काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले आठौँ राष्ट्रिय लोक दोहोरी पुरस्कार प्रदान गरिने भएको छ ।
समितिद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा आगामी असोज ११ गते २४ विधामा पुरस्कार वितरण गरिने जानकारी दिइएको छ । साथै, दीर्घ साधना सम्मानलगायत आठ अन्य विभिन्न विधामा पनि सम्मान प्रदान गरिनेछ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापामगरले पुरस्कार समग्र दोहोरी क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूलाई प्रदान गरिने बताए । उपत्यका समन्वय समितिले विभिन्न आठ विधामा सम्मानित हुने व्यक्तित्वहरूको नामसमेत सार्वजनिक गरेको छ ।
‘लाइफ टाइम अचिभमेन्ट’ बाट कृष्णसुधा ढुंगानालाई, संस्थागत स्रष्टा सम्मानबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपानेलाई र ‘दशक स्रष्टा सम्मान’ एकनारायण भण्डारीलाई प्रदान गरिने अध्यक्ष थापामगरले जानकारी दिए ।
राजकुमार रायमाझीलाई लोक पत्रकारिता सम्मान, ‘बाबरी फूलको बोट’लाई सदाबहार लोकगीत सम्मान, कृष्ण आँसुलाई लोकदोहोरी कलाकार साँझ सम्मान र सपना रोकालाई लोकदोहोरी उपत्यका विशिष्ट सम्मान प्रदान गरिने भएको छ । लोकदोहोरी सम्मान विशेष सम्मान शिव हमाललाई प्रदान गरिनेछ ।