site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहाडजत्रो क्षुद्रग्रहबाट नमुना लिएर फर्कियो नासाको अन्तरिक्ष यान, नयाँ तथ्य पत्ता लाग्ने विश्वास
Tiktok banner adTiktok banner ad

काठमाडौं । नासाको ओसिरिस–रेक्स मिसनको अन्तरिक्षयान आइतबार पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दै छ । तीव्र गतिमा पृथ्वीतर्फ आउँदै गर्दा यसमा आगोका झिल्का देखिने छ ।

तर, तातोबाट जोगाउने सिल्ड र प्यारासुट खुलेर गति सुस्त हुँदै यो अमेरिकाको उटाह राज्यको पश्चिमी मरुभूमिमा अवतरण हुने छ । अवतरण सफल भएमा यो नासाको विशेष सफलता हुने छ ।

यो यानको क्याप्सुलमा ‘बेन्नु’ एस्टेरोइड अथवा क्षुद्रग्रहबाट संकलन गरिएको थोरै धुलोको नमुना छ । करिब ५०० मिटर अग्लो पहाड आकारको अन्तरिक्ष चट्टान ‘बेन्नु’ले पृथ्वी र जीवनको अस्तित्वबारे थप नयाँ कुरा सतहमा ल्याउने ठानिएको छ ।

ओसिरिस–रेक्स मिसन सन् २०१६ को सेप्टेम्बर ८ मा फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स बेसबाट प्रक्षेपण भएको थियो । सन् २०१८ मा बेन्नुको अक्षमा पुगेको यानले उचित ठाउँबाट त्यहाँको धुलो वा माटोको नमुना संकलन गर्न दुई वर्ष त्यसको परिक्रमा गरेको थियो ।

सन् २०२० को अक्टोबर २० मा नमुना संकलन गरेको थियो । सन् २०२१ को मेमा यानले पृथ्वीतर्फ फिर्ता आउने यात्रा थालेको थियो । अहिले यो अन्तरिक्ष यान वायुमण्डलमा फेरि प्रवेश गरेर असफल अवतरण गरी नमुना उपलब्ध गराउन सक्ने जटिल समयमा पुगेको छ ।

करिब ७ वर्षको ६.४ अर्ब किलोमिटरको ओहोरदोहर दुरी पार गरी आइतबार स्थानीय समयअनुसार ६ बजेर ४२ मिनेटमा अवतरण हुने बताइएको छ । क्याप्सुल सुरक्षितरूपमा जमिनमा पुगेपछि यसलाई टेक्सासको जोन्सन स्पेस सेन्टरमा पठाइने छ । त्यहाँ नै यसले बेन्नु क्षुद्रग्रहबाट ल्याएको नमुनाको अध्ययन हुने छ ।

बेन्नु क्षुद्रग्रह करिब साढे ४ अर्ब वर्षअघि सौर्यमण्डलको उत्पत्ति भएका बेला बनेको सबैभन्दा पुरानो क्षुद्रग्रहमध्येको हो । यसमा विभिन्न खनिज, तत्त्व र पानीसमेत रहेको अनुमान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro