काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संविधानसभाका अध्यक्ष स्व. सुवास नेम्वाङको भूमिका उदार नेताको रुपमा स्मरण गरेका छन् ।
नेकपा (एमाले)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘संविधान र सुवास’ कार्यक्रममा उनले नेम्वाङ उदार व्यक्ति भएको बताए । संविधानसभाबाट समयमै संविधान बनाउनुपर्ने अवस्थामा रहँदा समेत नेम्वाङले एकजना उठेर विरोध गर्दा पनि सभा रोकेको उनले सुनाए ।
“कमरेड सुवास नेम्वाङले जुन् भूमिका खेल्नुभयो, त्यो महत्वपूर्ण भूमिका हो । यद्यपि, उहाँ उदार मान्छे हो । कहिलेकाहीँ चाहिनेभन्दा बढी उदारता देखाउनुहुन्थ्यो । एउटा मान्छे उठ्दा सभा रोक्नुहुन्थ्यो,” उनले भने ।
उनले संविधान बनाउन असाध्यै राम्रो भूमिका खेलेको बताए । असन्तुष्ट पक्षलाई मिलाउन समन्वयकारी भूमिका निर्वाह गरेको उनले स्मरण गरे ।
संविधान कार्यान्वयन गर्न सकेमात्रै नेम्वाङप्रतिको श्रद्धाञ्जली हुने पनि बताए ।