site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
पैसा लिएर सिनेमा नखेल्ने पुरानै प्रवृत्ति : सरोकारवाला भन्छन्– समस्या बाहिर ल्याउनु हुँदैन
तस्बिर : निश्चल बस्नेतको फेसबुकबाट ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका पदाधिकारीले पारिश्रमिकको लेनदेन र समयका विषयमा कलाकार र निर्माताबीच समस्या रहेको स्वीकार गरेका छन् । यो समस्या लामो समयदेखि रहेको उनीहरूको भनाइ छ । यस्ता घटनाले चलचित्र क्षेत्र नै बदनाम भइरहेको उनीहरूको गुनासो छ ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला यस्तो समस्या नेपाली चलचित्र उद्योगमा सुरुदेखि नै रहेको बताउँछन् । विभिन्न कारणले समस्या सतहमा नदेखिएको उनको बुझाइ छ । “यस्तो समस्या नेपाली चलचित्र उद्योगमा आजको होइन, सदियौँदेखिको हो,” उनी भन्छन्, “पहिला दबाएर राख्थे, अहिले बाहिर आएको हो । अनमोल (केसी) र सुदर्शन (थापा)को घटना बाहिर आएर धेरैलाई नयाँ लागेको मात्रै हो ।”

यस्ता समस्या बाहिर आउँदा समग्र चलचित्र उद्योगलाई नै दीर्घकालीन असर पर्ने उनी बताउँछन् । “यस्ता घटना बाहिर आउँदा कलाकार र चलचित्र उद्योगलाई नै असर गर्छ,” उनी भन्छन्, “ठगी, विश्वासघात र आपराधिक घटना बाहिर आउँदा कलाकारप्रति दर्शक तथा आमजनताले हेर्ने नजर नै फरक पर्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

काम गर्ने क्रममा भएका घटना बाहिर ल्याउन नहुने उनको धारणा छ । सम्बन्धित संघसंस्थाको मध्यस्थतामा समाधान खोज्नुपर्नेमा उनी जोड दिन्छन् । संस्थाभित्र समाधान खोज्नुपर्छ भन्ने जागरुकता नरहेको अध्यक्ष मोहन बताउँछन् ।

केही कलाकारमा समस्या रहेको चलचित्र निर्माता संघले जनाएको छ । अग्रिम ‘पेमेन्ट’ लिएर चलचित्रमा काम गर्ने र कतिपयले पूर्वनिर्धारित समयमा कामै नगर्ने समस्या रहेको सो संघका अध्यक्ष नवल खड्का बताउँछन् ।

Global Ime bank

“केही कलाकारमा निर्मातासँग पारिश्रमिक लिने तर काम नगर्ने समस्या देखिएको छ । हामीले पनि केही यस्ता समस्या संघमै मिलाएर पनि पठाएका छौँ,” अध्यक्ष खड्का भन्छन्, “यो समस्या विशेष गरी ‘शो कल्ड स्टार’मा छ, अरू धेरैमा छैन ।”

धेरै निर्माता एकै व्यक्तिका पछि लाग्दा पनि समस्या देखिने गरेको उनको भनाइ छ । आफूसँग रहेको समयका लागि मात्र कलाकारले निर्मातासँग सम्झौता गर्नुपर्ने उनी बताउँछन् ।

“निर्मातालाई दुःख दिने, समयमा काम गर्न नआइदिने प्रवृत्ति हाम्रोमा छ,” नवल भन्छन्, “साइनिङ अमाउन्ट लिएपछि जसरी पनि आफूले दिएको समयमा सेटमा पुग्नुपर्छ ।”

आफू व्यस्त भए सुरुमै निर्मातालाई जानकारी गराउनुपर्नेमा उनी जोड दिन्छन् । “समय छैन भने सुरुमै स्पष्ट भन्नुपर्छ । कुन मितिबाट आउन सक्ने हो, सुरुमै भन्नुपर्छ । कहिलेकाहीँ दुई/चार दिन तलमाथि हुनु छुट्टै कुरा हो, तर महिनौँसम्म भ्याउँदिनँ भन्ने र तिम्रो काम गर्दिनँ भन्न सम्झौता भइसकेपछि पाइँदैन,” उनी भन्छन्, “चलचित्र छायांकनको सँघारमा आएर काम गर्दिनँ भन्दा निर्माताले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्छ ।”

अरू कलाकार, प्राविधिक, छायांकनका लागि चाहिने क्यामेरालगायत उपकरणका निम्ति निर्माताले रकम दिइसकेको हुन सक्ने उनको भनाइ छ । “छायांकनमा जाँदासम्म निर्माताको ५० लाखदेखि एक करोड रुपैयाँसम्म खर्च भइसकेको हुन्छ,” उनले भने ।

अप्ठ्यारोमा परेका व्यक्ति संघसंस्थामा आए प्रहरी र अदालतसम्म पुग्नै नपर्ने नवल बताउँछन् । “सुदर्शन थापाकै सिनेमा सेटमा पुगेपछि विपीन कार्कीले विविध कारणले छोडे, पछि निर्माता संघले कार्यालयमा दुवै पक्षलाई बोलाएर छायांकनको मिति नै तोकेर सहमति गराएर पठायौँ,” उनी भन्छन्, “समस्या छ, कहिलेकाहीँ काम गर्ने क्रममा यस्तो समस्या हुन्छ पनि । तर, सम्बन्धित संघसंस्थामा जाने हो भने अड्डा–अदालत जानै पर्दैन । आफ्नै संस्थाभित्र सहमति जुट्छ ।”

चलचित्र निर्माता तथा निर्माता संघका महासचिव सुनीलकुमार थापा केही कलाकारमा समयका विषयमा समस्या देखिएको बताउँछन् । समयसँगै जोडिएर अरू विषय देखापर्ने उनको भनाइ छ ।

“केही कलाकारमा समस्या रहेको देखियो । हिजो (अनमोल केसी पक्राउ)को घटनाले पनि यसलाई पुष्टि गर्छ । तर, समस्या प्रोफेसनल रूपमा काम नगर्दा भइरहेको छ,” सुनील भन्छन्, “हिजोको घटनामा पनि पैसा लेनदेनको विषय हो । सिनेमा खेल्छु भनेर भनिएका अनमोल र निर्माण कम्पनीबीच सिनेमा खेल्ने सम्झौता भएको रहेनछ, त्यसैले समस्या भएको हो ।”

सिनेमा खेल्छु भन्नेले पूरै स्क्रिप्ट पढेर चित्त नबुझेसम्म पारिश्रमिक लिन नहुने र निर्माताले पनि कागजी सम्झौताबिना रकम दिन नहुनेमा उनको जोड छ । “हिजोकै घटनामा पनि कागजी सम्झौता भएको भए यो समस्या नै आउने थिएन,” उनी भन्छन्, “काम गर्दा कानुनी रूपमा पनि सचेत भएर गर्नुपर्छ । पूर्ण व्यावसायिक हुने हो भने कानुनी रूपमा पनि कमजोरी हुँदैन । र, पछि समस्या आउने सम्भावना पनि कम हुन्छ ।”

आपराधिक विश्वासघात गरेको आरोपमा गएको शुक्रबार नायक अनमोल केसी पक्राउ परेका थिए । सिनेमामा अभिनय गर्ने भनेर १० लाख रुपैयाँ लिएर अन्तिममा धोका दिएको भन्दै चलचित्र निर्माण कम्पनीले उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । आइतबार साँझ हाजिरी जमानीमा अनमोल रिहा भइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement