काठमाडौं । काठमाडौं महानगरपालिकाले आन्दोलनका लागि विद्यालय बन्द गरे कानुनी कारबाही गर्ने चेतावनी दिएको । महानगरले आज एक सूचना जारी गर्दै पठनपाठन बन्द गरी आन्दोलनमा जाने शिक्षकलाई कारबाही गरिने जनाएको हो ।
"सामूहिक सौदाबाजीका माग राख्ने र पुरा गर्ने आफ्नै विधि, प्रक्रिया र पद्धति हुन्छन् । कोरोनाले प्रभावित भएको शिक्षा क्षेत्र सुधारोन्मुख रहेका बखत विद्यालय बन्द गरेर पुनः शैक्षिक क्षति गर्नु शिक्षकको नैतिकता र आचरणले दिँदैन," सूचनामा भनिएको छ ।
विद्यालय बन्द गर्ने र गर्न बाध्य बनाएर विद्यार्थीको पढ्न पाउने अधिकार हनन् गर्नेलाई कारबाही गर्ने महानगरको चेतावनी छ ।
विद्यालय शिक्षा विधेयकमा आफूहरूलाई विभेद गरिएको भन्दै देशभरका सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा छन् ।