काठमाडौं । प्रहरीले सुन किन्ने बहानामा चोरी गर्ने र चोरी गरिएको सुन खरिद कार्यमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न सातभन्दा बढी स्थानमा स्कुटरको प्रयोग गरी सुन पसलमा गएर सुनका गरगहना किन्ने बाहना बनाएर चोरी गरेको आरोपमा प्रहरीले ३३ वर्षीया रत्न महर्जन र २२ वर्षीय सुमन पुतुवारलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–९ की महर्जन सुन चोरी गर्ने महिला हुन् । काठमाडौंकै तारकेश्वर तारकेश्वर–४ पुरानो गुहेश्वरीका पुतुवार स्कुटर चालक हुन् ।
यसैगरी उनीहरूले चोरेको सुन खरिद गरेको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ ३६ वर्षीय विरेन्द्र बिकलाई पक्राउ गरेको छ । उनी हाल काठमाडौंस्थित नयाँबजार बस्दै आएका थिए ।
यसैगरी सुन खरिद गरकै आरोपमा भारत महाराष्ट्र प्रदेशको सोलापुरका ३७ वर्षीय हनुमन्त फाँडे पनि पक्राउ परेका छन् । उनी हाल काठमाडौंस्थित माछापोखरी बस्दै आएका थिए ।
प्रहरीले घटनास्थलमा प्रयोग भएका लत्ता कपडा र स्कुटर बरामद गरेको छ ।