काठमाडौं । वर्षाका कारण एसिया कप–२०२३ को सुपर फोरअन्तर्गत श्रीलंका र पाकिस्तानबीचको खेल प्रभावित बनेको छ ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि यी दुई टिमबीचको प्रतिस्पर्धा सुरु हुने तालिका रहे पनि वर्षाका कारण खेलको टससमेत हुन सकेको छैन ।
प्रतियोगिताको फाइनलमा प्रवेशका लागि पाकिस्तानालाई आज जित्नैपर्ने दबाब छ । यसअघि पहिलो खेलमा बंगलादेशलाई सात विकेटले हराएको पाकिस्तानले भारतसँग भने २२८ रनको हार बेहोरेको थियो ।
यता, श्रीलंका भने खेल रद्द भए पनि नेट रनरेटका आधारमा प्रतियोगिताको फाइनल पुग्नेछ । सुपर फोरको पहिलो खेलमा बंगलादेशलाई २१ रनले हराएको श्रीलंका दोस्रो खेलमा भारतसँग ४१ रनले पराजित भएको थियो ।
प्रतियोगितामा भारतले भने फाइनलमा स्थान बनाइसकेको छ ।