काठमाडौं । सुरुआतमै तीन पटक क्याच आउटबाट बचेपछि नेपाली टिमले एसिया कप–२०२३ मा भारतविरुद्ध पहिलो पावर प्लेमा उत्कृष्ट सुरुआत गरेका छन् ।
श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले सुरुआती १० ओभरमा एक विकेट गुमाएर ६५ रन बनाएको छ ।
नेपालबाट क्रिजमा रहेका ओपनर आसिफ शेख २३ रनमा र भीम सार्की शून्यमा खेलिरहेका छन् । नेपालले ९.५ ओभरमा अर्का ओपनर कुशल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमाएको थियो । कुशलले २५ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए ।
एसिया कपमा यसै संस्करणबाट ‘डेब्यू’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेतासमेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धाका लागि उत्रिएको हो ।
आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्दै एसिया कपको ‘सुपर फोर’मा स्थान बनाउनेछ । सुपर फोरमा प्रवेशका लागि भारतमाथि आज जित्नै पर्ने दबाब छ ।
प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारत–पाकिस्तानबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो ।