काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले कानुनको अभावका कारण कर्मचारीलाई आफू जाने पदको सेवा र सर्तबारे जानकारी नदिई समायोजन गरिएको बताएकी छन् ।
सोमबार राष्ट्रियसभा बैठकमा उनले कानुन नभएका कारण कर्मचारीलाई आफू जाने पदको सेवा र सर्तका विषय जानकारी नगराई समायोजन गरिएको उल्लेख गरिन् । यसो गर्नु प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित नभएको उनले बताइन् । कर्मचारीलाई छनोटको अधिकार समेत दिन नसकिएको उनको भनाइ छ ।
सांसद देवकोटाले संविधानअनुरूप तीन वर्षभित्र बनाइसक्नुपर्ने कानुन अझै बनाउन बाँकी रहेको बताइन् । कतिपय ऐनहरू समयसीमाका कारण राम्रोसँग छलफल नगरी हतारहतारमा पारित गरिएको उनले सुनाइन् ।
उनले आवश्यक कानुन छिट्टै बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।