काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापाले आफ्नो छवि धुमिल पार्ने प्रयास भएको गुनासो गरेका छन् । चलचित्र 'रावायण'को निर्देशनको जिम्मा पाएका थापाले सामाजिक सञ्जालमार्फत आइतबार राति आफ्नो डेढ दशकको संघर्षपछिको छविलाई धमिल्याउन प्रयास भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।
"मेरो डेढ दशक लामो संघर्षपछिको छविलाई सहजै धमिल्याउन खोज्ने कार्यको प्रतिकार गर्न चाहन्छु । चलचित्रको मुख्य पात्रको बिना कुनै सहमति पक्कै पनि चलचित्र निर्माणको तयारी म बाट हुन सक्दैन । कागजी सहमति मात्रै हुनुपर्छ भन्ने छैन व्यवहारिक र दरिलो मौखिक सहमति मै चलचित्र 'रावायण'को निर्माण कार्य अगाडि बढेको हो," उनले भनेका छन् ।
साथै उनले कलाकारलाई मोटो पारिश्रमिकभन्दा आफूलाई तयार पार्न पनि सुझाव दिएका छन् । "अन्त्यमा मोटो पारिश्रमिकको माग गर्नुभन्दा पहिला आफूलाई पूर्णतया तयार गर्न र तोकिएको समय सीमाभित्र आफूलाई हरेक पक्षबाट तयार गरी निर्माण टिमलाई आफ्नो कारण पर्न सक्ने क्षतिबाट जोगाउन विनम्र अनुरोध गर्दछु," उनले भनेका छन् ।
अभिनेता अनमोल केसी पक्राउ परेपछि उनी विवादमा मुछिएका हुन् ।
हेर्नुहोस् थापाको भनाइ छ:
मेरा सम्पुर्ण सुभचिन्तक तथा आलोचकहरुमा नमस्कार
म चलचित्र निर्देशक सुदर्शन थापा विगत डेढ दशक देखी चलचित्र क्षेत्रमा "मेरो एउटा साथी छ " बाट हालसम्म चलचित्र निर्देशनमा सक्रिय छु । म चलचित्र निर्माण तथा निर्देशन गर्नु बाहेक अन्य कुनै पनि पेशामा संलग्न छैन त्यसैले कुनै पनि फिल्म गर्नुअघि मैले मेरा दर्शकलाई र लगानीकर्ताको सुरक्षालाई नै विशेष ध्यान दिने गरेको छु । मेरो निर्देशनमा निर्माण हुन लागेको पछिल्लो चलचित्र "रावायण" मेरा लागि अहिलेसम्मकै एक महत्वपूर्ण प्रोजेक्टको रुपमा मैले लिएको छु ।
अन्य अर्थतन्त्रका क्षेत्र संगै चलचित्र क्षेत्र पनि धरासायी भएको समयमा एउटा ठुलो क्यानभासको चलचित्रको परिकल्पना गर्नु आफैंमा चुनौतीपूर्ण छ । यो विषम परिस्थितिमा एउटा सुन्दर चलचित्र निर्माण गर्ने सपना देख्नु एक मात्रै मेरो निजि स्वार्थ थियो । कुनै पनि स्कृप्टमा मेरो पुर्ण चित्त बुझाई र यसको भबिस्यबारे आत्मविश्वास नभई त्यसको निर्माण प्रक्रियामा जाने अन्धाधुन्धको निर्णय गर्ने गल्ती म बाट अहिलेसम्म भएको छैन र हुने पनि छैन । तसर्थ मेरो पछिल्लो निर्माणाधीन चलचित्रका लागि मैले लामो समय खर्चिएको छु र कलाकार तथा प्राविधिकको छनौटमा समेत विशेष ध्यान दिएको छु । मैले कुनैपनी प्रोजेक्ट गर्दा मेरो टिम र कलाकारलाई काम गर्नका लागि सहज वातावरण निर्माण गरिदिने गरेको छु र अभ्यासका लागि भरपुर समय पनि दिने गरेको छु । तर हरेक योजना सम्पन्न गर्नका लागि हामी संग निश्चित समय रहन्छ र त्यो समयसिमा भित्र हामीले सम्पन्न गर्नुपर्ने हुन्छ ।
मेरो अहिलेसम्मको ब्यवसायिक यात्रामा मैले नयाँ तथा पुराना धेरै कलाकार संग सहकार्य गरिसकेको छु । कलाकारको ब्यवसायीक प्रक्रिया र पाउनु पर्ने पारिश्रमिकको अधिकारका विषयमा म सधैं सचेत रहने गरेको छु तसर्थ कसैलाई दबाब र अभावमा काम गराउने मेरो मनसाय छैन र मेरो ईमानलाई सुहाउँदैन पनि । तर पछिल्लो समय सामाजिक संजालमा आएका अभिव्यक्ति र सञ्चारमाध्यममा लेखाईएका एकतर्फी समाचारप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
मेरो डेढ दशक लामो संघर्षपछिको छविलाई सहजै धमिल्याउन खोज्ने कार्यको प्रतिकार गर्न चाहन्छु । चलचित्रको मुख्य पात्रको विना कुनै सहमती पक्कै पनि चलचित्र निर्माणको तयारी म बाट हुन सक्दैन । कागजी सहमति मात्रै हुनुपर्छ भन्ने छैन ब्यवहारिक र दरिलो मौखीक सहमति मै चलचित्र "रावायण" को निर्माण कार्य अगाडी बढेको हो ।
बेतुक र मनमौजी अभिव्यक्ति दिएर मिडियामा सस्तो प्रचारबाजि गर्नु भन्दा नैतिकता र मानवताको धर्मलाई आत्मसात गर्दै आफ्नो पेशागत धर्म र मर्यादामा रहन कलाकार भाईबहिनिलाई मेरो ब्यक्तिगत सुझाव दिन चाहन्छु । र अन्त्यमा मोटो पारिश्रमिकको माग गर्नु भन्दा पहिला आफुलाई पुर्णतया तयार गर्न र तोकिएको समयसिमा भित्र आफुलाई हरेक पक्षबाट तयार गरि निर्माण टिमलाई आफ्नो कारण पर्न सक्ने क्षतिबाट जोगाउन विनम्र अनुरोध गर्दछु ।