
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लिग लिडर प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लब टोखाले बराबरी खेल्दै अंक बाँडेका छन् ।
बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा १–१ को बराबरी खेल्दै भगवती र प्लानिङले अंक बाँडेका हुन् ।
भगवतीले टोलीका उज्वल राईको गोलमा पहिलो हाफमा अग्रता लिएको थियो । उज्वलले आठौँ मिनेटमा पेनाल्टी बक्सभित्र टोलीका आयुस तिम्सिनाले प्रहार गरेको ‘ओभरहेड किक’मा प्राप्त रिबाउन्डमा गोल गरे ।
पहिलो हाफमा प्राप्त अग्रता भवगतीले भने जोगाउन सकेन । प्लानिङले ५३औँ मिनेटमा फागुराम थारुको गोलबाट पुनरागमन गर्यो । उनले टोलीका अभिनाश थापाको क्रसमा बललाई पोष्टको बायाँ बारको ‘टप कर्नर’मा जाली चुमाए ।
यसपछि दुवै टोलीले अग्रतालाई बढाउन नसकेपछि खेल बराबरीमा टुंगिएको हो ।
बराबरीसँगै दुवै टोली शीर्ष डिभिजननजिक पुगेका छन् । लिग लिडर प्लानिङ ब्वाइजले तेस्रो बराबरी खेल्दै कुल १० खेलमा सात जित र तीन बराबरीसँगै २४ अंक बनाएको छ । भगवतीले चौथो बराबरी खेल्दै कुल १० खेलमा ६ र चार बराबरीबाट २२ अंक बनाएको हो ।
अब दुवै टोलीलाई शीर्ष डिभिजन बढुवाको लागि एक जित आवश्यक छ । दुवै टोलीले तीन खेल खेल्न बाँकी छ ।