site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेमा ओलीले ‘चाहेकै व्यक्ति’मा सहमति नजुटेमात्रै प्रतिस्पर्धा 

काठमाडौं । एमाले प्रदेश अधिवेशन चलिरहँदा नेतृत्वले ‘चाहेकै व्यक्ति’का नाममा सहमति जुटाउन हदैसम्मको कसरत गर्ने र नसकेपछि मात्र चुनावी प्रतिस्पर्धाका निम्ति ढोका खुल्ने गरेको छ ।

नेतृत्वले चुनावी प्रतिस्पर्धा टार्न खोज्दा अधिवेशन पनि लम्बिने गरेका छन् ।  वाग्मती प्रदेशमा प्रदेशमा अधिवेसन सुरु भएको चार दिनपछिमात्रै चुनाव भयो । वाग्मतीमा असोज ८ गते सुरु भएकोे अधिवेशनमा १२ गते मात्रै निर्वाचन भयो । 

प्रदेश अधिवेशन ८–९ गतेका लागि तोकिएको थियो ।  तर, सहमतिका नाममा अधिवेशन थप ३ दिन लम्बियो ।  ९ गते बन्दसत्र सकिएपछि चुनावका लागि प्रतिनिधिहरुले थप तीन दिन कुर्नुप¥यो ।


अध्यक्षका आकांक्षी केशव पाण्डे, केशरबहादुर बुढाथोकी, सानु श्रेष्ठले उमेदवारी फिर्ता लिए । केन्द्रीय सदस्यद्वय कैलाश ढुंगेल र कृष्ण दाहालबीच प्रतिस्पर्धा भयो ।  अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले चाहेकै व्यक्ति कैलाश ढुंगेल निर्वाचित भए । ढुंगेलले ६९६ मत ल्याउँदा प्रत्याशी दाहालले ४३९ मत पाए । 

जब दाहालका प्रस्तावक र समर्थकलाई फिर्ता बोलाउन खोजियो... 

एमालेको वाग्मती प्रदेशमा चुनाव हुनु नै कतिपय नेताहरुले ‘उपलब्धि’का रुपमा बुझेका छन् ।  वाग्मतीको बाछिटा अरु प्रदेशमा पनि सर्ने भएकाले सहमतिमै नेतृत्त्व छान्ने अनेकौँ प्रयास भयो ।  एमाले वाग्मतीका एक पोलिट्ब्यूरो सदस्य नेतृत्वको अनेकौं उपाय असफल भएर टार्नै नसकेपछि मात्रै चुनाव भएको बताउँछन् । 

“निर्धारित कार्यतालिकाअनुसार चुनाव हुनुपर्थ्यो । कार्यतालिका सार्दा प्रतिनिधिहरुले सास्ती बेहोर्नुपर्‍यो,” ती नेता सुनाउँछन्, “नेतृत्वले सबै प्रकारको विधि अपनाउँदा पनि टार्नैै नसकेपछि मात्रै चुनाव भयो ।”

वाग्मतीमा अध्यक्ष ओलीसँग असन्तुष्ट पक्ष र तत्कालीन १० बुँदे सहमति पक्षधरहरुको साथ पाएका अध्यक्ष प्रत्यासी कृष्ण दाहालको उमेदवारी फिर्ताका लागि अध्यक्ष मण्डलले निकै प्रयत्न गरेको थियो । प्रदेश अध्यक्षमा चुनाव लड्दा केन्द्रीय सदस्य पनि गुम्ने भन्दै उमेदवारी फिर्ता लिन उनलाई नेताहरुले आग्रह गरेका थिए । 

ढुंगेललाई अध्यक्ष बनाउने प्रस्ताव अध्यक्ष मण्डलको थियो । दाहालले उक्त प्रस्ताव स्वीकार गरेनन् । “लुम्बनीमा केन्द्रीय सदस्यलाई लैजानुभयो । नेतृत्वले चाहेको व्यक्ति भएकाले उहाँलाई लैजाने । उहाँको पद पनि यथावत राख्ने । मैले चुनाव लड्न नपाउने ?” दाहालले अध्यक्ष मण्डलको प्रस्तावमा रोष प्रकट गरे ।

सहमतिका लागि दबाब दिइएपछि उनले तत्कालीन प्रदेश अध्यक्ष केशव पाण्डेलाई छाड्न तयार रहेको बताए ।  तर, उनको नाममा सहमति हुन सकेन । ढुंगेललाई नै अध्यक्ष बनाउन नेतृत्वले अडान लिइरह्यो । तर, दाहालले आफ्नो नाममा सहमति नभए चुनावमा जाने अड्डी कसे ।
 
पार्टी सत्ताले निर्वाचन टार्न दाहालका प्रस्तावक र समर्थकलाई नै आफ्नो प्रस्ताव र समर्थन फिर्ता लिन दबाब स्रोतको दाबी छ ।

“निर्वाचन रोक्न अन्तिम अस्त्रका रुपमा समर्थक र प्रस्तावकलाई बोलाइयो । उनीहरुलाई फिर्ता गराउने प्रयास भयो । आफैँसँग रहने व्यक्तिहरुलाई समर्थक र प्रस्तावक बनाएकाले उनीहरुको त्यो चाल सफल भएन । त्यो पनि सम्भव नभएपछि मात्रै निर्वाचन भएको हो,” प्रत्यासी दाहालले आफू नजिकका प्रतिनिधिहरुलाई सुनाए ।  

त्यसो त, अध्यक्ष ओलीले सर्वसम्मत रुपमा नै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए ।  उनले अधिवेशनको उद्घाटन सत्रमा चुनावमा नै गए पनि प्यानल नबनाउन र बनाए उमेदवारी खारेजीको चेतावनीसमेत दिएका थिए । 

तर, उनको निर्देशनको उल्लंघन भयो ।  पदाधिकारी लगभग प्यानल नै बन्यो ।  वाग्मती अधिवेशनको चुनावमा पनि प्यानलको लिस्ट नै बाँडिएको थियो ।  पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन प्रतिस्पर्धालाई सहज गर्नुपर्ने थियो । 

प्रतिस्पर्धाको आकांक्षा राख्दै उमेदवार बन्नुलाई सकसको विषय बनाइनुले राम्रो सन्देश नदिएको अर्का एक नेता बताउँछन् । 

“एमालेमा उमेदवार बनेर टिक्न सहज छैन । उमेदवार खडा हुनु नै एक खालको जित भन्ने खालको वातावरण सिर्जना गर्नु राम्रो कुरा होइन । यसले राम्रो सन्देश दिएन,” ती नेता भन्छन्, “प्रतिनिधिहरु चुनाव होस् भन्ने चाहन्छन् । नेतृत्वलाई चुनाव गराउन सकस हुनु राम्रो भएन ।”

हाल कर्णाली र कोसी प्रदेशमा पनि एमालेको अधिवेशन जारी छ ।  नेतृत्त्वका छान्न निर्वाचन प्रक्रिया तोकिएको छ । सर्वसहमतिका नाममा मतदान विलम्ब भइरहेको छ । प्रतिनिधिहरु अलपत्र छन् । निर्वाचन गराउन नेतृत्त्वलाई सकस भइरहेको छ । 

“वाग्मतीको जस्तो अधिवेशन लम्बिएको छैन । प्रक्रियाका कुराले केही ढिला भएको हो । कोशीमा आज निर्वाचन हुन्छ,” पोलिट्ब्यूरो सदस्य विशाल भट्टराई दाबी गर्छन् । 

कोसी प्रदेशको उद्घाटन असोज १२ गते भएको हो ।  बन्द सत्र सकिएर नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा मैदानमा छन् । 

उनीहरु पार्टी अध्यक्षको निर्देशनविरुद्ध प्यानल नै बनाएर चुनावमा होमिएका छन् ।  ढकालको प्यानलमा  सचिव शैलेश लामा र उपसचिव खेम नेपाली छन् ।  खतिवडाको प्यानलमा राजकुमार भण्डारी सचिवको उमेदवार छन् । उपसचिवमा जलवर्षा राजवंशी र देवान राईले उमेदवारी दिएका छन् ।

उपाध्यक्षमा टिका चेम्जोङको मात्रै उमेदवारी छ ।  पार्टी नेतृत्वले प्रदेशको नेतृत्व खतिवडालाई दिन चाहेको छ ।  उनको नाममा सहमतिका लागि ढकाललाई अरु जिम्मेवारी दिन प्रस्ताव नेतृत्वले राखेको थियो ।  तर, ढकालले चुनाव नै नलड्ने अडान लिएका छन् । उनी पूर्वराष्ट्रपति विद्या भण्डारी निकट मानिन्छन् ।

“पार्टी नेतृत्वले घनश्याम खतिवडालाई अध्यक्ष बनाउन चाहेको छ । उनका नाममा सहमति गर्न प्रयास भएको हो,” एक नेताले बाह्रखरीलाई भने, “ढकालजी केन्द्रीय सदस्य हुनुहुन्छ । अहिले उमेदवारी छाडिदिनुुस् । अरु पद लिनुस् भन्दा मान्न तयार हुनुभएन । त्यसैले चुनाव हुँदैछ ।”

त्यसभन्दा अघि नै उद्घाटन भएको कर्णालीको अधिवेशन पनि अलपत्र छ । कर्णाली अधिवेशन १० र ११ तोएिको थियो ।  अधिवेशन थप तीन दिन लम्बिसकेको छ ।  निर्वाचन तालिकाअनुसार मतदान जारी छ । अध्यक्ष ओली र महासचिव पोखरेलले मीनबहादुर शाहीलाई अध्यक्ष बनाउन चाहेका छन् । 

उनीसँग स्थायी कमिटी सदस्य यामलाल कँडेललगायतका साथ पाएका पोलिट्ब्यूरो सदस्य गुलाबजंग शाह मैदानमा उत्रिएका छन् ।  त्यस्तै प्रकाश रोकाया पनि मैदानमा छन् ।  शाह र रोकायालाई उमेदवारी फिर्ता गराउन नेतृत्वले प्रयास गर्यो । प्रयास असफल भएपछि मात्रै चुनाव तय भएको नेताहरु बताउँछन् । त्यहाँ पनि प्यानल नै बनाएर उमेदवार चुनावी मैदानमा छन् । 

लुम्बिनी प्रदेशको अधिवेशनमा पनि चुनाव भयो । वाग्मतीमा पनि चुनाव भयो भने अन्यत्र पनि चुनाव हुने देखिएको छ ।  गण्डकीको अधिवेशन भने भोलिबाट सुरु हुँदैछ । पोलिट्ब्यूरो सदस्य अरुण नेपाल प्रदेश अधिवेशनमा भएको निर्वाचनले तरंग सिर्जना गरेको बताउँछन् । 

“हाम्रो पार्टी जमेको पोखरीजस्तो भएको थियो । जमेको पोखरीमा विभिन्न ढंगले तरंग सिर्जना गर्न सकिन्छ,” उनी भन्छन्, “पार्टीको आन्तरिक जीवनमा लोकतान्त्रिक अभ्यास गर्नुपर्छ । यो चुनावले तरंग ल्याएको छ ।”

चुनावमा हार–जित स्वभाविक भएकाले त्यसलाई सामान्य ढंगले लिनुपर्ने उनी बताउँछन् । उनी अब पार्टीको आन्तरिक लोतकतन्त्र ट्रयाकमा आउने विश्वास पनि गर्छन् ।

“पार्टीको आन्तरिक जीवन ट्रयाकमा आउँदैछ भन्ने लाग्छ । लोकतन्त्र भनेको चुनाव गर्नु मात्रै त होइन,” उनी भन्छन्, “केही समयदेखि पार्टीको लोकतान्त्रिक अभ्यास कमजोर भएको थियो । अब चुनावले ट्रयाकमा आउँछ । यसले क्षति गर्दैन ।”
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro