site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालगञ्जमा निकालियो सद्भाव र्‍याली

काठमाडौं । सामाजिक तथा धार्मिक सद्भावका लागि नेपालगञ्जमा मंगलबार बृहत् सद्भाव र्‍याली निकालिएको छ । सोमबार बसेको सर्वदलीय बैठकको निणर्यअनुसार धार्मिक सहिष्णुता कायम गर्न बृहत् सद्भाव र्‍याली निकालिएको हो ।

सामाजिक सद्भाव नेपालगञ्जको पहिचान भएकाले यसलाई अझै प्रगाढ बनाउन विभिन्न धर्मगुरुहरूसहित नेपालगञ्जमा सद्भाव र्‍याली निकालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नेपालगञ्जको बीपी चोकबाट सद्भाव र्‍याली निकालिएको हो । र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । जिल्लाका राजनीतिक दल, नागरिक समाजका अगुवा समेतले सामाजिक तथा धार्मिक सद्भावलाई थप बलियो बनाउन आम नगरबासी र जिल्लाबासीमा अपिल गरेका छन् ।

सामाजिक सञ्जालको दुरुपयोग गर्दै केही व्यक्तिहरुले स्टाटस पोस्ट गरेको विषयमा बादबिबाद भएपछि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय भेला बोलाइएको थियो ।

कुनै पनि व्यक्ति, संघसंस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मविरुद्ध हुने गरी कुनै पनि सामाजिक सञ्जालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमको संकेत नगर्न तथा जातीय, धार्मिक सद्भावमा खलल पुर्‍याउने कानुनविपरीतका कुनै पनि गतिविधि नगर्न स्थानीय प्रशासनले अपिल गरेको छ ।

कोही कसैबाट कानुनविपरीतका यस्ता गतिविधि भएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्