
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारत जाने भएका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘इन्डो–प्यासिफिक आर्मी चिफ कन्फ्रेन्स’मा सहभागी हुन उनी भारत जान लागेका हुन् ।
अमेरिकी र भारतीय सेनाले संयुक्तरूपमा आयोजना गर्ने सम्मेलन असोज ८ देखि १० गतेसम्म सञ्चालन हुने छ ।
प्रधानसेनापतिसँगै भारत जाने प्रतिनिधिमण्डलमा उपरथी योगराज शर्मा, महासेनानी वसन्तबहादुर गौतम र प्रमुख सुबेदार रत्नबहादुर थापा रहेका छन् ।
“२०८० भदौ २३ गतेको नेपाल सरकारको निर्णयबमोजिम नियमितरूपमा सञ्चालन हुँदै आएको यस कन्फ्रेन्समा प्रधानसेनापति सहभागी हुन लाग्नुभएको हो,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानसेनापतिको टोली असोज ११ गते स्वदेश फर्कने तय भएको छ ।
“नियमितरूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रममा सहभागिताबाट मित्रराष्ट्रहरूका सैन्य सङ्गठनहरूकाबीच सुमधुर सम्बन्ध विकासमा थप मद्दत पुग्ने एवं मानवीय सुरक्षाका साझा चासोका विषयहरूमा ज्ञान र अनुभवको आदान प्रदानका लागि उपयुक्त अवसर प्राप्त हुने विश्वास नेपाली सेनाले लिएको छ,” विज्ञप्तिमा भनिएको छ ।