काठमाडौं । नेकपा (एमाले)को लुम्बिनी अधिवेशनमा नेतृत्व छान्नका लागि भएको मतदान सकिएको छ । बिहान ८ बजेपछि भएको मतदान भर्खरै सकिएको हो ।
निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार ९६५ मत खसेको हो । लुम्बिनीमा एक हजार चारजना प्रतिनिधि रहेका थिए । अब मतणना गरेर साँझसम्म परिणाम घोषणा गर्ने निर्वाचन समितिको तयारी छ ।
अधिवेशनबाट पाँच पदाधिकारीसहित २०५ सदस्यीय कमिटी चयन हुनेछ । सचिवबाहेकका पदाधिकारी र सदस्यमा मतदान भएको हो ।
अध्यक्षमा राधकृष्ण कँडेल र हरि रिजाल उमेदवार छन् । सचिवमा लक्ष्मण आचार्य निर्विरोध भएका छन् । त्यस्तै सदस्यतर्फ रुपन्देही, गुल्मी दाङ, बाँकेबाहेकका जिल्लामा सर्वसम्मत चयन भएका छन् ।
लुम्बिनीका १२ जिल्लामध्ये चार जिल्लामा सदस्यका लागि पनि चुनाव भएको हो । एमालेले जिल्लाहरूमा क्लस्टरवाइज सदस्य छुट्टयाएको थियो ।
उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ , विश्वराज बराल (अनुप), पूजन विश्वकर्मा प्रतिस्पर्धीमा छन् ।
त्यस्तै, उपसचिव पुरुषतर्फ एक पदका लागि उपेन्द्रलाल कामी, पूर्ण बुढामगर र दुर्गाप्रसाद थारु उमेदवार छन् ।
उपसचिव महिलातर्फ एक पदका लागि आरती पौडेल, बसन्ती अधिकारी र लीला रानामगरको उमेदवारी छ ।