“यो अस्पतालमा उपचार गर्दा सधैँ सन्चो भएर नै जान्थेँ, तर यसपटक त खै ! बाँच्न मुस्किल छ मलाई । गाह्रो भइरहेको छ,” बाले खुइय्य गर्दै भन्नुभयो ।
“हैन...हैन बा ! हजुर सन्चो भएर घरमा जानुहुनेछ । ढुक्क हुनुस्, म त छु नै, अनि डाक्टर साहब हुनुहुन्छ,” बालाई उसले आश्वासन दियो ।
“बाबु, सानैमा आफ्नो बा–आमाको घर छोडेर परदेशतिर लागेँ म । तेरा काका, दाजुभाइ, बडाबा एकै ठाउँमा हुँदा तँलाई पनि धेरै आधार हुन्थ्यो । यस्तो समयमा आफ्नो मान्छे नजिकै हुँदा सरसहयोग मिल्थ्यो ।”
बाले आफ्ना दाजुभाइको परिचय र ठेगाना लेख्दै भने, “तैँले आफन्तको खोजी गरेस् ।”
२–४ दिनमै बाको निधन भयो, अस्पतालमै ।
केही दिनपछि म आफन्तको खोजीमा हिँडे । खोज्दै जाँदा थाहा भयो, निकै दुर्गममा पो रहेछ बसोबास । बल्लतल्ल पुगेँ ।
त्यहाँ एक अग्रज भेट भए । परिचय गर्दै जाँदा काकाबा पो रहेछन् ।
बिहान उठेर हेर्दा देखेँ, पहाडवरिपरि डाँडाकाँडाले ढाकिएको निकै सुन्दर गाउँ । नजिकैको एक घरमा बाहिर झार उम्रिएको थियो । काकालाई सोधेँ, “त्यो कसको घर, काका ?”
“त्यो घर जेठाबा जेठीआमाको हो । अहिले उहाँ खसिसक्नुभयो, तर हेर्, बिरामी हुँदा’नि उहाँका छोराछोरी विदेशबाट आएनन् ।”
कुरा सुन्दा नै नराम्रो लाग्यो मलाई ।
“काका, हजुरका छोराछोरी नि ?”
“के गर्नु बाबु, ती पनि हामीलाई छोडेर सहरतिर बस्छन् । आफूलाई घर र खेतबारीको माया, छोडेर जान पनि सकिन्न ।”
“ऊ परको ढुंगेघर कसको हो नि ?”
“त्यो परको घर तेरो बाको जन्मथलो,” काकाले उत्तर दिए ।
नजिकै गएँ र पुरानो घर हेरिरहेँ, मरेका बा सम्झिँदै । सोचेँ– बा, हजुर त धेरै भाग्यमानी । जे भए’नि म हजुरको साथमा त थिएँ ।
(राधेराधे, भक्तपुर)