site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सिमानाको साइनो

परिचयविहीन कोही हुँदैन । परिचय भन्नु नाम, काम, जात, धर्म, देश आदि । यही परिचयको पहिचानले आ–आफ्नो अलग्ग अस्तित्व स्थापित हुन्छ । नातासम्बन्ध कायम हुन्छ । अन्यथा, को के ? के थाहा !

परिचय नभएपछि, आफ्नो र अर्काको भन्ने नछुट्टिएपछि अस्तित्व पनि स्थायी रहँदैन । साइनो हुनैपर्छ । सिमाना अंकित गर्नैपर्छ । नाम–पहिचानको स्थायी चिनारी नभए चिनिँदैन कोही । सिमानाले नछुट्ट्याए कसको, कहाँसम्म र कति भन्ने तथ्य खुल्दैन ।

सिमानाले निर्धारण गरिदिन्छ आफ्नो भएको यथार्थ । खासगरी जग्गाजमिनको सिमाना अथवा भौगोलिक संरचनाको तथ्य विवरण सिमानाले गर्छ । सिमानाले सिमांकन गरिदिएपछि कुन, कसको, कतिसम्म र कहाँसम्म भन्ने छुट्टिन्छ ।

त्यसैले नचिने पनि साइनो गाँसिन्छ । साइनोले बोलाइन्छ । श्रद्धाले सम्बोधन गरिन्छ । जेठो भए दाजु, अंकल, बुबा । जेठी भए दिदी, आन्टी, ममी । ठाउँ र पदअनुसार नाम फरक हुन्छ ।

कार्यालयमा सर, मिस, अस्पतालमा डाक्टर, नर्स । पसलमा साहुजी, साहुनी । घरमा घरबेटी, बसमा ड्राइभर, खलासी । वनमा वनपाले, सुरक्षाकर्मी ।

Global Ime bank

सम्बोधन, साइनो, सिमाना र साथ जीवनका अनिवार्य सर्त हुन् । यी नभए कसरी चिनिने, कसलाई चिनाउने, को कहाँको ? यी सबै थाहै हुँदैनथ्यो । आ–आफ्नो पहिचान, मौलिकता र सनातन सिलसिला यही नाम, सिमाना, धर्मले एकप्रकारले कित्ताकाट गरिदिन्छ ।

वस्तुतः हामी सीमाहीन पनि बाँच्न सक्दैनौँ । सीमा नभए घरजग्गा कसको ? देशको नक्सा, साँध, सीमा सबै सकिन्छ । एउटै देश, एकै भूगोल त हुनै सक्दैन । उहिल्यै थियो होला, तर आज सम्भव छैन । टुक्रिएका बाइसेचौबीसे राज्य जोडेर एउटै देश नेपाल भएको हो ।

सिमानाले नै साइनो गाँस्छ । सिमानाले नै पराई र आफ्नो छुट्ट्याउँछ । सिमानालाई कसैले पनि मिच्न हुँदैन । मिच्न पाइँदैन । सीमाको उल्लंघन गरिए कानुनानुसार कारबाही भोग्नुपर्छ ।

सिमानाले नै हो देश छुट्ट्याउने । देश मिलाउने र मन दुखाउने पनि । फरक भूगोल, फरक देश, फरक नाम, थर र ठेगाना ।

तथापि, प्रविधिले विश्व टाढा होइन, एकदमै नजिक भएको छ । नजिक हुनुको फाइदा र बेफाइदा दुवै हुनेरहेछ । घरमै बसेर विश्व भ्रमण गर्न पाउनुको उपलब्धि चाखलाग्दै हुन्छ ।

जसरी नामले छुट्ट्याउँछ व्यक्ति, त्यस्तै नदीले छुट्ट्याउँछ सिमाना । पहाड, हिमाल, बाटो, वन र पर्खालले विभाजन गरिदिन्छ । कतै पिलर, खम्बा, काँडेतार, बार, कतै फूलबगैँचा सिमानाका आधार । नेपाल–भारत सिमाना ‘जंगेपिलर’ ले छुट्ट्याएको छ ।

एउटै भूगोल टुक्राटुक्रामा विभाजित गरी आफ्नो र पराईको पारिन्छ । यति नगरे’नि हुन्न । एउटै स्थान, एकै भूगोल कसैको पनि हुँदैन, हुन सक्दैन ।

मान्छेले नै बनाएका हुन् मानचित्र र सिमाना । रेखांकन, नक्सांकन र नामकरण मान्छेबाटै भएका हुन् । आफ्नो र पराई यही नाम र सिमानाले छुट्ट्याउँदो रहेछ ।

देश चिनाउने, स्वाभिमानी कायम राख्ने, सार्वभौम बनाउने यही सिमाना रहेछ । यस किसिमको भौगालिक सिमाना नभए देश चिनिँदैन ।

परन्तु, यही साँधसिमाना र पहिचानले मित्रतासँगै वैमनस्य पनि बढाउँदो रहेछ । घरझगडादेखि दुई देशबीच कटु सम्बन्ध अथवा युद्धकै रूप लिने रहेछ । पुर्ख्यौली नाम र सम्पत्तिको जगेर्नादेखि सम्बन्धविच्छेदका अस्वाभाविक घटना पनि घटित हुँदो रहेछ ।

एउटै देशभित्र कति साँध र सिमानाका तगाराहरू ! त्यसले नै हो छुट्ट्याउने, अलग्ग चिनाउने भौगोलिक क्षेत्र । त्यति नभए चिनिन्न जिल्ला, प्रदेश र स्थानीय तह ।

पहिलेका गढी र किल्लाहरू सिमानाका बलिया आधार । बडेमानको पर्खाल बनाइए । राज्यको ढिकुटी सिमाना निर्माणमै सिद्धिए कति । आफ्नो देशको पहिचानलाई जोगाउन पहिलेका शासकहरुले मित्रताको हात बढाउनेदेखि शत्रुताको रिस साँध्ने कठोर निर्णय पनि गरेका उदाहरणहरू छन् ।

सीमारक्षाकै लागि पहिले पनि कति झगडा भए । मार्न र मर्नलाई कतिले आफ्नो ज्यानको बलिदान दिए । जस्तो कि नेपाल–अंग्रेज युद्ध । नेपाल–केरुङ युद्ध । अन्य साना राज्यबीचको युद्ध सिमानाकै निम्ति भएका हुन् । जसमा कतिले ज्यान गुमाएर वीरगति प्राप्त गरे ।

सिमानाले कति देशलाई एक बनाएर जोडेको छ । कति देश टुक्राटुक्रामा बाँडिएको छ । लामो समयदेखि भारत–पाकिस्तान युद्धले दुई देशबीचको सम्बन्धमा ठूलो फाटो ल्याएको छ ।

खासगरी सिमानाका बासिन्दाहरूले सीमा मिचाइसँगै कष्टकर जीवन बिताउनु परिरहेको छ । राति सुत्दा आफ्नो देश, बिहान बिउँझिँदा अर्कै पराई देश । यस्तो हुँदा अपहेलनाका साथै अपजस र अप्ठ्यारोले आपत् पार्ने गरेको छ । यसले ती सिमानावासीको मन मात्रै दुख्दैन, देशै दुख्दो रहेछ । अखण्ड सार्वभौमिकता नै खण्डित हुन पुग्दो रहेछ ।

बाटो र राजमार्गले सम्बन्ध जोड्नुका साथै सिमाना छुट्ट्याउने काम पनि गर्छ ।

यता, नामको झनै ठूलो मान र सान छ । आफ्नो नाम अरूभन्दा पृथक् राख्न कति नयाँ र नौलो नाम राख्ने प्रतिस्पर्धा हुन्छ । नाम जुराउने सोधीखोजी हुन्छ । हुन पनि एउटै नाम हुँदा कहिले समस्या पनि आउँछ । कसैलाई फाइदा र कसैलाई बेफाइदा पनि हुन्छ ।

भगवान्को नाम राख्दा शुभ हुन्छ भन्ने मान्यताले कतिका नामहरू सोहीअनुसार राखिएको पाइन्छ । पतिपत्नीको नाम मिसाएर, उत्सव, कुनै दिन वा घटनालाई आधार मानेर नाम राखिन्छ ।

कतिपय नाम अर्थपूर्ण हुन्छन् । कतिचाहिँ बेनामका हुन्छन् । अधिकांश नाम हल्काफुल्का परम्परागत ढाँचाकै, जस्तो– फलानो बहादुर, प्रसाद, कुमार, सिंह आदि ।

कति नाम दुईथरीका हुन्छन् । बच्चा बेलामा धेरै रोगी भयो भने उसलाई रोगव्याधीले आक्रमण नगरोस् भनी काले, सार्के, रिट्ठे, ध्वाँसे आदि अनेक नाम राखिन्छ । पछि त्यही नामले चिनिँदा अरूका अगाडि नराम्रो लाग्छ । अनि, खिसीटियुरी गर्नेहरू हुन्छन् । मन पनि खिस्रिक्क हुन्छ ।

आखिर नाममा केही छैन भन्दा भन्दै नाममै त छ सबैथोक । नाम नभए प्रथमतः पहिचानै खुल्दैन । त्यसमा पनि राम्रो नाम हुँदा ऊ उच्च पदमा पुग्दा सानै अर्को हुन्छ ।

यदि, बाल्यकालमा लन्ठुदास वा हरामखोर नाम राखिएको भए पछि पनि ऊ त्यही नाममा चिनिँदा नामले कति असर पार्छ । आफैँलाई कति नमज्जा महसुस हुन्छ । मेरो बुबाआमाले कस्तो नराम्रो नाम राखिदिएछन् भनी मन दुख्छ ।

त्यसैले नाम राख्नुमा वा न्वारानमा जुरेकै नाममा पनि परिमार्जन र परिस्थितिअनुसार राम्रो नाम राख्न ध्यान दिनुपर्छ ।

त्यसपछि जिल्ला, क्षेत्र, प्रदेश, गाउँठाउँको कुरा आउँछ । सिमानाले नछुट्ट्याएको भए कसरी चिनिनु र चिनाउनु ? सिमानाले चिनाएकाले हामी चिनिएका छौँ । हाम्रो देश, आफ्नो देश भन्न पाएका छौँ ।

मेरो सम्पत्ति, जग्गाजमिन भन्ने अधिकार पाएका छौँ । नामको पहिचानले चिनिएका छौँ । जात, धर्म आदिको वर्गीकरणले छुट्टिएका छौँ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu