
काठमाडौं । नेकपा (एमाले)को कर्णाली प्रदेशको अधिवेशन बुधबारबाट सुरु हुँदै छ । सुर्खेतको सिटी हलमा हुने अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।
अधिवेशनमा ६०४ जना प्रतिनिधिले भाग लिनेछन् । जसमा सुर्खेतबाट ११२, जाजरकोटबाट ७५, दैलेखबाट ७४, कालिकोटबाट ६५, हुम्लाबाट ४८, जुम्लाबाठ ४८, डोल्पाबाट ३९, मुगुबाट ३३, रुकुमपश्चिमबाट २३ गरी ५५४ प्रतिनिधि छानिएका छन् । त्यस्तै, २२ वटा मोर्चा संगठनका ५० जनाको प्रतिनिधित्व रहने छ ।
अधिवेशनले पाँचजना पदाधिकारीसहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ ।
आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले कमिटी सर्वसम्मत होस् भन्ने चाहेको बताए ।
“सकेसम्म सर्वसम्मत होस् भन्ने हो । भएन भने निर्वाचन विधिबाट अघि बढ्छौँ,” उनले भने ।
सर्वसम्मत नभए निर्वाचन हुने र त्यसमा प्यानल भने बनाउन नपाइने उनको भनाइ छ । गुटले पार्टी विभाजनको दिशातिर लग्ने भएकाले प्यानल भने बन्न नदिइने उनको भनाइ छ ।
“स्वतन्त्ररूपमा इच्छा जाहेर गर्न सक्छन् । नोमिनेसन दिन सक्ने छन् । तर, म फलानाको टिम भन्न पार्टीले अनुमति दिएको छैन,” उनले भने ।