
काठमाडौं । बलिउड सिनेमा ‘जवान’ त हेर्नुभएकै होला, सिनेमा नहेरे पनि यसका प्रचार सामग्री टिजर, ट्रेलर र गीत हेर्नुभएकै होला । हेर्नुभएको छ भने त्यहाँ रेल, रेल स्टेसन र त्यसभित्रका दृश्य याद गर्नुभएको छ ? वास्तवमा ‘जवान’मा देखिने रेल, रेल स्टेसन र केही ठूलठूला भवन सक्कली होइनन् । सिनेमाका लागि बनाइएका सेट हुन्, जहाँ ‘जवान’ खिचिएको थियो ।
‘जवान’का लागि सेट बनाउँदै गर्दा र बनाइसकेपछिका केही तस्बिरहरू–
कथाअनुसारको लोकेसन नपाइने र पाइए पनि आफूअनुकूल प्रयोग गर्न नसकिने कारण बलिउड र हलिउडमा प्रायः सेट बनाएर सिनेमा खिच्ने प्रचलन छ । रेल स्टेसन, विमानस्थल, जेलजस्ता सिनेमामा धेरै प्रयोग हुने सिन खिच्नका लागि भारतमा सेट डिजाइन गरिन्छ । यसका लागि बलिउड सिनेमाले करोडौँ रुपैयाँ खर्चिन्छन् ।
नेपालमा पनि सेट बनाएर सिनेमा खिच्दै नखिचिने त होइन, तर यो अभ्यास निकै कम छ । चार वर्षअघि रिलिज भएको चलचित्र ‘रणवीर’को एक्सन सिनका लागि निर्माता दीपेन्द्र रेग्मीले सेट डिजाइन गराएका थिए । काठमाडौंको खाद्य संस्थानमा सेट बनाइएको थियो । सेट निर्माण र सुटिङमा मात्र करिब ५० लाख रुपैयाँ खर्चिएको उनी स्मरण गर्छन् । नेपालमा सेट बनाएर सिनेमा खिच्नु लगानीका हिसाबले निकै जोखिमपूर्ण हुने उनको भनाइ छ ।
यहाँ निकै थोरै मेकरले मात्र सेट निर्माण गरेर सिनेमा खिच्ने गरेको दीपेन्द्र बताउँछन् । “सिनेमाका लागि नेपाल आफैँमा सानो बजार हो । सानो बजार भएकाले मेकर सधैँ कसरी लगानी कम गर्ने भन्नेमा केन्द्रित हुन्छन्,” दीपेन्द्र अगाडि थप्छन्, “त्यसैले सकेसम्म नेचुरल सिनमै सिनेमा खिच्नुपर्छ भन्नेमा मेकरको जोड रहन्छ ।”
नेपालमा धेरै सिनेमाका धेरै सिनका लागि प्राकृतिक लोकेसन नै उपयुक्त हुने गरेको उनी सुनाउँछन् । स्पेस र क्यामेरा एंगलका लागि ठाउँ पुग्ने/नपुग्ने मात्र समस्या हुने गरेको उनको अनुभव छ ।
चलचित्र ‘प्रसाद’मा एउटा लोकदोहोरीको सिन छ । उक्त सिन खिच्नका लागि सेट बनाइएको थियो । त्यसका लागि करिब साढे तीन लाख रुपैयाँ खर्च भएको निर्देशक दिनेश राउत सम्झिन्छन् ।
“सेटमा सिनेमा खिच्न रियल लोकेसनमा भन्दा धेरै सहज हुन्छ । रियल लोकेसनमा सिनेमा खिच्दा निर्देशकको दिमागमा बनेको भिजुअलजस्तो नआउन सक्छ,” दिनेश भन्छन् ।
रियल लोकसनको स्पेस र उपलब्ध गराइने समयको दबाबमा खिच्दा सोचेको जस्तो सिन निकाल्न कठिन हुने गरेको उनी बताउँछन् । रियल लोकेसन सानो हुँदा क्यामेरा एंगल, लाइटिङलगायत पक्षमा समस्या हुने उनको अनुभव छ ।
कुनै अपार्टमेन्ट वा घरमा सिनेमा खिच्नु परे उक्त घरका व्यक्ति पनि त्यहीँ हुन्छन् । उनीहरूले पनि आफ्नो दैनिक काम त्यहीँबाट गर्ने भएकाले बिहान–बेलुकाको सिन खिच्न विशेष गरी कठिन हुने गरेको चलचित्रकर्मी बताउँछन् । सामान टुटफुट हुने, घर तथा कोठाको कलर बिग्रने, होहल्ला हुने, सुरुमा करार गरेको भन्दा धेरै समय लागेमा अप्ठ्यारो हुनेजस्ता समस्या रियल लोकेसनमा झेल्नुपर्दा तनाव हुने गरेको मेकरको भनाइ छ ।
स्टारडम भएका कलाकार छन् भने भीडभाड हुने स्थानमा खिच्न निकै कठिन हुन्छ । भीड नियन्त्रण गर्नै समस्या हुँदा सिनेमा खिच्न गाह्रो हुने गरेको निर्देशक राउत बताउँछन् । उनी भन्छन्, “लोकप्रिय कलाकार छन् भने भीड जम्मा हुँदा पनि सिनेमा खिच्न कठिन हुन्छ । सिंक साउन्डमा सिनेमा खिच्न पनि कठिन हुन्छ । त्यसैले सेट बनाएर काम गर्न सकियो भने बिनाअवरोध र दबाब काम गर्न सकिन्छ ।”
निर्देशक प्रमोद कँडेल बजेट मात्र नेपालमा सेट डिजाइनमा काम नहुनुको मुख्य कारण नभएको बताउँछन् । निर्देशक, निर्माता र प्रोडक्सन डिजाइनमा रहेको ज्ञानको अभाव यसको मुख्य कारण भएको उनको धारणा छ ।
बजार सानो छ, लगानी उठ्दैन भनेर सेटको परिकल्पना नै नगर्नु आत्मसमर्पण भएको उनको टिप्पणी छ । कथाले सेट डिजाइनको माग गरे त्यसमा सम्झौता गर्न नहुनेमा उनको जोड छ ।
“अरूले सानो कुरालाई ध्यान दिँदै जाँदा राम्रो सिनेमा बनाउँछन् । तर, हाम्रोमा यति सानो कुरा त हो भनेर छोड्दै छोड्दै जाँदा पूरै सिनेमा नै नराम्रो बन्छ,” प्रमोद भन्छन्, “कथाले नै सेट डिजाइन माग्दैन भने सेट बनाएको औचित्य हुँदैन । तर, सेट चाहिन्छ भने त्यसमा कम्प्रमाइज गर्नु हुँदैन ।”
सेटमा खिचिएको सिनेमाको गुणस्तर नै अर्कै हुने उनी बताउँछन् । गुणस्तरीय सिनेमाले आफैँ बजार खोज्ने उनको भनाइ छ ।
“सेटमा सिनेमा खिच्न थालेपछि गुणस्तरीय हुँदै जान्छ र गुणस्तरीय सिनेमाको बजार आफैँ विस्तार हुन्छ,” प्रमोद भन्छन्, “सुरुमै बजार छैन भन्दै गुणस्तरमा सम्झौता गर्छौँ, जब चलचित्र नै गुणस्तरीय बन्दैन भने कसले हेर्छ, कसले किन्छ ?”
चलचित्र गुणस्तरीय बनाउन थाले कर्पोरेट हाउसले लगानी गर्ने र कम्पनी मोडलमा गएपछि यसको विस्तार सहज हुने उनको धारणा छ ।
“बलिउडले १९८० मा जसरी सिनेमा बनाउँथ्यो, अहिले हामी त्यसरी नै बनाइरहेका छौँ । कम्पनी मोडलमा नगएसम्म राम्रा चलचित्र बनाउन सकिँदैन,” उनी भन्छन्, “जबसम्म राम्रा सिनेमा बन्दैनन्, तबसम्म सिनेमाको बजार विस्तार हुँदैन ।”
बलिडमा २०० करोडभन्दा धेरैको बजार छैन भनिरहेका बेला ‘बाहुबली’ले रिस्क लिएर भीएफएक्समा खर्च गरेको उनी उदाहरण दिन्छन् । गुणस्तरीय सिनेमा बनाए त्यसको बजारमा समस्या नहुने प्रमोद स्पष्ट पार्छन् ।
नेपालमा अहिले पनि चार घण्टाका लागि प्रोडक्सन मेनेजरले समय लिएर दिनभर सिनेमा खिच्ने गरेको तितो यथार्थ रहेको उनी सुनाउँछन् ।
“अहिले पनि खिच्न एक दिन लाग्ने सिन छ भने हाम्रो प्रोडक्सन म्यानेजरले चार घण्टामा सकिन्छ भनेर सम्बन्धित व्यक्तिसँग अनुमति मागेको हुन्छ । चार घण्टामा नसकिएपछि उसले कराउन थाल्छ,” उनी भन्छन्, “लोकेसन दिने मान्छेले कराउन थालेपछि निर्देशक र कलाकार दुवै प्रेसरमा काम गर्न बाध्य हुन्छन् । कलाकारले बढी टेक लिन थाल्यो भने सुरुदेखि नै निर्देशक प्रेसरमा हुन्छ ।”
राम्रो काम नभएको र कलाकारको मुड नभए पनि जबरस्ती लोकेसनकै कारण सिन फाइनल गर्नुपर्ने अवस्थामा नेपाली सिनेमा खिच्ने गरिएको उनी बताउँछन् । आफ्नै सेट भए यस्तो समस्या झेल्नु नपर्ने प्रमोदको बुझाइ छ । बजार विस्तारकै लागि भए पनि सेट डिजाइन गरेर गुणस्तरीय सिनेमा बनाउनुपर्नेमा उनी जोड दिन्छन् ।