काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)ले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्ष निकालेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकबाट यस्तो निष्कर्ष निकालिएको हो ।
धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन नदिन सचेत हुनुपर्नेमा जोड दिइएको छ । देशका विभिन्न भागमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बल्लिने गतिविधि देखिएका बारे बैठकमा छलफल गरिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
देशमा अराजकताको संकेत देखिएको भन्दै उनले त्यसलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको बताए । उनले देशमा सामाजिक सद्भाव कायम गर्न सबैले गम्भीरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको जानकारी गराए ।
आन्दोलनरत राहत शिक्षकसँग संवाद गरी समस्याको समाधान गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल गरिएको उनले बताए । संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षसँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्ने बैठकको निष्कर्ष रहेको उनले सुनाए ।
“राहत शिक्षकको मागको सम्बन्धमा, उनीहरूले उठाएका प्रश्नहरू, गुनासोहरूको सन्दर्भमा राम्रोसित छलफल गरेर संवादको माध्यमबाटै हल गर्नुपर्छ भन्नेमा सबभन्दा बढी छलफल भयो । शिक्षा विधेयक संसद्मा दर्ता भएको छ, त्यो विधेयकका बारेमा पनि हामीले गम्भीर ढंगले छलफल गर्यौँ र त्यसलाई सकेसम्म सबै सम्बन्धित पक्षहरूसँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्छ भन्ने छलफल गर्यौँ,” उनले भने, “देशका विभिन्न भागमा देखापरेको छ, धार्मिक सद्भाव खल्बलिने कुरा, साम्प्रदायिक सद्भाव खल्बलिने कुरा । त्यसमा सद्भाव कायम गर्नुपर्छ । नेपालीहरूमा सामाजिक सद्भावको स्थिति पहिलेदेखि धेरै राम्रो छ । सामाजिक सद्भावलाई कायम गरिराख्नुपर्छ । अराजकताका संकेतहरू देखापरेका छन् । त्यसलाई हामीले बेलैमा गम्भीरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ । बेलैमा हरेक कुरालाई सम्बोधन गरियो भने समाधान भएर जान्छ, समयमै समाधान गर्ने पहलकदमी लिइएन भने विकराल रूप लिन सक्छ । त्यसैले बेलैमा सचेत भएर यी समस्याहरू समाधान गर्नुपर्छ भनेर हाम्रो छलफल भयो ।”
उनले अगाडि भने, “जनतासँग माओवादी विशेष रूपान्तरण अभियानमा सामाजिक सद्भाव कायम राख्न सबै पार्टीपंक्ति गम्भीरतापूर्वक लाग्नुपर्यो । बाहिर पनि छलफल चलाउनुपर्यो । नेतृत्व लिनुपर्यो । सामाजिक संघ–संस्थासँग अन्तरक्रिया गर्ने पनि भनिएको छ ।”