
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा आइतबार पक्राउ परेका आरोपीले घटना स्वीकार गरेका छन् ।
पक्राउ परेका आरोपीको साथबाट हत्या गर्न प्रयोग गरिएको खुकुरीसमेत बरामद भएको उच्च प्रहरी अधिकारीले जानकारी दिए । चारजनाको हत्या पक्राउ परेका आरोपी एक्लैले गरेको खुलेको छ ।
उनलाई प्रहरी परिसरको विशेष टोलीले पक्राउ गरेको हो । शुक्रबार राति मिलको सुरक्षागार्डका रूपमा काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका नवीन राईको धारिलो हतियार प्रयोग गरेर हत्या भएको थियो ।
सो घटनाको अनुसन्धानका लागि प्रहरीले नवीन राईकै आफन्त पर्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो । तर, उक्त घटना दिपेन्द्रको कुनै संलग्नता नदेखिएको प्रहरीले जनाएको छ ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न उपत्यका अरापध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र राठौरको नेतृत्वमा समिति गठन नै गरेको थियो ।