
काठमाडौं । साविक विजेता काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि हिसुब थपलियालाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको छ । काठमाडौंले शुक्रबार सामाजिक सञ्जालमार्फत हिसुबलाई मार्की खेलाडीमा अनुबन्धित गरेको जनाएको हो ।
हिसुबले भदौ चौथो साता भएको म्यानमारसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलबाट नेपालका लागि ‘डेब्यू’ गरेका थिए । उनी जावलाखेल युथ क्लबबाट घरेलु लिग खेल्दै आएका छन् ।
यसअघि काठमाडौंको मार्की खेलाडीमा गोलकिपर विकेश कुथु थिए ।
एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदै छ । प्रतियोगिताको दोस्रो संस्करणका लागि अक्सन आगामी शनिबार हायात होटेलमा सञ्चालन हुँदै छ ।
एनएसएसलको दोस्रो संस्करणमा कुल ९ टिमले प्रतिस्पर्धा गर्दै छन् । यसअघि १० टिमले खेल्ने तय भए पनि अन्तिम समयमा विराटनगर सिटी एफसीले नखेल्ने भएको हो ।