site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिवेदनहरूमाथि छलफल जारी, आजै नयाँ नेतृत्व चयनको तयारी

विराटनगर । नेकपा (एमाले) कोसी प्रदेशको राजधानी विराटनगरमा जारी प्रथम अधिवेशनमा राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । अधिवेशन शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । अधिवेशनले शनिबार नै नयाँ नेतृत्व चयन गर्नेछ । प्रतिवेदनहरूमाथि छलफल गर्न विभिन्न सातवटा समिति बनाइएको छ ।
 
बन्दसत्र सुरु भएसँगै पार्टीका प्रदेश अध्यक्ष तुलसी प्रसाद न्यौपानेले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गरेका छन । आर्थिक प्रतिवेदन पार्टीका आर्थिक विभाग प्रमुख पुष्प कँडेलले प्रस्तुत गरेका छन् । प्रतिवेदनमाथि सुझाव तथा संशोधनहरू परे त्यसलाई पारित गराएर नेतृत्व चयन प्रक्रिया सुरु हुने अध्यक्ष न्यौपानेले बताए ।

अध्यक्ष पदमा विनोद ढकाल र घनश्याम खतिवडाले आफ्नो दाबी प्रस्तुत गरेका छन् । अध्यक्ष न्यौपाने र उपाध्यक्ष टिकाराम चेम्जोङले भने दाबी छाडेका छन् । केन्द्रीय नेतृत्वले सहमतिमा समिति गठन गर्न आग्रह गरका छन् । बन्दसन्त्र संचालन गर्न कोसी इन्चार्ज रघुवीर महासेठको संयोजकत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । यसमा पार्टीका स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यहरू छन् । 

Argakhachi Cement Island Ad

अधिवेशन आयोजक मूल समितिले जनाएअनुसार अध्यक्ष मण्डलमा अग्नि खरेल, शेरधन राई, हिक्मतकुमार कार्की, डा.शिवमाया तुम्बाहाम्फे, राजेन्द्र गौतम, भगवती चौधरी, जगदिश कुसियैत, राम राना मगर, पर्शुराम मेघी गुरुङ र सुनिता बराल सदस्य छन् ।

एमाले प्रदेश अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी ९९७ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले पाँचजना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन गर्नेछ ।
 
यसैबीच, आज बिहान विराटनगरमा हावाहुरीसहित परेको वर्षाका कारण समूहगत छलफल भने प्रभावित भएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्