काठमाडौं । एसिया कप–२०२३ मा भारतविरुद्ध नेपालले कुशल मल्ललाई चौथो विकेटको रूपमा गुमाएको छ ।
श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेपछि ब्याटिङमा आएको नेपालले कुशल मल्ललाई व्यक्तिगत दुई रनमा गुमाएको हो । कुशल भारतका रवीन्द्र जाडेजाले गरेको २१.५ ओभरमा मोहम्मद सिराजबाट क्याच भए ।
जारी खेलको २२ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर १०२ रन बनाएको छ । नेपालले यसअघि कुशल भुर्तेललाई व्यक्तिगत ३८ र भीम सार्कीलाई सात रनमा र कप्तान रोहितकुमार पौडेललाई पाँच रनमा गुमाएको थियो । हाल क्रिजमा रहेको आसिफ शेख ४५ रनमा खेलिरहेका छन् । गुल्सन झा एक रनमा खेलिरहेका छन् ।
एसिया कपमा यसै संस्करणबाट ‘डेब्यू’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेता समेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धाका लागि उत्रिएको हो ।
आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्दै एसिया कपको ‘सुपर फोर’मा स्थान बनाउनेछ । सुपर फोरमा प्रवेशका लागि भारतमाथि आज जित्नै पर्ने दबाब छ ।
प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारत–पाकिस्तानबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।