमा मात्र सञ्चालन गर्ने तालिका लागु गरेर यो समस्या केही कम गर्न सकिन्छ । बितेका वर्षहरूमा यसको अभ्यास भएको पनि हो । 

यस्तै, सडकका खाल्डा पुर्ने काम झारा टराइमा सीमित गरिनु भएन भने मर्मतसुधारको काम पनि यस अवधिका रोकेर ठूला मेसिनहरू सडकबाट हटाउनुपर्छ । यतिमात्र गर्न सके पनि सडक यातायात विशेषगरी काठमाडौं आउनजान केही सुविधा हुन्छ । जनसाधारणको सुविधामा पनि सरकारले ध्यान दिने अपेक्षा गर्नु अन्यथा त नठानिएला नि !    

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro