
महेन्द्रनगर (धनुषा) । नेकपा (एमाले) मधेस प्रदेश समितिको यही असोज २४ र २५ का लागि तय भएको अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको छ ।
जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिट ब्युरो सदस्यद्वय लीलानाथ श्रेष्ठ र जुलीकुमारी महतोले संयुक्तरूपमा नारा र लोगो सार्वजनिक गरेका हुन् ।
अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिका लागि एमाले सरकार’ तय गरिएको छ । लोगोमा हँसियाभित्र मधेस प्रदेशको सांस्कृतिक एवं धार्मिक विविधिताको सम्मान, उद्योग, कृषि, पर्यटनजस्ता क्षेत्रमा तीव्र विकासको आवश्यकता झल्काउने स्थल तथा क्षेत्रलाई राखिएको एमालेले जनाएको छ ।
पत्रकार सम्मेलनमा पार्टी सचिव एवं मधेस प्रदेश इन्चार्ज भट्टराईले यही असोज २४ र २५ गते जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने र अधिवेशनले २१० सदस्यीय प्रदेश कमिटी चयन गर्ने जानकारी दिए ।