site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कसरी चल्छ काठमाडौं उपत्यकाको द्रुत बस सेवा ?
SkywellSkywell

काठमाडौं । काठमाडौं उपत्यकामा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म चल्ने ‘द्रुत बस सेवा’को बुधबार उद्घाटन भएको छ । काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको शुभारम्भ गरे ।

उद्घाटनको दिन आज द्रुत सेवाका बसमा यातायातमन्त्री ज्वाला, वाग्मती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरलगायतले यात्रा गरे ।

d1-1695199108.jpg

Dabur Nepal
NIC Asia

द्रुत बस सेवाले सुर्यविनायकबाट रत्नपार्ककको यात्रा ४५ मिनेटमै पूरा गर्ने अनुमान गरिएको छ । द्रुत सेवाका बस ट्राफिक बत्तीमा समेत रोकिने छैनन् । 

द्रुत सेवाका लागि ४० सिटभन्दा बढी क्षमता भएका २५ बस बिहान ९ देखि ११ बजे र साँझ ४ देखि ६ बजेसम्म दुवै ठाउँबाट पाँच–पाँच मिनेटको फरकमा छुट्ने छन् ।

जडीबुटी, कोटेश्वर, माइतीघरको जाम कसरी छिचोल्छ ?

द्रुत बस सेवाकै लागि रत्नपार्कदेखि सूर्यविनायकसम्म निश्चित लेन बनाइएको छ । ठाउँ–ठाउँमा लेनमा रातो रङ पोतिएको छ । तर, धेरै जाम हुने ठाउँ जडीबुटी, कोटेश्वर, बानेश्वर र माइतीघरलगायतका ठाउँमा द्रुत सेवाका बस कसरी अघि बढ्छन् भन्ने आमचासोको विषय बनेको छ ।

यातायात व्यवस्था विभागका निर्देशक एवं सूचना अधिकारी ईश्वरीदत्त पनेरूले ट्राफिक जाममा द्रुत सेवाका बसलाई प्राथमिकता दिइने बताएका छन् ।

रातो ट्राफिक बत्ती बलेको अवस्थामा बस कसरी अघि बढ्छ भन्ने विषयमा उनी भन्छन्, “त्यस्तो अवस्थामा म्यानुअल्ली व्यवस्थापन गरिन्छ । कहीँनिर जाम पर्ने अवस्था आयो भने यस्ता सवारीसाधनलाई प्राथमिकता दिएर अगाडि बढाइन्छ ।”

“रोक्ने भन्दा पनि व्यवस्थापन गरिन्छ । नागरिक पनि एम्बुलेन्स्मा चढे जसरी नै सेवा पाउने भए भनेर बुझौँ,” उनले भने । 

चोकमा जाम भएका बेला अर्काेतिरका गाडीहरू रोकेरै द्रुत सेवाका गाडी नचल्ने उनको भनाइ छ ।

यातायात व्यवस्था विभागको नेतृत्वमा सडक विभाग, नेपाल ट्राफिक प्रहरी र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघलगायत निकायको संयुक्त भूमिकामा सेवा सुरु गरिएको हो ।

druta-bus8-1695199115.jpg

द्रुत बसको लेनमा अरू गाडी गए कारबाही हुने

द्रुत बस सेवाका लागि तयार पारिएको लेनमा ती बस चल्ने समयमा अन्य सवारीसाधन प्रवेश गर्न नपाइने विभागले जनाएको छ । 

“द्रुत सेवाका बस चलिरहेका बेला अत्यावश्यक सेवाबाहेकका सवारीसाधन त्यो लेनमा चल्न पाउँदैनन् । द्रुत सेवाका बसहरू मात्रै त्यो लेनमा चल्न पाउने भए । अरू बेला भने सामान्य हुन्छ,” विभागका निर्देशक पनेरूले भने ।

यसको अर्थ बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेको समयमा रातो लेनमा अन्य गाडी गए कारबाही हुने छ  । 

“सुरुमा जनचेतना फैलाउँछौँ । त्यसपछि तोकिएका सवारी साधनबाहेक अरू सवारी साधन त्यसमा प्रवेश गरे भने कारबाही हुन्छ,” पनेरूले भने ।

द्रुत सेवाका बस चलिरहेका बेला बीचको खाली समयमा लेन खाली हुँदा अन्य सवारी प्रवेश गराउन सकिन्छ या कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर कार्यदल गठन गरी अध्ययन भइरहेको विभागले जनाएको छ ।

druta-bus5-1695199113.jpg

भाडा थप लाग्ने हो?

लाग्दैन । द्रुत सेवाका बसमा पनि अन्य बसहरूमा लाग्ने जत्तिकै भाडा लाग्ने यातायात व्यवस्था विभागले जनाएको छ । “सुविधा छिटो र राम्रो मात्रै हो नागरिकलाई कुनै अन्य बोझ पर्दैन,” विभागका निर्देशक पनेरू भन्छन् ।

'रत्नपार्कबाट सबै रुटमा द्रुत बससेवा हुनुपर्छ'

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सार्वजनिक सवारी साधनलाई प्राथमिकता दिँदै द्रुत बस सेवा सबैतिर हुनुपर्ने बताएका छन् ।

“सार्वजनिक सवारी साधनलाई छुट्टै लेन चाहिन्छ भनेर महासंघले पहिलेदेखि नै आवाज उठाउँदै आएको हो । निजी गाडी, मोटर साइकल र सार्वजनिक यातायातलाई छुट्टै लेन भयो भने समयमा गाडी गन्तव्यमा पुग्छ, यात्रु अलमलिएर बस्नु पर्दैन । अहिले दुई ट्रिप लगाउने गाडीले यो व्यवस्था हुँदा ८ ट्रिप लगाउन सक्छ,” सिटौलाले भने ।

उनले अहिले प्रारम्भिक चरण भएको र सरकारले बल्ल आफूहरूको आवाज सुनेको बताए । 

“समयमा गाडी आवतजावत भयो भने निजी गाडीमा मान्छे चढ्दै चढ्दैन । सार्वजनिक सवारी साधन नै बढी चल्छ । विदेशमा पनि यात्रुवाहक सवारीसाधनका लागि छुट्टै लेन हुन्छ,” महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले  भने ।

उनले यो सुरुवात भएको र यो व्यवस्था सबैतिर लागु गर्नुपर्ने बताए । “यसलाई टिकाउन भाडा पनि समायोजन गर्ने र सबै छलफल गरेर रत्नपार्कदेखि सबै भेगमा जानुपर्छ र सार्वजनिक सवारी साधनले छुट्टै लेन पाउनुपर्छ,” उनले भने, “जनताको सार्वजनिक सवारीलाई प्राथमिकता दिने हो भने, अरूलाई समस्या होला । तर, दिर्घकालीनरूपमा यो स्थायी भयो भने सार्वजनिक सवारी समयमा आयो भने तपाईं किन मोटर साइकल चढ्नुहुन्छ, किन गाडी चढ्नु हुन्छ ।"

druta-bus1-1695199110.jpg

सरकारी अधिकारी के भन्छन् ?

नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले द्रुत बस सेवाको उद्घाटनका क्रममा बोल्दै द्रुत सेवाका बसहरूले ‘पिक एन्ड ड्रप’ गर्ने ठाउँबाहेक अन्त रोकेमा वा ट्राफिक नियम उल्लंघन गरेमा कारबाही हुने बताएका छन् । द्रुत बस सेवाका सुरक्षा संयन्त्र परिचाल गर्नुपर्ने र ट्राफिकले व्यवस्था गर्नुपर्ने कुराको प्रतिबद्धता उनले गरेका छन् । 

वाग्तमी प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयका मन्त्री लक्ष्मण लम्सालले सार्वजनिक यातायातमा सुधार नगरी आम नागरिकलाई सेवा दिन नसकिने बताएका छन् ।  उनले द्रुत बस सेवा भविष्यमा विस्तार गर्दै लैजानुपर्ने बताए ।

“अहिले शुभारम्भमा सूर्यविनायकसम्म परीक्षणका रूपमा हामीले लिएका छौँ । यसलाई भोलि एयरपोर्टसँग जोड्नुपर्ने, धुलिखेलसम्म पुर्‍याउनुपर्ने र रिङरोड भरी सञ्चाल गर्नुपर्ने हुन्छ,” लम्सालले भने ।

druta-bus2-1695199111.jpg

उनले मन्त्री, सचिव मात्रै नभएर सुरक्षा निकाय, व्यवसायी, सञ्चारकर्मी, आमनागरिक सबै सरकार भएको भन्दै सबै मिलेर यो योजनालाई सफल पार्नुपर्ने बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यो कामका लागि निकै धेरै प्रयास गर्नुपरेको बताए । उनले बिहान र साँझतिर हुने ठूलो यात्रुको चापलाई मध्येनजर गर्दै द्रुत बस सेवा सञ्चालनमा ल्याइएको बताए । यो सेवालाई थप विस्तार गर्दै लैजाने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu