-1694239043.jpg)
अहिले मेरा हातमा दुईवटा पुस्तकहरू छन्, पहिलो कृति प्रसिद्ध बालसाहित्यकार कल्पना प्रधानद्वारा लिखित ‘मन मन्दिरका तस्विर’ र अर्को सुशीला देउजाद्वारा लिखित ‘सम्पदा दर्शन’ ।
पहिले प्रधानद्वारा लिखित ‘मन मन्दिरका तस्विर’का बारेमा छोटकरीमा केही लेख्ने जमर्को गर्दै छु ।
कृतिको शीर्षक अत्यन्त मननयोग्य छ । लेखिकाले आफ्ना प्रिय लेखकहरूका बारेमा आफ्नो मनमन्दिरमा जुन तस्विर स्थापना गर्नुभएको छ, त्यसबाट के स्पष्ट हुन्छ भने यी चर्चित लेखकहरूले उहाँको मनमन्दिरमा आफ्नो अमिट छाप छाडेका छन् । यी लेखकहरूप्रति उहाँको हृदयमा अगाध श्रद्धाको भाव छ ।
आफ्ना पति प्रसिद्ध साहित्यकार परशु प्रधानको सम्पर्क र सानिध्यमा आएका साहित्यकारहरूसँग उहाँको राम्रो सम्बन्ध स्थापित हुन गएकोले ती साहित्यकारहरूको मूर्ति आफ्नो मनमन्दिरमा स्थापित गरिसक्नु भएकोले उहाँहरूको छविछायाबाट अभिभूत हुन पुग्नुभएको छ ।
यी साहित्यकारहरूमध्ये केही दिवंगत भइसक्नुभएको छ भने केही साहित्यकारहरू आज पनि लेखनकर्ममा समर्पित हुनुहुन्छ । धेरैजसो साहित्यकारहरूसँग उहाँले आफैँ पनि साहित्यिक सम्बन्ध गाँस्नुभएको छ ।
साहित्यिक सानिध्यले उहाँहरूको कृतित्व र व्यक्तित्वबाट प्रेरित र प्रभावित पनि हुनुभएको उहाँ स्वयम्ले स्वीकार गर्नुभएको छ । यी लेखकहरू हुन्, केदारमान व्यथित, मदनमणि दीक्षित, रमेश विकल, डायमनशमशेर राणा, दौलतविक्रम विष्ट, वासु शशी, छिन्नलता, कृष्णप्रसाद पराजुली, रत्न श्रेष्ठ, ध्रुवकृष्ण दीप, अञ्जीर प्रधान, माधवप्रसाद घिमिरे, वासु रिमाल यात्री, कोशराज रेग्मी, रामदयाल राकेश, रमेश खकुरेल, रुद्र प्रधान, श्याम प्रधान, टीकाप्रसाद लामिछाने, पवन आलोक, नगेन्द्रराज रेग्मी, मीनकुमार नवोदित, बद्री पालिखे, विभूतिराज पाण्डे, अमर रिजाल आदि ।
यसबाहेक अन्य मूर्धन्य साहित्यकारहरू हुन्, प्रवासी साहित्यकारहरूमा जस्तो, रामलाल अधिकारी, गोमा शर्मा, गीता शर्मा, लीलबहादुर क्षेत्री, विना सुब्बा, विन्ध्या सुब्बा, कुमारी खाती, गीता क्षेत्री, विना खिम, स्नेहलता राई आदि ।
यसबाहेक पनि भूषण ढुंगेल, खगेन्द्रकुमार प्रधानाङ्ग, माधवराज भावुक, नवराज रिजाल, निमोही व्यास, नेत्र एटम, नरेन्द्रराज प्रसाईं, इन्दिरा प्रसाईं, राममणि पोखरेल, डा. राममान तृषित, एस.पी. आशा, महेश प्रसाईं, अनिल पौडेल, अच्युतरमण अधिकारी, भीम विराग, बालकृष्ण पोखरेल, भानुभक्त पोखरेल, भवानी घिमिरे, कृष्ण बजगाईं, भूपिन व्याकुल, चन्द्रप्रसाद भट्टराई, डा. दयाराम श्रेष्ठ सम्भव, गणेश रसिक, कृष्ण प्रधान, केदार अमात्य, मोहन ठकुरी, प्रमोद प्रधान, प्रद्युम्न जोशी, मनु मञ्जिल, सविता बेहोसी, जयन्ता पोखरेल, सीमा आभाष, मनोज न्यौपाने, राजेश ढुंगाना, शकुन्तला जोशी, श्रेष्ठ प्रिया पत्थर, मोमिला जोशी, ज्योति जंगल, डा. कृष्णप्रसाद दाहाल, डा. तारानाथ शर्र्मा, डा. कुमार कोइराला आदि महत्त्वपूर्ण साहित्यिक व्यक्तित्वहरूसँग उहाँको सम्पर्क हुनु सराहनीय छ ।
यी स्रष्टाहरूप्रति श्रद्धाभाव राख्दै यिनका व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नु प्रशंसनीय कुरा हो । यी लेखकहरू आजका साहित्यकारका लागि प्रेरणाको स्रोत हुन सक्नुहुन्छ, किनभने यिनीहरूको बाल्यकालको स्मृति, यिनका बानी–व्यहोरा, उठबस, खानपानको सूक्ष्म द्रष्टा भएर कल्पना प्रधानले आफ्नो संस्मरणात्मक अनुभव अभिव्यक्त गर्नु अभिनन्दनीय छ ।
यी साहित्यकारहरूको चर्चा गरिनु चर्चित विषयवस्तु बन्न पुगेको छ । साहित्यमा रुचि भएका बालबालिकाका मस्तिष्कमा पनि यिनीहरूका विषयमा गहिरो छाप पर्न सक्छ ।
बालपाठकहरूमा पनि यो चासोको विषय हुनसक्छ । तिनीहरूले बडो अभिरुचिका साथ उल्लेखित साहित्यकारहरूका व्यक्तित्व र कृतित्वलाई केलाएर हेर्न सक्छन् ।
समीक्ष्य पुस्तकको प्रारम्भमा बहुज्ञान लेखिका कल्पना प्रधानले आफ्नो पारिवारिक पृष्ठभूमिको परिचय प्रस्तुत गर्नु पनि पठनीय र प्रशंसनीय हुन पुगेको छ । उहाँको पारिवारिक जीवनका तितामिठा पलहरू पनि अविस्मरणीय र महत्त्वपूर्ण हुन पुगेको छ ।
उहाँ अतिथि सत्कारमा पनि माहिर हुनुहुन्छ । यहाँ विराटनगरको विराट योजना लेखक ग्रामको संस्मरण समेत झन् सराहनीय हुन पुगेको छ । लेखिका कल्पना प्रधानसँग यस्ता धेरै अनमोल संस्मरणको पोको छ र यसलाई पनि उहाँले पस्किनुहुनेछ भन्ने विश्वास छ ।
यस संस्मरणात्मक कृतिमा लेखिकाको भाषाशैली प्राञ्जल र परिष्कृत छ ।
०००
अर्को पुस्तक ‘सम्पदा दर्शन’को संक्षिप्त चिनारी प्रस्तुत गर्नु पनि यहाँ सान्दर्भिक हुनसक्छ । यो ‘सम्पदा दर्शन’को भाग २ मा बालसाहित्यकार सुशीला देउजाले सात प्रदेशका सात सम्पदाका बारेमा संक्षिप्त जाकारी प्रस्तुत गरेर सराहनीय काम गर्नुभएको छ ।
यी सम्पदाहरूको परिचय हरेक वर्गका पाठकहरूका लागि धेरै उपयोगी हुन पुगेको छ । यी सम्पदाहरूमा केही सम्पदा विश्वसम्पदाका सूचीमा सूचीकृत हुने सम्भावना पनि देखिन्छ ।
यी सम्पदाहरूको प्रारम्भिक जानकारी प्रस्तुत गरेर लेखिका सुशीला देउजाले सराहनीय काम गर्नुभएको छ । यी सम्पदाहरूको आफ्नो मौलिक संस्कृति, पहिचान अक्षुण्ण छ, अमर छ तथा स्मरणीय र दर्शनीय छ ।
समीक्ष्य पुस्तक ‘सम्पदा दर्शन’ संग्रहणीय हुनुका साथै पठनीय तथा मननीय हुन पुगेको छ । यसको रचनाक्रम लेखिकाले निम्नबमोजिम प्रस्तुत गरेकी छन्, जुन एकदम ठिक छ । समयानुकूल र सान्दर्भिक छ ।
कृतिमा सर्वप्रथम ‘पहाडकी रानी इलाम’, ‘सीता माताको भूमि जनकपुर’, ‘एकीकरणको पहिलो कदम नुवाकोट’, ‘मोक्षधाम मुक्तिनाथ’, ‘स्वर्ग जाने बाटो स्वर्गद्वारी’, ‘धर्तीकी सुन्दरी अप्सरा रारा’, ‘बहुमूल्य जडीबुटीको बगैँचा खप्तड’ रहेको छ ।
इलामलाई ‘पहाडकी रानी’को विशेषणबाट विभूषित गर्नु सही हो । यसको प्राकृतिक सौन्दर्य अवलोकनीय छ । अलौकिक र अतुलनीय छ ।
मिथिलाको प्राचीन राजधानी जनकपुरलाई सीता माताको भूमि भन्नु सटीक एवम् सान्दर्भिक छ । यो अहिले मधेस प्रदेशको राजधानी पनि हुन पुगेको छ, जुन समयोचित छ ।
पृथ्वीनारायण शाहले सर्वप्रथम एकीकरणको अभिमान नुवाकोटबाट नै प्रारम्भ गरेका थिए । तसर्थ, यसलाई ‘एकीकरणको पहिलो कदम’ भन्नु सान्दर्भिक छ । मुक्तिनाथ वास्तवमा मोक्षधाम नै प्रमाणित भएको छ । यसको दर्शनपश्चात् मोक्षप्राप्तिको कामना गरिन्छ ।
स्वर्गद्वारीलाई स्वर्ग जाने बाटोको सम्बोधन समय सुहाउँदो साबित भएको छ । धर्तीकी सुन्दरी अप्सरा, राराको अनुपम, अलौकिक प्राकृतिक सौन्दर्य अवलोकनीय छ । पर्यटकहरूको मन मोहित पार्ने मोहिनी रारासँग उपलब्ध छ ।
खप्तडलाई बहुमूल्य जडीबुटीको बगैँचा भन्नु सर्वथा सत्य र स्वाभाविक हो । यसको वास्तविक महत्त्व अहिलेसम्म हामीले बुझ्न सकेका छैनौँ ।
समीक्ष्य पुस्तकको भाषाशैली पनि लालित्यपूर्ण छ । बालमस्तिष्कले सहजै ग्रहण गर्न सक्ने र पचाउन सक्ने खालका भाषाको प्रयोग गरेर लेखिकाले सराहनीय काम गर्नुभएको छ ।
भाषा प्रयोगमा अति सतर्क र सावधान लेखिका सुशीला देउजाले ‘सम्पदा दर्शन भाग–१’ पनि लेखिसक्नुभएको छ । उहाँको भाषा प्रयोगको एउटा उदाहरण :
‘हो, यस सहरको त ठूलो महिमा छ । भगवान् रामले भगवान् शिवको धनु तोडेर सीतालाई विवाह गरेको पवित्रस्थल हो यो । हरेक मार्ग शुक्ल पञ्चमीका दिन राम र जानकीको विवाह उत्सव धूमधामसँग मनाइन्छ । यस उत्सवमा भारतको अयोध्याबाट भगवान् रामको जन्ती आउँछ । अनि विवाह उत्सव मनाइन्छ । त्यस्तै चैत्र शुक्ल नवमीको दिन भगवान् रामचन्द्रको जन्मोत्सव मेला लाग्दछ । भारतबाट पनि हजारौँ भक्तजनहरू आउँछन् ।’ (पृष्ठ – १५)
समीक्ष्य कृतिको अन्तमा विभिन्न विद्वान्हरूको मन्तव्य पनि राख्ने जमर्को गर्नुभएको छ । संक्षेपमा यो कृति पठनीय र संग्रहणीय हुन पुगेको छ । भाग तीनको पनि आशा गरिन्छ लेखिकाबाट ।