कृतिका अधिकारी
आफूले कति सहेकी छु
कति लुकाएकी छु
ती अनगिन्ती पीडा
म आफैँलाई थाहा छ
कति रात
सासै फेर्न गाह्रो हुने गरी रोएकी छु
म आफैँलाई थाहा छ
के गरेकी छु
अनि के गर्न बाँकी छ,
हक दिएकी छैन तिमीलाई
मेरो बारेमा बोल्न
मलाई रम्न देऊ न
आफ्नै दुनियाँमा बेफिक्री भएर
नघोपिदेऊ न तिता वचनका वाणहरूले
तेत्रो असफलता देख्ने तिमीले
मेरो लाखौँ प्रयास किन देख्दैनौ ?
यसले पनि गरेकी थी रातदिन नभनी
भन्ने किन सोच्दैनौ ?
घाउ लागेको चोटमा अझै कति नुन छर्छौ ?
बिचरा, मेरा बाआमाको छाती
अझै कति जलाउँछौ ?
केही गरेनन् तेरा सन्तानले
भन्ने कति कहलाउँछौ ?
खुसी होऊ न आफ्नै सन्तानको सफलतामा
छाड्देऊ एकान्तमा हामीलाई
रमाऊ तिमी तिम्रै कोलाहलमा
दुनियाँको मौनता सुन्ने भगवान्
मेरो चिच्याहट किन सुन्दैनौ ?
तर, ठिक छ, सम्हाल्दै छु आफूलाई
अब दाहिने हात राखिदेऊ है शिरमा
धेरै सहेका छन् मेरा बाले
अब तिनको आराम खोजेको शरीरलाई नपारिदेऊ है पीरमा
पुज्छु तिमीलाई अझै पनि हरेक मन्दिर धाएर
आस्था अझै छ तिमीमा पीडैपीडा पाएर
खुसी, सुख लेख्न पर्दैन भगवान्, पीडामै रमाइसकेँ
तर, अलिकति तागतचाहिँ थपिदेऊ है
मनमा पीडा सहन सक्ने गरी म आफैँमा हराइसकेँ