
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले बोलाएको मंगलबारको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल उपस्थित हुने प्रचार गरिएको थियो । तर, दुवै नेता उक्त बैठकमा उपस्थित भएनन् । दुवैलाई डा. शेखरले आफै फोन गरेर बोलाएको समूहले बताएको छ ।
तर, प्रचार गरिए पनि दुवै नेता बैठकमा उपस्थित भएनन् । बैठकपश्चात् एक नेताले दिएको जानकारीअनुसार प्रदीप चीन गएको कारणले बैठकमा अनुपस्थित भएका हुन् ।
“आज म चीन हिँडेको, अर्को बैठकबाट उपस्थित हुन्छु भनेर प्रदीपजीले भनेको कुरा बैठकमा डा. शेखरले ब्रिफिङ गर्नुभयो,” ती नेताले भने ।
विश्वप्रकाश चाहिँ किन उपस्थित नभएको भन्ने प्रश्नमा ती नेताले अझै एक दुईवटा छुट्टै बैठक बस्न विश्वले चाहेको बताए ।
“विश्वजीले शेखर–गगन–धनराजसहितको एक दुई बैठक बसेपछि निर्णय गर्ने भनेर बैठकमा उपस्थित नभएको शेखर दाइले ब्रिफ गर्नुभएको छ,” ती नेताले भने ।
धनराजले बैठकमा भने– धेरै गलफती गर्न जरुरी छैन
बैठकमा दुई नेताहरूलाई ल्याउने विषय गलफती आवश्यक नभएको भन्दै उपसभापति तथा कानुनमन्त्री धनराज गुरुङ कड्किएको ती नेताले बताए ।
पार्टी उपसभापति तथा कानुनमन्त्री समेत रहेका धनराजले आउनेलाई जोड्दै जाने भन्दै नआउनेलाई तान्न नसकिने उल्लेख गरेको अर्का एक नेताले बताए ।
“४० लाई ६० प्रतिशत पुर्याउनुपर्छ । नयाँ साथीहरूलाई जोड्नुपर्छ,” धनराजले भनेको उद्धृत गर्दै ती नेताले भने, “तर, अरुलाई ल्याउने नाममा धेरै गलफती नगरौँ । नआउनेलाई तानेर ल्याउन सकिन्न ।”