काठमाडौं । नेपालमा नेताले देश बिगारे भन्ने टिप्पणी कहाँ हुँदैन ? घरदेखि चिया पसल, बजारदेखि अफिससम्म हुने गफको निष्कर्ष नै यही हो । अर्थात्, नेपालको विकासको बाधक नेता हुन् । भ्रष्ट नेता र यो प्रवृत्ति नै समस्याको मुख्य कारण हो । यसकै सेरोफेरोमा करिब अढाई घण्टा चलचित्र ‘नाङ्गो गाउँ’को कथा घुम्छ ।
तर, सिनेमाको निष्कर्ष के हो ? नेता नै भ्रष्ट भए भन्ने निष्कर्ष हो ? यो थाहा पाउन सिनेमा नै हेर्नुपर्छ । यही सन्देश दिनु नै सिनेमाको मुख्य उद्देश्य हो ।
चलचित्र पत्रकारिताको बाटो हुँदै निर्देशक बनेका दीपेन्द्र लामा ‘नाङ्गो गाउँ’का लेखक पनि हुन् ।
गाउँपालिकालाई भ्रष्ट नेताले नेतृत्व गरिरहेका छन् । उसले पुल, सडक तथा राहत वितरणमा त भ्रष्टाचार गरेको हुन्छ नै, विद्यालयमा पनि आँखा गाड्छ । यो कुरा निष्ठावान् शिक्षकलाई सह्य हुँदैन ।
पद र पैसाको दम्भमा भ्रष्ट नेतामा यतिसम्म अभिमान हुन्छ, उसले आफूसँग निर्वाचन लड्न र जितेर देखाउन चुनौती दिन्छ । आफू पराजित भए निर्वाचन परिणाम घोषणा गरिएको स्थानदेखि घरसम्म सर्वांग नाङ्गै जाने उद्घोष गर्छ ।
दीपेन्द्रले राजनीतिक विषयमा चलचित्र बनाएका छन् । यो विषयमा नेपालमा सिनेमा बनाउनु आफैँमा चुनौतीपूर्ण हो । राजनीतिक विषयको सिनेमा बनाउँदा प्रोडक्सन डिजाइनमा चुक्ने सम्भावना अधिक हुन्छ । यसमा उनले चुनौती सामना छन् ।
‘नाङ्गो गाउँ’को कथा आफैँमा अर्ग्यानिक छ । लोकेसन अर्ग्यानिक छ । कलाकार स्थानीयजस्तै देखिएका छन् । स्थानीय तहमा भइरहेको राजनीति निर्देशकले हुबहु देखाएका छन् । नयाँ उमेदवारको आगमनसँगै स्थानीयमा देखिने उत्साह, अपेक्षा, राजनीतिभित्रको राजनीति र वितृष्णालाई सिनेमाले स्पष्ट देखाएको छ । यो नै ‘नाङ्गो गाउँ’को सबल पक्ष हो ।
गाउँको राजनीति कस्तो छ, सिनेमाले छर्लंग पारिदिएको छ । राजनीति कसरी र केका लागि प्रभावित हुन्छ, सिनेमाले बताइदिन्छ । युवा कति सचेत छन् र बुद्धिमतापूर्ण निर्णय कति गर्छन् वा गर्दैनन् र त्यसको प्रभाव के सिनेमाले भन्छ ।
चलचित्रमा दयाहाङ राई, शिशिर बाङदेल, मिरुना मगर, कर्मा, साम्राज्ञी आरएल शाह, बुद्धि तामाङ, अंकित खड्का, रवीन्द्र झालगायत कलाकारको अभिनय छ ।
पासाङ शिक्षकको भूमिकामा दयाहाङ छन् । गाउँपालिका प्रमुखको भूमिकामा जरी (शिशिर बाङदेल)लाई देखिन्छ । कलाकारले चरित्रलाई न्याय गरेका छन् । अंकित खड्काको अभिनयले मन लोभ्याउँछ ।
करिब साढे दुई घण्टा लामो सिनेमामा केही कमजोरी पनि छन् । वास्तवमा सिनेमा दुई ठाउँमा बन्छ । एक, सुटिङ सेटमा निर्देशकमार्फत । अर्को, सम्पादनको टेबलमा । त्यसैले सिनेमाको इडिटरलाई सेकेन्ड डाइरेक्टर पनि भनिन्छ । ‘नाङ्गो गाउँ’मा एडिटिङ कमजोर देखिएको छ ।
शंकरको पात्रले दिएको सन्देश सिनेमाको लोभलाग्दो पक्ष भन्नेलाई नकार्न सकिँदैन । तर, उसलाई बढी स्पेस दिइएको छ । सिनेमाको यो एउटा कमजोरी हो ।
सिनेमेटोग्राफीमा राम्रो काम गरिएको छ । विशेष गरी साँझ र झिसमिसेका दृश्य तारिफयोग्य देखिन्छ । ब्याकग्राउन्ड स्कोरमा क्रिएटिभ काम गरेको भनेर तारिफ गर्ने ठाउँ छैन । मौलिक कथा, गाउँमै गएर खिचिएको सिनेमामा ब्याकग्राउन्ड स्कोरमा पनि त्यो टेस्ट दिन सकेको भए निर्देशक तारिफका पात्र हुने थिए ।
‘नाङ्गो गाउँ’मा अर्को मुख्य कमजोरी भनेको कथा र पात्रमा नदेखिने ‘ग्रोथ’ हो । मुख्य पात्रदेखि सहायकसम्ममा सिनेमाको सुरुदेखि अन्तिमसम्म ग्रोथ छैन । जहाँबाट सिनेमाको कथा सुरु हुन्छ, करिब–करिब त्यहीँ सकिन्छ । यो नै सिनेमाको मुख्य कमजोरी हो । सिनेमामा कथाभित्र यात्रा हुन्छ । त्यो यात्रा यसमा पनि नभएको होइन । तर, त्यसको ग्रोथ कसरी हुन्छ त्यो महत्वपूर्ण पक्ष हो ।
दीपेन्द्रको राम्रो पक्ष उनका सिनेमामा अनावश्यक तडकभडक र बडप्पन देखिँदैन । जसले गर्दा उनका सिनेमाले जस्तोसुकै विषय उठान गरून् र जसरी कथा भनून्, कर्कस लाग्दैन । शान्त भएर बग्ने नदीजस्तै लाग्छ, अर्थात् हेरुन्जेल आनन्द ।
केही कमजोरीका बाबजुद नेताहरूको नाङ्गोपन देखाउन दीपेन्द्र सफल भएका छन् । अतः विषयप्रधान सिनेमा हेर्नेका लागि ‘नाङ्गो गाउँ’ रोजाइको सिनेमा हुनसक्छ ।
० ० ०
चलचित्र : ‘नाङ्गो गाउँ’
जानरा : सोसल ड्रामा/कमेडी
निर्देशक : दीपेन्द्र लामा
निर्माता : जय श्रेष्ठ
लेखक : दीपेन्द्र लामा
कलाकार : दयाहाङ राई, मिरुना मगर, शिशिर बाङदेल, कर्मा, साम्राज्ञी आरएल शाह, अंकित खड्का ।